काठमाडौं । विवाहित महिलामुखी सौन्दर्य प्रतियोगिता मिसेस् नेपाल २०२६ का लागि आवेदन खुला गरिएको छ। आयोजक रिबन इन्टरटेनमेन्टले बुधबार पत्रकार सम्मेलनमार्फत आवेदन प्रक्रिया सुरु भएको जानकारी दिएको हो।
आयोजकका अनुसार इच्छुक सहभागीले खल्ती वा रिबन इन्टरटेनमेन्टको वेबसाइटमार्फत आवेदन दिन सक्नेछन्। प्रतियोगितामा २१ देखि ५० वर्ष उमेर समूहका विवाहित, सम्बन्धविच्छेद भएका तथा एकल महिलाले सहभागिता जनाउन सक्नेछन्। सहभागीका लागि उचाइ र तौलको कुनै मापदण्ड नराखिएको आयोजकले जनाएको छ।
रिबन इन्टरटेनमेन्टका अध्यक्ष निशुकान्त झाले यस वर्षदेखि प्रतियोगितामा ‘मिसेस् नेपाल कस्मो’ नामक नयाँ उपाधि थपिएको जानकारी दिए। उनका अनुसार यसअघि रहेको मिसेस् नेपाल वर्ल्ड र मिसेस् नेपाल इन्टरनेसनलसँगै अब एउटै मञ्चमा तीनवटा उपाधिका लागि प्रतिस्पर्धा हुनेछ। साथै, अविवाहित वा एकल महिलाका लागि एमएस् नेपाल इन्टरनेसनल विधालाई पनि निरन्तरता दिइएको छ।
प्रतियोगिताको अडिसन साउन २३ गते हुनेछ भने कात्तिक १४ गते ग्रान्ड फिनाले आयोजना गरिनेछ। काठमाडौंबाहेक पोखरा, इटहरी र विराटनगरमा पनि अडिसन सञ्चालन गरिने आयोजकले जनाएको छ। विदेशमा रहेका नेपाली महिलाले अनलाइन अडिसनमार्फत सहभागिता जनाउन सक्नेछन्।
छनोट भएका सहभागीलाई ४५ दिने व्यक्तित्व विकास तथा ग्रुमिङ प्रशिक्षणका साथै राष्ट्रिय र अन्तर्राष्ट्रियस्तरका तालिम प्रदान गरिने आयोजकको भनाइ छ।
यस अवसरमा मिसेस् नेपाल वर्ल्ड २०२५ की विजेता रक्षा पन्तले प्रतियोगिताले विवाहित महिलामा आत्मविश्वास विकास गर्न महत्वपूर्ण भूमिका खेलेको बताइन्। उनले समाजमा अझै विवाहित महिलाका सपना सीमित गर्ने सोच कायम रहे पनि आफ्नो क्षमता र चाहनालाई नत्यागी यस्ता मञ्चमा सहभागी हुन महिलालाई आग्रह गरिन्।

















प्रतिक्रिया दिनुहोस्