काठमाडौं। आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत ओमानविरुद्धको खेलमा नेपालले २६३ रन बनाएको छ। ओमानको अल अमेरतस्थित ग्राउन्ड मिनिस्ट्री टर्फ–१ मा मंगलबार टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरमा आठ विकेट गुमाएर २६३ रन बनाउँदै घरेलु टोलीलाई २६४ रनको लक्ष्य दिएको हो।
नेपालका लागि कप्तान रोहित पौडेलले सर्वाधिक ६१ रन बनाए। उनले ६७ बलमा उक्त रन जोडे। त्यस्तै, करण केसीले आक्रामक ब्याटिङ गर्दै १६ बलमा ४० रन बनाए। फिनिसिङ ओभरमा आएर चार छक्का प्रहार गरेका करणको आक्रामक पारीले नेपालको योगफल बढाउन महत्वपूर्ण योगदान पुर्यायो। यसैगरी, अर्जुन कुमालले ४० रन बनाउँदा इसान पाण्डे र बसिर अहमदले समान ३७ रन जोडे। दीपेन्द्रसिंह ऐरीले २२ तथा सन्दीप जोराले १० रन बनाए।
ओमानका लागि शाह फैसल, सकिल अहमद र करण सोनावाले दुई–दुई विकेट लिए भने हसनैन शाहले एक विकेट हात पारे।
एकदिवसीय अन्तर्राष्ट्रिय (ओडीआई) मान्यता जोगाउने लक्ष्यसहित लिग–२ मा प्रतिस्पर्धा गरिरहेको नेपालका लागि यो खेल महत्वपूर्ण छ। लिग–२ को अंकतालिकामा आफ्नो स्थिति सुधार गर्दै ओडीआई मान्यता कायम राख्ने सम्भावना बलियो बनाउन नेपाललाई ओमानविरुद्ध जित आवश्यक छ। २६४ रनको लक्ष्य पछ्याउँदै मैदानमा उत्रने घरेलु टोलीलाई रोक्नु नेपालका लागि अबको चुनौती हुनेछ।















प्रतिक्रिया दिनुहोस्