काठमाडौं । जेनजी पुस्ताका युवाहरुले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईसहित सम्पूर्ण आयुक्तहरूको राजीनामा माग गरेका छन् ।
जेनजी मुभमेन्ट अलायन्सले आयोगका प्रमुखहित सम्पूर्ण आयुक्तहरूको राजीनामा माग्दै मंगलबार आयोगको कार्यालय पुगेर पत्र समेत बुझाएका छन् । अख्तियार प्रमुख राई वाइडबडी घोटाला लगायतका भ्रष्टाचार मुद्दामा मुछिएको र उनको नेतृत्वमा आयोगको निष्पक्षतामाथि शंका उब्जिएको आरोप लगाउदै जेनजी मुभमेन्ट अलायन्सले अख्तियारको कार्यालय टङ्गाल पुगेर निवेदन दर्ता गराएको हो।
संसद् नभएको अवस्थामा महाभियोग संभव नभएकाले नैतिकताको आधारमा राजीनामा दिनुपर्ने मागसहित जेनजी अलायन्स टङ्गाल पुगेको हो । अलायन्सले खुला आवेदन प्रक्रियामार्फत योग्यता र क्षमता भएका नयाँ प्रमुख आयुक्त नियुक्त गर्न अन्तरिम सरकारसँग माग गर्दै राजीनामा नआए आन्दोलनका कार्यक्रम घोषणा गर्ने चेतावनी समेत दिएको छ ।
राजीनामाको लागि दबाब सिर्जना गर्न टंगाल पुगेका अलायन्सका प्रतिनिधि अमित खनाले किन राजीनामा माग गरेको ? भन्ने सञ्चारकर्मीको प्रश्नमा भने, ‘ठ्याक्कै अल्टिमेटम भन्दा पनि यथाशीघ्र राजीनामा चाहियो भन्ने हो । अल्टिमेटम दिँदैमा आजको भोलि राजीनामा आउँछ भन्ने पनि होइन होला । तर, सकेसम्म यसलाई चाँडो गराएर किनकि हाम्रो मुख्य मुद्दा त भ्रष्टाचारकै थियो।’
यस्तै उनले पुराना दलका नेताहरुलाई लागेको भ्रष्टाचारका अभियोगहरू निष्पक्ष छानविनका लागि सक्षम आयोगको गठन हुनुपर्ने र जनताको चाहाना नै त्यही रहेको प्रस्ट पारे । उनले अख्तियार प्रमुखको राजीनामा नआए अन्तरिम सरकारले पुराना दलहरुलाई नै गुरु मानेर बन्दना गर्न खोजेको आफूहरुले बुझ्ने टिप्पणी गरे ।
उनले भने, ‘पारदर्शी रूपमा छानबिन गर्नको लागि पुराना दलहरूलाई जति पनि भ्रष्टाचारका अभियोगहरू लागेका छन्, उनीहरुलाई रोक्नको लागि त्यहाँ पनि त एउटा निष्पक्ष आयोगको गठन हुनुपर्छ। व्यक्तिहरु एकदम निश्चल र पारदर्शी ढंगका मान्छेहरू हुनुपर्छ। यो यदि अख्तियार प्रमुख राईले राजनीनामा गर्नुभएन भने जनताको म्यान्डेट र चाहनालाई अस्वीकार गरेर पुरानै दलहरूलाई उहाँ नै हो हाम्रो गुरुहरू भनेर चरण बन्दना गर्न खोजेको भन्ने कुरा बुझिन्छ ।’
एलाइन्सको तर्फबाट हिजो इमेलमार्फत राईलाई पद छोड्न दबाबमूलक पत्र पठाइएको थियो । उनीहरुले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले नियुक्त गरेका राईसहितका आयुक्तहरूले भ्रष्टाचारको निष्पक्ष छानबिन गर्नेमा शंका रहेको भन्दै जेनजीहरूले निष्पक्ष मान्छे ल्याउनुपर्नेमा जोड दिएका छन् ।















प्रतिक्रिया दिनुहोस्