काठमाडौं।
नवदुर्गाको प्रसादका रूपमा आज पनि मान्यजनका हातबाट टीका र जमरा लगाएर बडादसैँ मनाइएको छ ।
विजया दशमीमा शुभ साइतको प्रतीक रातो टीका र समृद्धिको प्रतीक जमरा लगाएर मान्यजनहरुबाट आशीर्वाद लिने गरिन्छ । गत बुधबार बडादसैँको मुख्य दिन अर्थात् विजयादशमी हो ।
त्यसदिन टीका थाप्न नभ्याएका तथा अन्यत्र आफन्त एवं मान्यजनकहाँ जानुपर्नेहरुले बिहीबार एकादशी र आज पनि आफन्त तथा मान्यजनकहाँ पुगेर विजयादशमीको टीका थापिरहेका छन् । बडादसैँको टीकाको मुख्य दिन बुधबार भए पनि कोजाग्रत पूर्णिमासम्म नै मान्यजनबाट नवदुर्गा भवानीको प्रसादका रूपमा टीका र जमरा लगाउने र दसैँ मनाउने प्रचलन रहिआएको छ ।
विजयादशमीको तेस्रो दिन आज सर्वसाधारणको चहलपहल काठमाडौँ उपत्यकामा केही बढेको देखिएको छ । दसैँमा सुनसान रहेको काठमाडौँ उपत्यकामा आफन्त र मान्यजनकहाँ टीका लगाएर फर्कनेहरुको सङ्ख्या बढेसँगै चहलपहल बढेको देखिन्छ । काठमाडौँबाट लामो तथा छोटो दूरीका सवारीसाधन हिजोका तुलनामा आज बढी नै सञ्चालन भएका छन् ।
यसबाट नागरिकलाई टीका थाप्न जानका लागि पनि सहज भएको छ । बाहिरबाट काठमाडौँ भित्रिने सवारीसाधनहरु बढेकाले सडकमा सवारी र सर्वसाधारणको चहलपहल बढेको देखिएको हो ।















प्रतिक्रिया दिनुहोस्