काठमाडौं । सूचना प्रविधि क्षेत्रमा दक्ष जनशक्तिका लागि सरकारले आकर्षक पारिश्रमिकसहित रोजगारीको अवसर खुलाएको छ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयअन्तर्गतको सफ्टवेयर विकास तथा सञ्चालन केन्द्र, सिंहदरबारले विभिन्न पदमा ४२ जना सूचना प्रविधि विज्ञ माग गर्दै दरखास्त आह्वान गरेको हो। केन्द्रले सरकारी निकायका लागि आवश्यक सफ्टवेयर प्रणाली विकास, परिमार्जन, स्तरोन्नति तथा मर्मतसम्भार गर्न जनशक्ति माग गरेको हो।
सूचनाअनुसार सबैभन्दा उच्च पारिश्रमिक ‘प्रमुख प्रविधि विज्ञ’ पदका लागि मासिक २ लाख ५० हजार रुपैयाँ तोकिएको छ। यस पदमा एक जना माग गरिएको छ। यस्तै, मासिक २ लाख रुपैयाँ पारिश्रमिकमा दुई जना परियोजना व्यवस्थापक र चार जना विभिन्न क्षेत्रका प्रमुख नियुक्त गरिनेछन्। केन्द्रले मासिक १ लाख ६० हजार रुपैयाँ पारिश्रमिकमा चार जना प्रणाली विश्लेषक तथा १ लाख ४० हजार रुपैयाँमा तीन जना वरिष्ठ डेभलपर र दुई जना प्रणाली, सञ्जाल तथा डाटाबेस प्रशासक माग गरेको छ।
त्यसैगरी, मासिक १ लाख २५ हजार रुपैयाँ पारिश्रमिकमा १५ जना मध्यम तहका डेभलपर र १ लाख १० हजार रुपैयाँमा दुई जना साइबर सुरक्षा विज्ञ नियुक्त गरिनेछन्। दुई जना गुणस्तर विश्लेषक र दुई जना यूआईरयूएक्स डिजाइनरका लागि मासिक ९० हजार रुपैयाँ पारिश्रमिक तोकिएको छ। यस्तै, तीन जना कनिष्ठ डेभलपरका लागि मासिक ४८ हजार र दुई जना प्राविधिक सहयोगीका लागि ४० हजार रुपैयाँ पारिश्रमिक निर्धारण गरिएको छ।
इच्छुक नेपाली नागरिकले २०८३ कात्तिक १८ गतेभित्र केन्द्रको आधिकारिक वेबसाइट www.sdoc.gov.np मार्फत अनलाइन आवेदन दिन सक्नेछन्। छनोट प्रक्रिया पदअनुसार प्रस्तुतीकरण, अन्तर्वार्ता वा प्रयोगात्मक परीक्षामार्फत हुनेछ।

















प्रतिक्रिया दिनुहोस्