Advertisement
Advertisement
Corporate Samachar
४ असार २०८३, बिहीबार
Advertisement

थिती बसाल्ने संकल्पसहित प्रणाली सुधारमा केन्द्रित हुन सांसदहरूलाई वाग्लेको निर्देशन

थिती बसाल्ने संकल्पसहित प्रणाली सुधारमा केन्द्रित हुन सांसदहरूलाई वाग्लेको निर्देशन
विज्ञापन
Advertisement

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापति डा. स्वर्णिम वाग्लेले आफ्नो कार्यकालमा कुनै पनि बहानाबाजी नगरी परिणाममुखी काम गरेर देखाउन नवनिर्वाचित सांसदहरूलाई निर्देशन दिएका छन् । मंगलबार ललितपुरमा आयोजित सांसदहरूको अभिमुखीकरण कार्यक्रममा बोल्दै उनले पार्टीको मूल मन्त्र ‘थिती बसाल्ने संकल्प’ भएको स्पष्ट पारे । सोही अनुसार सांसदहरुले काम गरेर देखाउनुपर्नेमा उनले जोड दिए ।

विज्ञापन
Advertisement
Advertisement

स–साना सुधार होइन, प्रणाली नै परिवर्तन

उपसभापति वाग्लेले अबको पाँच वर्ष स–साना टुक्राटाक्री सुधारमा अल्झिने समय नभएको बताए । ‘हामी लथालिङ्ग र भताभुङ्ग भएको अर्थ–राजनीति र सामाजिक अवयवहरूलाई सम्हाल्ने म्यान्डेट पाएर आएका हौँ’ उनले भने, ‘बहुमत नआएको भए यति गरुङ्गो भारी हुँदैनथ्यो, तर अब त ‘नो एक्सक्युजेस, नो इफ्स, नो बट्स’, हामीले काम गरेरै देखाउनुपर्नेछ।’ उनले व्यक्तिगत समस्या सुल्झाउनुभन्दा समग्र प्रणालीलाई नै सुधार्ने गरी काम गर्न सांसदहरूलाई आग्रह गरे ।

आचरण र ‘राइट टु रिकल’ को चेतावनी

सांसदहरूको जीवनशैली पारदर्शी र अनुकरणीय हुनुपर्नेमा जोड दिँदै वाग्लेले नैतिकतामा कुनै सम्झौता नहुने स्पष्ट पारे । आफ्नो व्यवसाय र पदबीच हुन सक्ने स्वार्थको द्वन्द्व मा असाध्यै गम्भीर हुन निर्देशन दिएका उनले पार्टीले तय गरेको उच्च मापदण्ड अनुरूप काम नभए निर्मम अनुशासनको कारबाही र ‘राइट टु रिकल’ (सांसद फिर्ता बोलाउने) जस्ता सिद्धान्त कार्यान्वयन हुन सक्ने चेतावनी दिएका छन्। ‘हाम्रो जीवनशैली पारदर्शी र अनुकरणीय हुनुपर्छ । हामीले जुन कुराका लागि अरू दलका पात्रहरूलाई आलोचना गर्‍यौँ, अब त्यो दोहोर्‍याउने छुट हामीलाई छैन। रास्वपाका प्रतिनिधिहरू साच्चिकै पृथक छन् भन्ने अनुभूति आम जनताले गर्न सक्नुपर्छ,’ उनले भने, ‘सम्पत्ति विवरण, आर्थिक स्रोतको पारदर्शिता र आफ्नो व्यवसायसँग हुन सक्ने ‘स्वार्थको द्वन्द्व’ का विषयमा हामी असाध्यै गम्भीर हुनुपर्छ । यदि पार्टीले सेट गरेको ‘हाई स्ट्यान्डर्ड’ अनुरूप काम भएन भने निर्मम अनुशासनको कारबाही र ‘राइट टु रिकल’ जस्ता सिद्धान्तहरू आकर्षित हुन सक्छन् । सामाजिक सञ्जालको प्रयोग, समयको कदर र बोली–व्यवहारमा इमानदार हुनुपर्छ।’

रास्वपाको डीएनए नै ज्ञान र संस्कारमा आधारित राजनीति
रास्वपाको आधारभूत चरित्र नै ‘ज्ञान र संस्कार’ मा आधारित परिपक्व राजनीति भएको उनको तर्क थियो। सांसदहरू उमेर र अनुभवमा युवा देखिए पनि उनीहरूको आचरण र नैतिकतामा कुनै खोट देखिन नहुनेमा जोड दिँदै वाग्लेले भने,‘ हामी व्यक्तिगत समस्या समाधान गर्न होइन, प्रणालीलाई नै बदल्न र सुधार्न आएका हौँ । रास्वपाको डीएनए नै ‘ज्ञान र संस्कार’ मा आधारित परिपक्व राजनीति हो। उमेर र अनुभवमा कम देखिए पनि हामी बदमासी र भ्रष्टाचार गर्दैनौँ भन्ने जिम्मेवारी बोध हुनुपर्छ । हामीले नीति निर्माणका लागि तथ्य र प्रमाणमा आधारित अध्ययन गर्नुपर्छ।’

तथ्यमा आधारित नीति र अन्तर्राष्ट्रिय दृष्टि

उनले नीति निर्माण गर्दा हचुवाका भरमा नभई तथ्य र प्रमाणमा आधारित अध्ययन गरेर मात्र अघि बढ्न सांसदहरुलाई सुझाव दिए । साथै, नेपाली राजनीति अब स्थानीय घेरामा मात्र सीमित हुन नहुने बताउँदै उनले भने ‘हामी कुवाको भ्यागुता भएर बस्न सक्दैनौँ। मिडिल इस्ट (मध्यपूर्व) को द्वन्द्व र त्यसले नेपालको अर्थतन्त्रमा पार्ने प्रभाव जस्ता अन्तर्राष्ट्रिय आयामहरूलाई पनि हामीले नजिकबाट बुझ्न जरुरी छ।’

बहुआयामिक सम्बन्धको व्यवस्थापन

नयाँ सांसदहरूले मतदाताका अपेक्षाहरूलाई सम्बोधन गर्दै अन्य राजनीतिक दल, विज्ञ, विचार निर्मातासँग सन्तुलित र मर्यादित सम्बन्ध राख्नुपर्नेमा उनले जोड दिए ।
वाग्लेले निर्वाचनको ताजापन अब विश्वसनीयतामा बदल्नुपर्ने चुनौती रहेको र रास्वपाका सांसदहरूले अबको कार्यकाललाई संसद्कै इतिहासमा अविस्मरणीय बनाउनुपर्ने बताए ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit