काठमाडौं । नायिका करुणा पाण्डेको नयाँ तीज गीत ‘म मेरै मान्छेको प्यारी हुने हो’ सार्वजनिक भएको छ।
नुवाकोटको रिमालडाँडामा बाल्यकाल बिताएकी पाण्डेको गीतको म्युजिक भिडियो सोमबार युट्युबसहित विभिन्न डिजिटल प्लेटफर्ममार्फत सार्वजनिक गरिएको हो । विभिन्न म्युजिक भिडियो तथा चलचित्रमा अभिनय गरिसकेकी पाण्डेले तीजको अवसर पारेर नयाँ सांगीतिक प्रस्तुतिमार्फत दर्शक तथा श्रोतामाझ आएकी हुन् । अभिनयसँगै सामाजिक क्षेत्रमा समेत सक्रिय पाण्डेले यस गीतमार्फत आफ्नो कलायात्रालाई थप अघि बढाएकी छन् ।
ग्रामीण परिवेशमा हुर्किएकी पाण्डे नेपाली कला, संस्कृति र सामाजिक गतिविधिसँग नजिक रहेर कलाकारितामा सक्रिय रहँदै आएकी छन् । नेपाली महिलाको महत्वपूर्ण सांस्कृतिक पर्व तीजलाई लक्षित गरी सार्वजनिक गरिएको गीतमा मौलिक संस्कृति र मनोरञ्जनलाई समेट्ने प्रयास गरिएको निर्माण पक्षले जनाएको छ । ‘म मेरै मान्छेको प्यारी हुने हो’ मा गायिका गंगा सोनामको स्वर रहेको छ ।
गीतका शब्द अशोककुमार सापकोटाले लेखेका हुन् भने नारायण दंगालले संगीत संयोजन गरेका छन् । म्युजिक भिडियोको निर्देशन बिक्रम चौहानले गरेका छन् । भिडियोमा करुणा पाण्डेसहित अन्य कलाकारहरूको अभिनय रहेको छ । तीजको सांस्कृतिक परिवेश, आकर्षक पहिरन तथा नृत्यलाई समेटिएको भिडियोले दर्शकको ध्यान खिच्ने निर्माण पक्षको विश्वास छ । पछिल्लो समय तीजलाई लक्षित गर्दै नेपाली कलाकार तथा सर्जकहरूले नयाँ–नयाँ गीत सार्वजनिक गर्ने क्रम बढिरहेको छ।















प्रतिक्रिया दिनुहोस्