काठमाडौं । नेपालको अग्रणी इन्टरनेट सेवा प्रदायक डिशहोम इन्टरनेटले ग्राहकहरूको सुरक्षा आवश्यकतालाई ध्यानमा राख्दै वाइफाइ आईपी क्यामेरा सेवा उपलब्ध गराउने घोषणा गरेको छ। यसका लागि डिशहोम इन्टरनेटले ईजभीज र हाइकभिजनको नेपाल वितरक शारदा समूहको भगिनी संस्था वत्सल इम्पेक्स प्रा। लि। सँग रणनीतिक साझेदारी गरेको छ।
डिशहोम इन्टरनेटले वाइफाइ आईपी क्यामेरा सेवा सुरु गर्नाले शहरी तथा अर्ध -शहरी क्षेत्रका घरपरिवारहरूको लागि स्मार्ट निगरानी समाधान उपलब्ध गराउने लक्ष्य राखेको जनाएको छ। विश्वभर अग्रणी स्थानमा रहेका ईजभीजका वाइफाइ आईपी क्यामेराहरूको सहायताले नेपाली उपभोक्ताले घर तथा व्यवसायको सुरक्षा अझ सुदृढ बनाउन सक्नेछन्।
डिशहोमका अनुसार उच्च–ब्यान्डविथको इन्टरनेटको बढ्दो प्रयोगसँगै, नेपालीहरूले स्मार्ट उपकरणहरूको प्रयोग पनि बढाइरहेका छन्। इन्टरनेट सेवा र वाइफाइ आईपी क्यामेरा परस्पर पूरक भएकाले डिशहोमले आफ्ना ग्राहकहरूलाई देशभरि रहेको डिलर नेटवर्कमार्फत यी सुरक्षा उपकरणहरू उपलब्ध गराउने छ।
डिशहोम र ईजभीजको सहकार्यले प्रयोगकर्ताहरूलाई झन्झटमुक्त वाइफाइ आईपी क्यामेरामार्फत आफ्ना घरको सुरक्षा सुनिश्चित गर्न सहज बनाउने बताइएको छ। यी क्यामेराहरूमा उच्च भिडियो गुणस्तर, नाइट भिजन, मोशन डिटेक्सन क्षमता तथा मोबाइल एप्समार्फत सजिलै पहुँच गर्न सक्ने सुविधा रहेको छ। डिशहोमले आफ्नो इन्टरनेट पूर्वाधार तथा ईजभीजको नवीन र विश्वसनीय सुरक्षा सामाग्रीलाई एकीकृत गर्दै नेपाली ग्राहकलाई भरपर्दो सुरक्षा समाधान प्रदान गर्ने विश्वास लिएको छ। कम्पनीका अनुसार, अब ग्राहकहरूले आफ्नो घर तथा व्यवसायलाई सुरक्षित राख्न अत्याधुनिक निगरानी प्रविधिको लाभ लिन सक्नेछन्।

















प्रतिक्रिया दिनुहोस्