काठमाडौं । सरकारले शिक्षकलाई सवारी साधन खरिदमा ब्याज सहुलियत दिने व्यवस्था प्रस्ताव गरेको छ।
शिक्षा (एघारौँ संशोधन) नियमावली, २०८३ मा यस्तो व्यवस्था समेट्दै शिक्षा मन्त्रालयले सहमतिका लागि अर्थ मन्त्रालयमा प्रस्ताव पठाएको हो। प्रस्तावित व्यवस्थाअनुसार माध्यमिक तह प्रथम श्रेणीका शिक्षकले ५० लाख रुपैयाँसम्म र द्वितीय श्रेणीका शिक्षकले ४० लाख रुपैयाँसम्मको सवारी साधन खरिद गर्न सक्नेछन्।
त्यस्तै, माध्यमिक तह तृतीय श्रेणी तथा निम्नमाध्यमिक र प्राथमिक तहका सबै श्रेणीका शिक्षकले ४ लाख रुपैयाँसम्मको दुईपाङ्ग्रे सवारी साधन खरिद गर्न सक्ने व्यवस्था प्रस्ताव गरिएको छ। नियमावलीको प्रस्तावअनुसार शिक्षकले बैंकमार्फत सवारी साधन खरिद गर्दा लागत रकमको ८० प्रतिशतसम्मको किस्तागत ब्याज सरकारले सहुलियतस्वरूप व्यहोर्नेछ। बाँकी २० प्रतिशत रकम भने शिक्षक स्वयंले व्यवस्थापन गर्नुपर्नेछ।
सरकारले शिक्षक सेवामा बहाल रहेको अवधिसम्म सम्बन्धित बैंकले निर्धारण गरेको किस्तागत ब्याज व्यहोर्ने प्रस्ताव गरिएको छ। यस व्यवस्थाबाट शिक्षकलाई सवारी साधन खरिद गर्न सहज हुने अपेक्षा गरिएको छ। यद्यपि, उक्त व्यवस्था हाल प्रस्तावित चरणमा रहेकाले अर्थ मन्त्रालयको सहमति तथा नियमावलीको अन्तिम स्वीकृतिपछि मात्रै कार्यान्वयनमा आउनेछ।















प्रतिक्रिया दिनुहोस्