काठमाडौं । नेपाली कांग्रेसका प्रमुख सचेतक श्यामकुमार घिमिरेले संसद्मा आफूले दिएको अभिव्यक्तिप्रति आज माफी मागेका छन् ।
बुधबार प्रतिनिधिसभाको बैठकमा घिमिरेले चैत ३ गते संसद्मा ‘यौन व्यवसाय खुला गरौं’ भनेर दिएको अभिव्यक्ति व्यक्तिगत धारणा भएको भन्दै माफी मागेका हुन् ।
उनले संसदको विशेष समयमा भने, ‘यही चैत ३ गते विशेष समयमा मैले सदनमा राखेको धारणा विशेष सन्दर्भमा राखेको व्यक्तिगत धारणा हो । यो धारणा नेपाली कांग्रेस पार्टीको र संसदीय दलको आधिकारिक धारणा होइन । यी विचारले सम्मानित सदनका सदस्यहरू र अन्य जनसमुदायमा समेत केही नकारात्मक प्रभाव परेको भए म उहाँहरूको सम्मान गर्दै उहाँहरूसँग क्षमायाचना गर्न चाहन्छु।’
उनले गत चैत ३ गते बसेको बैठकमा नेपालको पर्यटन विकासका लागि यौन व्यवसाय खुला गर्नुपर्ने बताएका थिए । उनको अभिव्यक्तिप्रति संसद्, उनको पार्टीसँगै चौतर्फी आलोचना भएपछि प्रमुख सचेतक घिमिरेले आज माफी मागेका हुन् ।















प्रतिक्रिया दिनुहोस्