काठमाडौं। दक्षिण एशियाली ज्योतिष महासंघको अध्यक्ष पदमा डा.सहदेव विष्ट पुनः दोहोरिएका छन् ।
महासंघको सातौं केन्द्रीय महासभाबाट युवा ज्योतिषी अनुसन्धानकर्ता रविन पंगेनी सर्वसम्मत रूपमा महासंघको केन्द्रीय महासचिव, कोषाध्यक्षमा आचार्य लक्ष्मण गौतम निर्वाचित भएका छन् । यसैगरी, सदस्यमा समाजसेवी आरसी (रामचन्द्र)के.सी निर्वाचित भएका छन्।
काठमाडौं स्थित होटल पेन्सन वासनामा हालै सम्पन्न महासभाले पंगेनीलाई ज्योतिष क्षेत्रको विकासमा देखाएको सक्रियतालाई मूल्याङ्कन गर्दै सार्क स्तरीय महासचिवको जिम्मेवारी प्रदान गरेको हो।

नेपाल, भारत, बंगलादेश, भुटान, श्रीलंका लगायत दक्षिण एशियाका विभिन्न राष्ट्रका ज्योतिषविद्, वास्तु विशेषज्ञ, पञ्चाङ्गविद् तथा आध्यात्मिक अभियन्ताहरूको उल्लेखनीय सहभागिता रहेको उक्त महासभाले ज्योतिष विज्ञानको संरक्षण, अनुसन्धान, अन्तर्राष्ट्रिय सहकार्य तथा युवा पुस्तामा ज्योतिषप्रतिको आकर्षण बढाउने विषयलाई प्राथमिकताका साथ अघि बढाउने निर्णय गरेको छ।
नवनिर्वाचित महासचिव पंगेनीले ज्योतिषलाई केवल परम्परागत विश्वासको विषयका रूपमा नभई अनुसन्धान, दर्शन, र संस्कृतिसँग जोडिएको वैज्ञानिक एवं आध्यात्मिक अध्ययनको क्षेत्रका रूपमा स्थापित गर्न आफू प्रतिबद्ध रहने बताए। उनले दक्षिण एशियाली राष्ट्रहरूबीच ज्योतिषीय ज्ञान आदान–प्रदान, संयुक्त अनुसन्धान तथा अन्तर्राष्ट्रिय सम्मेलनहरूलाई अझ प्रभावकारी बनाउने योजना प्रस्तुत गरेका छन्।
ज्योतिष, मनोविज्ञान, कानुन र समाजशास्त्रमा स्नातक तथा राजनीति शास्त्रमा स्नातकोत्तर गरेका पंगेनीले परम्परागत वैदिक ज्ञानलाई आधुनिक सञ्चार माध्यममार्फत जनसाधारणसम्म पुर्याउने अभियानमा सक्रिय भूमिका खेल्दै आएका छन्।
महासंघका वरिष्ठ पदाधिकारीहरूले पंगेनीको आगमनले संगठनलाई नयाँ ऊर्जा, अनुसन्धानमुखी दृष्टिकोण तथा अन्तर्राष्ट्रिय विस्तारको अवसर प्रदान गर्ने विश्वास व्यक्त गरेका छन्। आगामी दिनमा महासंघले प्राचीन ग्रन्थको संरक्षण, डिजिटल अभिलेखीकरण तथा अन्तर्राष्ट्रिय स्तरका सम्मेलन आयोजना गर्ने लक्ष्य लिएको छ।

















प्रतिक्रिया दिनुहोस्