काठमाडौं । एनसेलका ग्राहकले नेपाल मेडिसिटी अस्पतालमा निःशुल्क चिकित्सक परामर्श सेवा पाउने भएका छन् । एनसेल र नेपाल मेडिसिटी अस्पतालबीच भएको साझेदारीअन्तर्गत २९९ रुपैयाँ वा सोभन्दा माथिको प्याक वा रेन्टल सेवा लिने ग्राहकले अस्पतालको बहिरङ्ग सेवामा निःशुल्क चिकित्सक परामर्श लिन सक्नेछन् ।
त्यस्तै, ९९ देखि २९९ रुपैयाँसम्मको प्याक वा रेन्टल सेवा लिएका ग्राहकले बहिरङ्ग सेवाअन्तर्गत चिकित्सक परामर्श शुल्कमा २० प्रतिशत छुट पाउनेछन् । यससम्बन्धी सम्झौतामा मंगलबार एनसेलका प्रमुख उपभोक्ता व्यवसाय अधिकृत उपाङ्ग दत्ता र नेपाल मेडिसिटी अस्पतालका प्रमुख कार्यकारी अधिकृत डा. अमित तोमरले हस्ताक्षर गरेका छन् । साझेदारीअन्तर्गतको सुविधा लिन ग्राहकले एनसेल एपमा लगइन गरी ‘पार्टनर्ड सर्भिसेज’ खण्डमा गएर नेपाल मेडिसिटी अस्पताल छनोट गर्नुपर्नेछ । त्यसपछि एपले ग्राहकले पाउने सुविधाको विवरण देखाउनेछ । योग्य नदेखिएका ग्राहकले आवश्यक प्याक वा रेन्टल सेवा लिएर यो सुविधाको लाभ लिन सक्ने एनसेलले जनाएको छ ।
सम्झौताबारे एनसेलका प्रमुख उपभोक्ता व्यवसाय अधिकृत दत्ताले मोबाइल सेवासँगै ग्राहकलाई स्वास्थ्यसम्बन्धी सुविधा उपलब्ध गराउने उद्देश्यले साझेदारी गरिएको बताए । उनका अनुसार यसबाट ग्राहकले निःशुल्क चिकित्सक परामर्शदेखि परामर्श शुल्कमा छुटसम्मको सुविधा पाउनेछन् । नेपाल मेडिसिटी अस्पतालका प्रमुख कार्यकारी अधिकृत डा. तोमरले यस्ता साझेदारीले गुणस्तरीय स्वास्थ्य सेवालाई थप पहुँचयोग्य, समावेशी र किफायती बनाउन सहयोग पुग्ने बताए । एनसेलले ग्राहकलाई कनेक्टिभिटी सेवामा मात्र सीमित नराखी विभिन्न आवश्यक सेवासँग जोडेर थप सुविधा उपलब्ध गराउने प्रयासअन्तर्गत यो साझेदारी गरिएको जनाएको छ ।
















प्रतिक्रिया दिनुहोस्