काठमाडौं। नेपाल महिला चेम्बरले महिला उद्यमी तथा व्यवसायीका उत्पादनलाई बजारसम्म पहुँच विस्तार गर्ने उद्देश्यले असोज १७ गते शनिबारदेखि काठमाडौंको जमलस्थित चेम्बर अफ कमर्सको भवनमा ‘चेम्बर बजार’ सञ्चालनमा ल्याउने भएको छ ।
चाडपर्वलाई लक्षित गरी सञ्चालन हुने बजारमा खाद्यान्न, लत्ताकपडा, हस्तकलालगायत महिला उद्यमीले उत्पादन गरेका विभिन्न सामग्री बिक्री तथा प्रदर्शनका लागि राखिनेछन्। बजारमा साल्ट ट्रेडिङ कर्पोरेसनलगायतका विभिन्न संस्थाका स्टलसमेत रहनेछन् ।
नेपाल महिला चेम्बरकी अध्यक्ष उर्मिला श्रेष्ठका अनुसार बजारमा महिला उद्यमीका उत्पादनसँगै आयात–निर्यातसँग सम्बन्धित वस्तुको समेत प्रवद्र्धन तथा बजारीकरण गरिनेछ। उद्यम गरिरहेका तथा उद्यम गर्न इच्छुक महिलालाई व्यवसायमा आकर्षित गर्न सरकारी प्रक्रिया र व्यवसाय सञ्चालनसम्बन्धी अभिमुखीकरण, सीप तथा व्यावसायिक तालिम, महिला स्वास्थ्यसम्बन्धी सचेतना तथा निःशुल्क स्वास्थ्य परीक्षणजस्ता कार्यक्रमसमेत सञ्चालन गरिने उनले बताइन् । चाडपर्वलाई लक्षित गर्दै असोज १७ गतेदेखि शनिबार र आइतबार बजार सञ्चालन हुनेछ भने चाडपर्वपछि पनि प्रत्येक शनिबार ‘चेम्बर बजार’ सञ्चालनमा रहनेछ।
नेपाल महिला चेम्बरकी सचिव ईरा प्रसाईंले ‘चेम्बर बजार’लाई केवल व्यापारिक मेला नभई महिलाको आर्थिक सशक्तीकरण, सीप विकास, बजार पहुँच र व्यावसायिक क्षमता अभिवृद्धिको निरन्तर अभियानका रूपमा अघि बढाइने बताइन् । नेपाल युथ चेम्बरसँगको सहकार्यमा सञ्चालन हुन लागेको बजारले महिला उद्यमीलाई आफ्ना उत्पादनको बजार विस्तार गर्ने अवसर प्रदान गर्नुका साथै महिलालाई उद्यमशीलताप्रति प्रेरित र सक्षम बनाउने लक्ष्य राखेको नेपाल महिला चेम्बरले जनाएको छ।















प्रतिक्रिया दिनुहोस्