Advertisement
Advertisement
Corporate Samachar
२८ आश्विन २०८३, बुधबार
Advertisement
Advertisement

कामना सेवा विकास बैंकको रेटिङमा स्तरोन्नति

कामना सेवा विकास बैंकको रेटिङमा स्तरोन्नति
विज्ञापन
Advertisement

काठमाडौं । केयर रेटिङ्स नेपाल लिमिटेडले कामना सेवा विकास बैंक लिमिटेडको जारीकर्ता रेटिङमा स्तरोन्नति गरेको छ । रेटिङ एजेन्सीले यसअघि प्रदान गरेको ‘केयर–एनपी बीबी प्लस’ रेटिङलाई बढाएर नयाँ ‘केयर–एनपी बीबीबी माइनस’ प्रदान गरेको हो ।

विज्ञापन
Advertisement
Advertisement

केयर रेटिङ्स नेपालका अनुसार ‘केयर–एनपी बीबीबी माइनस (इज)’ रेटिङ प्राप्त संस्थाले वित्तीय दायित्व समयमै भुक्तानी गर्ने सम्बन्धमा मध्यम स्तरको सुरक्षा प्रदान गर्ने मानिन्छ । यस्तो रेटिङले मध्यम स्तरको ऋण जोखिम रहेको जनाउँछ । बैंकको आर्थिक वर्ष २०८२/८३ मा पुँजीकरण तथा वित्तीय सक्षमता, आम्दानीको गुणस्तर र वित्तीय स्रोत संरचनामा सुधार भएको तथा सम्पत्तिको गुणस्तर समग्र बैंकिङ क्षेत्रको तुलनामा सुदृढ रहेको आधारमा रेटिङ स्तरोन्नति गरिएको केयर रेटिङ्स नेपालले जनाएको छ ।

बैंकको आन्तरिक पुँजी सिर्जनामा भएको सुधार तथा आर्थिक वर्ष २०८२/८३ मा थप टियर–१ पुँजीका रूपमा ३५ करोड रुपैयाँ बराबरको स्थायी गैर–सञ्चित प्राथमिकता सेयर जारी गरेपछि पुँजी पर्याप्ततामा सुधार आएको छ । बैंकको कुल पुँजी पर्याप्तता अनुपात आर्थिक वर्ष २०८१/८२ को १२.५८ प्रतिशतबाट बढेर आर्थिक वर्ष २०८२/८३ मा १४.१६ प्रतिशत पुगेको छ। टियर–१ पुँजी पर्याप्तता अनुपात पनि १.७७ प्रतिशत बिन्दुले बढेर ११.६८ प्रतिशत पुगेको छ । बैंकको निक्षेप तथा कर्जा व्यवसायमा पनि वृद्धि भएको जनाइएको छ । आर्थिक वर्ष २०८२/८३ मा बैंकको कर्जा ६.२९ प्रतिशतले बढेको छ भने निक्षेप ५.१० प्रतिशतले वृद्धि भएको छ। सो अवधिको अन्त्यमा बैंकको कुल निक्षेप ६६ अर्ब ७४ करोड ४० लाख रुपैयाँ पुगेको छ ।

बैंकको कम लागतको निक्षेपको हिस्सा पनि उल्लेख्य रूपमा बढेको छ । आर्थिक वर्ष २०८१/८२ मा ३६.४३ प्रतिशत रहेको चालु तथा बचत निक्षेप अनुपात आर्थिक वर्ष २०८२/८३ मा बढेर ५३.७९ प्रतिशत पुगेको उल्लेख छ। बैंकको तरलता अवस्था पनि सहज रहेको छ । २०२६ जुलाई १६ सम्म बैंकको वैधानिक तरलता अनुपात २३.२२ प्रतिशत, अनिवार्य नगद मौज्दात अनुपात ४.२० प्रतिशत र खुद तरलता अनुपात २५.१२ प्रतिशत रहेको छ ।

केयर रेटिङ्स नेपालले बैंकको लामो समयदेखिको सञ्चालन अनुभव, अनुभवी सञ्चालक समिति तथा व्यवस्थापन, निक्षेप तथा कर्जा विस्तार, सहज तरलता र कम लागतको निक्षेप संरचनालाई पनि रेटिङ स्तरोन्नतिका आधारका रूपमा लिएको छ । यद्यपि, बैंकको खराब कर्जा अनुपातमा देखिएको वृद्धि, बैंकिङ क्षेत्रमा रहेको तीव्र प्रतिस्पर्धा, कर्जा प्रवाहसँग सम्बन्धित जोखिम तथा नियामकीय र समष्टिगत आर्थिक परिवर्तनबाट पर्न सक्ने प्रभावलाई रेटिङका सीमितताका रूपमा औंल्याइएको छ ।

कामना सेवा विकास बैंक राष्ट्रियस्तरको ‘ख’ वर्गको विकास बैंक हो ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit