मुस्ताङ । भारी वर्षाका कारण बेनी–जोमसोम–कोरला सडक अवरुद्ध हुँदा चीनबाट आयात गरिएका मालसामान बोकेका १५० भन्दा बढी कन्टेनर कोरलानाकामै रोकिएका छन्। दशैं , तिहारलगायत चाडपर्व नजिकिँदै गर्दा ठूलो परिमाणमा आयातित सामान भन्सारमै रोकिएपछि बजारमा आपूर्ति प्रभावित भई महँगी बढ्ने जोखिम देखिएको छ।
राष्ट्रिय गौरवको बेनी–जोमसोम–कोरला सडकको विभिन्न स्थानमा वर्षाका कारण यातायात अवरुद्ध भएपछि कोरलानाकास्थित लोमान्थाङ गाउँपालिका–४ न्हेचु क्षेत्रमा चीनबाट पैठारी गरिएका मालसामानसहितका कन्टेनर रोकिएका हुन्। चाडपर्वका लागि व्यापारीले यसअघि नै ठूलो परिमाणमा सामान आयात गर्ने गरेका हुन्छन्। तर आयात गरिएका सामान गन्तव्य बजारसम्म समयमै पुग्न नसक्दा आपूर्ति शृङ्खला प्रभावित हुने र त्यसको असर बजार मूल्यमा पर्न सक्ने व्यवसायीको चिन्ता छ।
विशेषगरी दशैं –तिहारका लागि आवश्यक उपभोग्य तथा अन्य आयातित सामग्री लामो समयसम्म बाटोमै रोकिएमा बजारमा मागअनुसार सामान उपलब्ध नहुने अवस्था आउन सक्छ। आपूर्ति घटेको अवस्थामा व्यापारी तथा उपभोक्तामाथि थप मूल्यको दबाब पर्न सक्ने देखिन्छ। भारी वर्षाका कारण सडकका विभिन्न स्थानमा अवरोध आएपछि चीनबाट आयात हुने सामानको ढुवानी प्रभावित भएको हो। चाडपर्वको मुख्य व्यापारिक समयमै आयातित सामान रोकिँदा यसको प्रत्यक्ष प्रभाव बजारको आपूर्ति व्यवस्थापनमा पर्न सक्ने देखिएको छ।















प्रतिक्रिया दिनुहोस्