काठमाडौं। नेपाल राष्ट्र बैंकले वित्तीय प्रणालीमा रहेको अधिक तरलता व्यवस्थापन गर्न शुक्रबार ७० अर्ब रुपैयाँको निक्षेप संकलन उपकरण जारी गर्ने भएको छ।
केन्द्रीय बैंकले ६१ दिन अर्थात् दुई महिनाको अवधिका लागि उक्त रकम संकलन गर्न लागेको हो। राष्ट्र बैंकको मौद्रिक व्यवस्थापन विभागका अनुसार निक्षेप संकलनको बोलकबोल शुक्रबार दिउँसो ३ बजेसम्म अनलाइन बिडिङ सिस्टम सफ्टवेयरमार्फत हुनेछ। यसमा संकलित रकमको साँवा तथा ब्याज भुक्तानी आगामी मंसिर २३ गते गरिनेछ।
बोलकबोलमा राष्ट्र बैंकबाट इजाजतपत्र प्राप्त ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थाले मात्र सहभागी हुन पाउनेछन्। सहभागी संस्थाले न्यूनतम १० करोड रुपैयाँ र त्यसपछि १० करोड रुपैयाँले भाग जाने रकमका दरले कुल आह्वान रकमसम्म बोलकबोल गर्न सक्नेछन्।
यस उपकरणको ब्याजदर बोलकबोलबाट निर्धारण हुनेछ। सहभागी संस्थाले एकभन्दा बढी ब्याजदरमा समेत आवेदन दिन सक्नेछन्। रकम बाँडफाँट गर्दा सबैभन्दा कम ब्याजदर प्रस्ताव गर्ने संस्थालाई पहिलो प्राथमिकता दिइनेछ। समान ब्याजदरमा परेको बोल रकम समावेश गर्दा कुल आह्वान रकमभन्दा बढी भएमा समानुपातिक आधारमा बाँडफाँट गरिने राष्ट्र बैंकले जनाएको छ।
निक्षेप संकलन उपकरणमा गरिएको लगानीलाई नेपाल राष्ट्र बैंकबाहेक अन्य बैंक तथा वित्तीय संस्थामा धितोका रूपमा प्रयोग गर्न सकिनेछ। तर, यस्तो लगानीलाई अनिवार्य नगद मौज्दात (सीआरआर) मा गणना गर्न पाइने छैन। वैधानिक तरलता अनुपात (एसएलआर) तथा तरलता अनुपातमा भने गणना गर्न सकिने व्यवस्था छ।
राष्ट्र बैंकका अनुसार यसरी संकलन गरिएको निक्षेप रकम भुक्तानी मितिअघि फिर्ता लिन पाइने छैन।














प्रतिक्रिया दिनुहोस्