काठमाडाैं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने पाँच महिनापछि सक्रिय राजनीतिमा फर्किएका छन्। सोमबार केन्द्रीय कार्यालय पुगेका उनलाई नेता कार्यकर्ताले न्यानो स्वागत गरे। बैठकअघि आयोजित सम्बोधनमा लामिछानेले सरकारविरुद्ध आक्रोश पोख्दै आफूलाई योजनाबद्ध रूपमा फसाउन खोजिएको आरोप लगाए।
लामिछानेले सरकारको नीति नियतप्रति असन्तुष्टि जनाउँदै भने, ‘सरकारले ममाथि झुठा मुद्दा लगाएर दबाउने प्रयास गर्यो। अदालतमा बारम्बार उपस्थित हुनुपर्ने बाध्यता सिर्जना गरियो ।’ उनले आफूलाई मध्यरात दासढुंगाको बाटो हुँदै लैजानु नियतवश भएको आरोप लगाए।
आफ्नो राजनीतिक यात्रा कुनै डर वा धम्कीले रोक्न नसक्ने बताउँदै उनले भने, ‘ज्यानमै खतरा भए पनि म लड्नेछु। लुटतन्त्रलाई चुपचाप हेरेर बस्ने मान्छे म होइन ।’ गणतन्त्र र लोकतन्त्रको नाममा भइरहेको लुटप्रति कटाक्ष गर्दै उनले भने, ‘तपाईंहरू गणतन्त्रको खोल मात्र ओढेर बसेका हुनुहुन्छ। रास्वपा खोल ओढ्दैन, स्पष्ट अडान लिन्छ।’
उनले जनतामा निराशा र आक्रोश रहेको बताउँदै सशक्त प्रतिपक्षको आवश्यकता औंल्याए। साथै, सञ्चारकर्मीलाई सरकारी पक्ष नबन्न आग्रह गर्दै भने, ‘तपाईंहरूको उद्देश्य लोकतन्त्र जोगाउने हो कि यसको नाममा देश लुट्ने? सभापति पदमा पुनः सक्रिय भएका लामिछानेले देशको परिवर्तनका लागि संघर्ष जारी राख्ने प्रतिबद्धता व्यक्त गरे।















प्रतिक्रिया दिनुहोस्