काठमाडौं । देशका अधिकांश स्थानमा परिरहेको भारी वर्षासँगै विभिन्न राजमार्गमा गएको पहिरोले सडक अबरुद्ध भएको छ । जिल्ला प्रशासन कार्यालय, ट्राफिक प्रहरी र नेपाल प्रहरीसँगै सुरक्षा निकायले मुख्य राजमार्गको जोखिमलाई मध्यनजर गर्दै उपत्यका भित्रने र उपत्यकाबाट बाहिरिने मुख्य नाका तथा राजमार्गहरुमा सम्भावित जोखिमलाई हेरी सवारी होल्ड गर्नेदेखि आवागमन नै रोक्ने कार्य गरेका छन् ।
कहाँ कहाँ भए सवारी होल्ड ?
उपत्यका भित्रिने विभिन्न नाकाहरुमा भएको अवरोध र सम्भावित जोखिमलाई मध्यनजर गर्दै राजमार्गका सवारीलाई समेत होल्ड गरिएको प्रहरीले जनाएको छ । यस्तै, ट्राफिक प्रहरीले नागढुङ्गा चेकपोष्टबाट बाहिरिन लागेका २५० सवारी साधनलाई काठमााडौंतर्फ नै फर्काएको छ । काठमाडौंको चन्द्रागिरि नगरपालिकाबाट धादिङ र मकवानपुर हुँदै बाहिरिने नागढुङ्गा,गोदाम, टखेल हुँदै जाने सडकमा अर्को आदेश नभए सम्मको लागी दुबै तर्फका सवारी साधन होल्ड गरीएको छ ।
धादिङमा पहिरो खसेको तथा तत्काल खुलाउन सक्ने अवस्था नरहेकाले २५० भन्दा बढी सवारी साधनलाई काठमाडौं फर्काइएको उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख नवराज अधिकारीले बताए ।
यसैगरी, नारायणगढ हुँदै काठामाडौं जाने सवारीसाधनलाई पनि चितवनमै रोकिएको छ । लोथरदेखि फिस्लिङ बजारसम्म ‘स्टपिङ प्लान’अनुसार सवारीसाधन रोकिएको हो ।
जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक रवीन्द्र खनालका अनुसार धादिङको जवाङ खोलामा पहिरोका कारण सडक अवरुद्ध भएकाले काठमाडौं जाने सवारीसाधनलाई स्थानीय प्रशासनले तोकेको स्थानमा रोकिएको हो । उनले भने, “भरतपुर–मुग्लिन–पोखरा सडक सञ्चालनमा रहेको छ ।” नारायणगढ मुग्लिन सडक खण्डमा अहिले सवारी सञ्चालनमा रहेको छ । केही स्थानमा ढुङ्गा खसे पनि तत्काल पन्छाउने गरिएको उनले जानकारी दिए ।
उनका अनुसार काठमााडौं जाने सवारीसाधनलाई ट्राफिक व्यवस्थापन एवं आपत्कालीन अवस्थामा सवारीसाधन रोक्ने योजनाअनुसार इच्छाकामना गाउँपालिकाको फिस्लिङ, कुरिन्टार र मुग्लिनमा, भरतपुर महानगरपालिकाको जुगेडी, रामनगर, आँपटारी, पोखरा बसपार्क, बाइपास रोड, केन्द्रीय बस टर्मिनल, गोन्द्राङ एवं पूर्वी चितवनको शान्ति चोक टाँडी, चौबिसकोठी खैरहनी, डडुवा बजार भण्डारा, लोथर बजार लोथरमा सवारी साधन रोकिएको छ ।
यसैगरी, बि.पि र अरनिको राजमार्गमा सवारी साधन होल्ड गरिएको छ । अबिरल वर्षाको कारण धुलिखेल देखि दोलालघट, काभ्रेबाट सिन्धुपाल्चोकको सिमाना सम्म दुई तर्फी सवारी साधन अनिश्चित समयको लागी होल्ड गरिएको हो। पहिरोको जोखिम बढेपछि बिपी राजमार्गमा यही असोज २१ गतेसम्म साँझ ५ः०० देखि बिहान ५ः०० बजेसम सवारी सञ्चालनमा रोक लगाइएको छ ।
हेटौँडा–काठमाडौं सडकमा अलपत्र यात्रु
बाढीपहिरोको जोखिम बढेकाले हेटौँडा–काठमाडौं जोड्ने सडकमा सवारीसाधन सञ्चालनमा स्थानीय प्रशासनले रोक लगाएको छ ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको निर्णयअनुसार हेटौँडा–काठमाडौं जोड्ने मुख्य सडकमा सवारीसाधन सञ्चालनमा रोक लगाइएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी प्रवक्ता पुष्कर बोगटीले जानकारी दिए ।
उनका अनुसार हेटौँडा–काठमाडौं जोड्ने कान्तिलोकपथ, हेटौँडा–भैँसे–फाखेल सडक र हेटौँडा–चित्लाङ–काठमाडौं सडकमा सवारीसाधनलाई आज बिहानैदेखि सञ्चालन गर्न दिएको छैन । हेटौँडा हुँदै काठमाडौंका निम्ति छुटेका सबै सवारीसाधनलाई प्रहरीले हेटौँडाको चौकीटोल, भैँसे, पिप्लेमा रोकेको छ । सवारीसाधन सञ्चालन नहुँदा यात्रीहरू अलपत्र परेका छन् ।
हेटौँडा–काठमाडौं जोड्ने कुनै पनि सडक हालसम्म बाढी वा पहिरोका कारण अवरुद्ध नभए पनि वर्षा निरन्तर भइरहेकाले जोखिमबाट जोगिन ती सडकमा सवारीसाधन सञ्चालनमा रोक लगाइएको प्रवाक्ता बोगटीले बताए ।
यसैबीच, मकवानपुरका प्रमुख जिल्ला अधिकारी स्किम श्रेष्ठले आजदेखि असोज २० गतेसम्म अत्यन्त टाढा र रातिकालिन समयमा यात्रा नगर्न आग्रह गरेका छन् । पहिरोले रसुवाको गोसाइँकुण्ड गाउँपालिका–२ घट्टेखोला, बालुवाखानी र तातोपानीस्थित पासाङल्हामु सडकखण्ड पनि अवरुद्ध भएको छ । सङ्खुवासभाको भोटखोला गाउँपालिका–४ स्थित वरुणखोलाको बाढीले ह्युमपाइप बगाउँदा सदरमुकाम खाँदबारीबाट थुमसुर जाने कोशी राजमार्ग पूर्ण रूपमा बन्द भएको छ ।
यसैबीच सिन्धुपाल्चोकको भोटेकोसी गाउँपालिका–४ चारकिलोस्थित अरनिको राजमार्गको केही भाग भासिएकाले भाअिन्दाजी सडक पूर्ण रुपमा अवरुद्ध भएको प्रहरीले जनाएको छ । उता, ओलखढुङ्गाको मानेभञ्ज्याङ गाउँपालिका वडा नं ६ र ७ को सीमास्थित भँडारे खोलाको बाढीले सदरमुकाम जोड्ने सडकमा क्षति भएको छ ।
शुक्रबारदेखि निरन्तर परेको झरी आज साँझबाट अझै सक्रिय भई आइतबार बिहान ८ बजेसक्म भारी देखि अति भारी वर्षा हुने प्रक्षेपण मौसम विभागले गरेको छ । वर्षाले निम्त्याउने बाढी र पहिरोका कारण हुनसक्ने ठूलो जनधनको क्षतिलाई न्यूनिकण गर्न तीनै तहका सरकार र सुरक्षा निकायले ठाउँ ठाउँमा सवारी होल्ड गरेका हुन् । यस्तै, नागरिकलाई अत्यावश्यक बाहेक यात्रा नगर्न सरकार, मौसम विभाग, सुरक्षा निकाय, स्थानीय प्रशासनलयागतले सबैमा अनुरोध गरेका छन् ।















प्रतिक्रिया दिनुहोस्