काठमाडाैं। संसद्मा करिब दुई तिहाइ जनमतको समर्थन पाएको वर्तमान बलियो सरकारले आगामी आर्थिक वर्षका लागि २१ खर्ब २४ अर्ब ३४ करोड रुपैयाँ बराबरको हालसम्मकै ठूलो बजेट घोषणा गरेको छ। आज अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले संसद्को संयुक्त बैठकमा उक्त आकारको बजेट प्रस्तुत गरेका हुन् । उक्त बजेटमध्ये बजेटको ठूलो हिस्सा चालु खर्चमा विनियोजन गरिएको छ। अर्थमन्त्री वाग्लेका अनुसार कुल बजेटमध्ये चालुतर्फ १२ खर्ब ७० अर्ब रुपैयाँ छुट्याइएको छ। विकास निर्माण र पूर्वाधारसँग जोडिने पूँजीगततर्फ भने ४ खर्ब ३१ अर्ब रुपैयाँ मात्र विनियोजन भएको छ। यसैगरी, वित्तीय व्यवस्थातर्फ ४ खर्ब २२ अर्ब रुपैयाँ राख्ने घोषणा गरिएको छ।
बजेटका लागि आवश्यक खर्च व्यहोर्ने प्रमुख स्रोतका रूपमा राजस्वलाई अघि सारिएको छ। सरकारले आगामी आर्थिक वर्षमा १४ खर्ब ५ अर्ब ३१ करोड रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य राखेको छ। यसबाहेक वैदेशिक अनुदानतर्फ ६१ अर्ब ७४ करोड रुपैयाँ प्राप्त हुने अनुमान गरिएको छ।
राजस्व र अनुदानबाट मात्रै खर्च धान्न नपुग्ने ठूलो रकम (बजेट घाटा) पूर्ति गर्न सरकारले वैदेशिक र आन्तरिक ऋणमा ठूलो भरोसा गरेको देखिन्छ। जसअन्तर्गत वैदेशिक ऋणतर्फ २ खर्ब ४७ अर्ब २८ करोड रुपैयाँ र आन्तरिक ऋणतर्फ ४ खर्ब १० अर्ब रुपैयाँ परिचालन गरिने अर्थमन्त्री वाग्लेले बताए ।
दुई तिहाइको बलियो जगमा बनेको सरकारले ल्याएको यो बजेटले महत्वाकांक्षी लक्ष्यहरू राखे पनि स्रोत जुटाउन वैदेशिक र आन्तरिक ऋणमा ठूलो निर्भरता देखाएको छ, जसको कार्यान्वयन पक्ष निकै चुनौतीपूर्ण रहने विश्लेषण छ।















प्रतिक्रिया दिनुहोस्