काठमाडौं । गृह मन्त्रालयले राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपाल (एन–प्याब्सन) लाई अर्को निर्णय नभएसम्मका लागि निलम्बन गरेको छ ।
मन्त्रालयले शुक्रबार सार्वजनिक सूचना जारी गर्दै राष्ट्रिय निर्देशन ऐन, २०१८ को दफा ६ को उपदफा (२) बमोजिम संस्थालाई निलम्बन गर्ने निर्णय गरिएको जनाएको हो । मन्त्रालयका अनुसार एन–प्याब्सनले राष्ट्रिय निर्देशन ऐन, २०१८ को दफा ५ बमोजिम जारी गरिएका निर्देशन पटक–पटक अवज्ञा गर्दै आएको थियो । साथै, संस्थाका पदाधिकारीबाट नेपाल सरकारबाट स्वीकृत विधान तथा संस्थाको मूल उद्देश्यविपरीतका गतिविधि भएको पनि मन्त्रालयले जनाएको छ ।
यसअघि मन्त्रालयले गत असोज २३ गते सम्बन्धित सरोकारवालासँग छलफल गरी ऐन तथा मन्त्रालयले २०८२ मंसिर १२ गते जारी गरेको निर्देशनअनुसार काम गर्न आग्रह गरेको थियो । उक्त छलफलमा संस्थालाई कानुनी व्यवस्था र सरकारी निर्देशनको पालना गर्न स्पष्ट रूपमा ध्यानाकर्षण गराइएको मन्त्रालयको भनाइ छ ।तर, पटक–पटक निर्देशन दिँदा पनि त्यसको कार्यान्वयन नभएको र संस्थाका गतिविधि स्वीकृत विधान तथा उद्देश्यअनुकूल नदेखिएको भन्दै मन्त्रालयले निलम्बनको निर्णय गरेको उल्लेख गरेको छ।
मन्त्रालयले निलम्बन अवधिमा एन–प्याब्सनको नाममा कुनै पनि समूह वा गुटले गतिविधि सञ्चालन गर्न नपाउने स्पष्ट पारेको छ । निलम्बनपछि संस्थाको नाम प्रयोग गरी गरिने त्यस्ता गतिविधि गैरकानुनी हुने र संलग्नलाई प्रचलित कानुनबमोजिम कारबाही गरिने चेतावनीसमेत मन्त्रालयले दिएको छ । यस निर्णयसँगै एन–प्याब्सनको संस्थागत हैसियतमा सञ्चालन हुने गतिविधि अर्को सरकारी निर्णय नभएसम्म रोकिएका छन् ।
















प्रतिक्रिया दिनुहोस्