काठमाडौं । काठमाडौं उपत्यकाको फोहोर बन्चरेडाँडा ल्याण्डफिल्ड साइटमा विसर्जन गर्न विगत चार दिनदेखि भइरहेको अवरोध हटेको छ । अवरोध हटेपछि सडकमै अलपत्र परेका र काठमाडौंमा फोहोर लोड भएका गाडील्याण्डफिल्डसाइटतर्फ जान थालेका छन् ।
ऊर्जा जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकासमन्त्री कुलमान घिसिङले बन्चरेडाँडा ल्याण्डफिल्ड साइटका स्थानीयले राखेका माग पूरा गर्ने प्रतिबद्धता जनाएपछि अवरोध खुलेको हो । मन्त्री घिसिङले भने, ‘मैले अस्तिदेखि नै तपाईंहरुको समस्याको बारेमा अध्ययन गरे । यहाँहरुसँग धेरै सहमतीहरु भएका रहेछन् । ०८९ मा नगरपालिकासँग र ०८० मा प्रधानमन्त्रीसँगै चार बुँदे सहमती भएका रहेछन् । त्यो सहमतीहरु किन कार्यान्वयन भएनन् भन्ने कुरा अब सम्बन्धित निकायसँग छलफल गरेर म त्यसको कार्यान्वयन गराउन प्रतिबद्ध छु, सबै निकायसँग समन्वय गर्छु ।’
यस्तै, मन्त्री घिसिङले प्रभावित बासिन्दासँग विगतमा भएका सहमति एवम् सम्झौता कार्यान्वयन गर्ने प्रतिबद्धता जनाएका थिए । उनले सहमति कार्यान्वयको प्रक्रिया अगाडि बढाउन १५ दिनको समय माग गर्दै फोहोर फाल्न अवरोध नगर्न अनुरोध गरेका हुन्। स्थानीयले उठाउँदै आएको लिच्चड व्यवस्थापनका लागि शहरी विकास मन्त्रालयको संयोजनमा सबै सरोकारवाला निकाय सम्मिलित समिति बनाइने भएको छ । पोखरीमा जम्मा भएको लिच्चडलाई खोलामा जान नदिन रिसाइकल गर्न तत्काल पम्प सञ्चालन गर्ने प्रतिबद्धता जनाइएको छ । हाल पम्प बिग्रिएको छ ।
ल्याण्ड फिल्ड साइटमा जथाभावी फोहोर फालिएको गुनासो सम्बोधन गर्न शहरी विकास मन्त्रालय,काठमाडौं महानगरपालिका र प्रभावित पालिकाका १/१ जना प्रतिनिधि रहने गरी अनुगमन समिति बनाइने भएको छ । यस्तै, रात्रिकालीन फोहोर व्यवस्थापन गर्न साइटमा आवश्यक पर्ने बत्तिको व्यवस्था गरिने प्रतिबद्धता जनाउँदै मन्त्री घिसिङले सोमबारबाटै बत्ति राख्न काम सुरु गरिने बताए । यसका लागि उनले प्राधिकरणका कार्यकारी निर्देशक र नुवाकोट वितरण केन्द्र प्रमुखलाई सोही स्थानबाटै निर्देशन दिइसकेका छन् ।

वैज्ञानिक व्यवस्थापनका लागि फोहोर छुट्याउन विभिन्न ठाउँमा पहिचाहन गरिएका सार्वजनिक जग्गा स्थानीय तहलाई उपलब्ध गराउन मन्त्रिपरिषद्बाट आवश्यक निर्णय लिइने उनले बताए । ल्याण्डफिल्ड साइटबाट प्रभावित हुने क्षेत्रको यकिन गर्न चार सिजनको तथ्याङ्क आवश्यक पर्ने भएकाले पूरक वातावरणीय प्रभाव मूल्याङ्कन (इआइए)सम्पन्न गर्न केही समय लाग्ने देखिएकाले यस्तो अवस्थालाई बुझिदिन उनले स्थानीयलाई आग्रह गरे । त्यसको जानकारी दिँदै मन्त्री घिसिङले भने, ‘सप्लिमेन्टरी कन्सल्टेन्ससँग मैले आजै लामो कुरा गरे । उहाँहरुले त्यो सप्लिमेन्टरी इआइए रिपोर्ट पास हुनलाई चार सिजनको फोहोरको डाटा लिनुपर्छ भनेका छन् ’ उनले थपे, ‘ बैशाख, असार र कात्तिकको डाटा उहाँहरुले लिइसक्नु भएको छ । अब पुसको डाटा लिनुपर्छ । त्यो चारओटैको डाटा लिएर सम्पूर्ण मूल्यांकन गरेपछि उनिहरुले रिपोर्ट बुझाउँछन र तयसपछि मात्र स्वीकृतीको चरणमा जान्छ ।’
मन्त्री घिसिङले इआइएपछि प्रभावित क्षेत्रको पहिचान हुने भएकाले सोही बमोजिम जग्गा अधिग्रहणको प्रक्रिया अगाडि बढ्ने बताए । दीर्घकालीन रुपमा फोहोर व्वस्थापनका लागि लगानी बोर्डले अगाडि बढाइएको प्रक्रियामा भएको कानूनी अड्चन काठमाडौं उपत्यकाका मेयर्स फोरमलाई समेत सहभागी गराएर समाधान गरिने उनले उल्लेख गरे ।

फोहोर विसर्जनमा स्थानीयले अवरोध गरेपछि समस्या समाधानका लागि मन्त्री घिसिङ, शहरी विकास सचिव गोपाल सिग्देल, काठमाडौं, नुवाकोट तथा धादिङका प्रमुख जिल्ला अधिकारी, काठमाडौं महानगरपालिका कार्यकारी अधिकृतसहितको टोली लिएर आइतबार बिहान बन्चरेडाँडा ल्याण्डफिल्ड साइटमा गएका थिए । टोलीले फोहोर विर्सन गर्ने ठाउँको स्थलगलत निरीक्षण गर्नुकासाथै ल्याण्डफिल्ड साइट पर्ने धादिङको धुनिवेशी नगरपालिकाका प्रमुख, नुवाकोटका ककनी गाउँपालिका अध्यक्ष, प्रभावित वडाका वडाध्यक्षहरु र स्थानीय बासिन्दासँग अन्तक्रिया गरेको थियो ।







कर्पोरेट समाचार 




















प्रतिक्रिया दिनुहोस्