काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले स्वास्थ्य उपचारपछि सार्वजनिक जीवनमा फर्किएको घोषणा गर्दै आगामी राजनीतिक अभियानलाई तीव्र बनाउने बताएका छन्।
सामाजिक सञ्जालमार्फत सार्वजनिक गरिएको लामो सन्देशमा उनले सामान्य चोटबाट भएको संक्रमणका कारण केही दिन अस्पताल बस्नुपरेको जानकारी दिँदै अब जनतासँग प्रत्यक्ष संवादलाई प्राथमिकता दिने उल्लेख गरेका छन्।
लामिछानेले देशमा अब हुने परिवर्तनलाई ‘इतिहास का रूपमा व्याख्या गर्दै मतपत्रमार्फत नेपाली जनताले नयाँ राजनीतिक दिशा तय गर्ने दाबी गरेका छन्। उनले आफू सिंहदरबार पुग्नभन्दा सिंहदरबारको कार्यशैली बदल्न चाहेको उल्लेख गर्दै सुशासन, भ्रष्टाचार नियन्त्रण र प्रणालीगत सुधारका लागि स्पष्ट जनमत आवश्यक रहेको बताएका छन्।
सन्देशमा उनले पुराना दलहरूको शासनशैलीको आलोचना गर्दै कस्मेटिक विकासका कामभन्दा संरचनागत सुधारमा जोड दिएका छन्। उनले लोकतन्त्र जोगाउँदै सुशासन र विकास–कूटनीति तथा अर्थ–राजनीतिको नयाँ युग सुरु गर्ने लक्ष्य रहेको बताएका छन्।
लामिछानेले आगामी राजनीतिक प्रक्रियालाई नेपाली इतिहासको महत्वपूर्ण मोडको रूपमा प्रस्तुत गर्दै फागुन २१ पछिको संसदमा नयाँ शक्ति उदाउने दाबी पनि गरेका छन्। साथै, गठबन्धन राजनीतिप्रति संकेत गर्दै आफूहरू मतपरिणाम स्वीकार गर्न तयार भए पनि पुरानो संसद फर्काउने कुनै प्रयास स्वीकार्य नहुने चेतावनी दिएका छन्।















प्रतिक्रिया दिनुहोस्