काठमाडौं । अर्थमन्त्री रामेश्वरप्रसाद खनालले आगामी फागुनको निर्वाचन लक्षित गोरखाको स्थलगत भ्रमण गरेका छन् ।
आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचन तयारी सम्बन्धमा मंगलबार अर्थमन्त्री खनालले जिल्ला प्रशासन कार्यालय गोरखाका प्रमुख जिल्ला अधिकारी सहित जिल्ला स्थिति तीनवटै सुरक्षा प्रमुखबाट निर्वाचन तयारी, सुरक्षा प्रबन्ध, आचारसंहिता पालनाको अवस्था लगायतका विषयमा जानकारी लिएका छन् ।
सो क्रममा प्रमुख जिल्ला अधिकारी तुलसी बहादुर श्रेष्ठले गोरखामा निर्वाचन आचारसंहिता उलंघनका कुनै पनि उजुरी नपरेको जानकारी अर्थमन्त्रीलाई गराए । अर्थमन्त्रीलाई २३ वटा मतदान केन्द्रमा हेलिकप्टरबाट मतपत्र लगायतका सामाग्री ढुवानी गर्नुपर्ने अवस्था रहेको र ८३ वटा मतदान केन्द्रलाई अति संवेदनशील मतदान केन्द्रका रुपमा राखिएको जानकारी प्रजिअ श्रेष्ठले गराए ।
स्थलगत अनुगमनका क्रममा मुख्य निर्वाचन अधिकृत बिष्णु प्रसाद गौतम, निर्वाचन क्षेत्र नं २ का निर्वाचन अधिकृत मोहन वेल्वासे, जिल्ला निर्वाचन कार्यालय गोरखाका कार्यालय प्रमुख टेक बहादुर कोइरालाले हालसम्मको निर्वाचन तयारी र अवस्थाका बारेमा अर्थमन्त्रीलाई जानकारी गराएको अर्थ मन्त्रालयका प्रवक्ता टंक प्रसाद पाण्डेय जानकारी दिए ।
सो क्रममा अर्थमन्त्रीले निर्वाचनको तयारी सन्तोषजनक रुपमा अगाडि बढेको र स्थानीयस्तरमा राजनीतिक दलहरुबीच निर्वाचनका क्रममा स्वच्छ र सिर्जनात्मक प्रतिष्पर्धाको वातावरण निर्माण भैरहेको अनुभूति भएको उल्लेख गरे ।




कर्पोरेट समाचार 






















प्रतिक्रिया दिनुहोस्