काठमाडौं । नेपालीहरूको महान् पर्व बडादशैं आजदेखि विधिवत् रूपमा सुरु भएको छ। आश्विन शुक्ल प्रतिपदादेखि सुरु भई आश्विन शुक्ल पूर्णिमासम्म १५ दिन मनाइने यस पर्वको पहिलो दिन आज घरघरमा दियो, कलश र गणेश स्थापना गरी घटस्थापना गरिँदै छ।
घटस्थापनाका दिन पूजा कोठा वा दशैंघरमा शक्तिस्वरूपा दुर्गा भवानीको आह्वान गरी विधिपूर्वक पूजा आराधना गर्ने परम्परा छ। बिहान नित्यकर्म सकेपछि नदी वा चोखो स्थानबाट बालुवा अथवा माटो ल्याएर शुद्ध स्थानमा राखिन्छ। त्यसमा जौँ रोपेर जमरा राख्ने गरिन्छ।
जौँको अङ्कुरलाई देवी दुर्गाको प्रिय वस्तु तथा समृद्धिको प्रतीक मानिन्छ। घटस्थापनाका दिन राखिएको जमरा विजयादशमीमा टीका र प्रसादसँगै ग्रहण गरिन्छ। धर्मशास्त्रविद् तथा नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका पूर्वअध्यक्ष प्रा. डा.रामचन्द्र गौतमका अनुसार शास्त्रीय विधिअनुसार जमरामा जौँ रोप्नुपर्ने मान्यता छ। यद्यपि, कतिपयले कुल परम्पराअनुसार जौँसँगै अन्य अन्न पनि रोप्ने गरेका छन्। जमरालाई आयुर्वेदिक औषधिमा समेत प्रयोग गरिन्छ।
नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अनुसार यस वर्ष घटस्थापनाको साइत बिहान ११:४७ बजे निर्धारण गरिएको छ। आज दिनभर चित्रा नक्षत्र रहने भएकाले मध्याह्नकालको अभिजित् मुहूर्तमा साइत तय गरिएको समितिले जनाएको छ। सूर्योदयकालमा प्रतिपदा तिथि परेको दिन घटस्थापना गर्नुपर्ने शास्त्रीय मान्यताअनुसार आजकै दिन घटस्थापना गरिएको हो।
नवरात्रभर महाकाली, महालक्ष्मी र महासरस्वतीको विशेष पूजा गरिन्छ। नवरात्रको नौ दिन क्रमशः शैलपुत्री, ब्रह्मचारिणी, चन्द्रघण्टा, कुष्माण्डा, स्कन्दमाता, कात्यायनी, कालरात्रि, महागौरी र सिद्धिदात्रीको पूजा आराधना गरिन्छ। यी नौ स्वरूपलाई नवदुर्गा भनिन्छ। दशैंको सातौँ दिन फूलपाती भित्र्याइन्छ भने महाअष्टमी र महानवमीमा दशैंघर, कोत तथा शक्तिपीठहरूमा विशेष पूजा गरिन्छ। नवरात्रभर देशभरका शक्तिपीठमा भक्तजनको घुइँचो लाग्ने गर्छ।
दशैंलाई असत्यमाथि सत्य र आसुरी शक्तिमाथि दैवी शक्तिको विजयका रूपमा मनाउने धार्मिक परम्परा छ। विजयादशमीका दिन मान्यजनबाट टीका, जमरा र आशीर्वाद ग्रहण गरिन्छ। नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अनुसार यस वर्ष विजयादशमी कात्तिक ४ गते बुधबार परेको छ। उक्त दिन देवी विसर्जनको साइत बिहान ८:४९ बजे र टीका प्रसाद ग्रहणका लागि बिहान १०: २६ बजेको साइत निर्धारण गरिएको छ।
विजयादशमीदेखि कोजाग्रत पूर्णिमासम्म मान्यजनबाट टीका, जमरा र आशीर्वाद ग्रहण गर्ने चलन छ। कोजाग्रत पूर्णिमाका दिन महालक्ष्मीको पूजा गरी रातभर जाग्राम बस्ने परम्परासँगै बडादशैंको समापन गरिन्छ।















प्रतिक्रिया दिनुहोस्