Advertisement
Advertisement
Corporate Samachar
१० जेष्ठ २०८३, आईतवार
Advertisement
Advertisement
विज्ञापन
Advertisement

नर्सरीमा नयाँ पुस्ता, वार्षिक करोडौंको कारोबार

नर्सरीमा नयाँ पुस्ता, वार्षिक करोडौंको कारोबार
विज्ञापन
Advertisement

काठमाडौं । जीवनको यात्राले कहिलेकाहीँ यस्तो मोड ल्याउँछ, जहाँ बाटो टुङ्गिएकोजस्तो लाग्छ। सपना अधुरै रोकिन्छन्, भविष्य अँध्यारो देखिन्छ। तर त्यही अँध्यारोभित्र उज्यालो पनि लुकेको हुन्छ । जसलाई देख्ने आँट गर्नुपर्छ। शिशिर दाहालको कथा त्यही उज्यालो खोज्ने साहसको कथा हो।

विज्ञापन
Advertisement
Advertisement

सिन्धुलीमा जन्मिएका शिशिर अहिले भक्तपुरको दधिकोटमा आफ्ना सपनालाई नयाँ रूप दिइरहेका छन्। २५ वर्षकै उमेरमा जीवनका उकाली–ओराली नजिकबाट भोगेका उनले विसं २०७८ मा एउटा ठूलो दुर्घटना सामना गर्नुपर्‍यो। मेरुदण्डमा चोट लागेपछि उनी शारीरिक रूपमा अशक्त बने। अहिले उनी हुइलचियरको सहारामा जीवन अघि बढाइरहेका छन्।

शरीरले साथ दिन छोडेपछि मन पनि कहिलेकाहीँ थाक्थ्यो। ‘अब के गर्ने ?’, ‘कसरी बाँच्ने?’ यी प्रश्नहरू बारम्बार मनमा उठ्थे। वरपरका सहानुभूति र निराशाका आवाजहरूले पीडा झन् गहिरो बनाउँथे। तर दुर्घटनाले शरीर कमजोर बनाए पनि उनको सपना भने अझ बलियो बनायो।

‘यही अवस्थालाई नियति मान्ने कि फेरि उठ्ने?’ भन्ने प्रश्नले उनको जीवनको दिशा बदल्यो। त्यसैबाट सुरु भयो नर्सरी व्यवसायतर्फको यात्रा।

कृषि विषय अध्ययन गरेका उनले यसअघि दुई वर्षसम्म किसानलाई तालिम दिएका थिए। उत्पादन र आत्मनिर्भरता सिकाउने कामले सन्तुष्टि दिएको थियो। दुर्घटनापछि बाहिर काम गर्न कठिन भएपछि ‘आफ्नै केही गरौँ’ भन्ने सोचले विसं २०७९ देखि नर्सरी व्यवसाय सुरु गरे।

सुरुआत सहज थिएन। शारीरिक अवस्था, सीमित स्रोतसाधन र नीतिगत झन्झटहरू चुनौतीका रूपमा उभिए। तर उनले हार मानेनन्। माटोसँग खेल्दै र बिरुवासँग रमाउँदै उनले आफैंलाई पुनः उभ्याए। नर्सरीका हरेक बिरुवामा उनको संघर्षको कथा झल्किन्छ।

अहिले यसै व्यवसायबाट राम्रो आम्दानी भइरहेको छ। उनको विश्वास छ । मेहनत गरे विदेश जानु अनिवार्य छैन, नेपालमै भविष्य सम्भव छ।

भृकुटीमण्डपमा सञ्चालन भइरहेको तेस्रो हर्टिकल्चर मेलामा भेटिएका शिशिरको आत्मविश्वासले कठिनाइलाई चिरेर अघि बढ्न सकिने सन्देश दिन्छ।

कीर्तिपुरको शान्त वातावरणमा फैलिएको हरियालीबीच बुढाथोकी नर्सरीमा दिनहुँ नयाँ जीवन अंकुराइरहेको छ। यही हरियालीसँगै आफ्नो पहिचान निर्माण गर्दै छन् सुरसा ओझा। उनका लागि नर्सरी व्यवसाय केवल रोजगारी होइन, पुस्तान्तरण हुँदै आएको सपना हो।

फूल र बिरुवाप्रतिको मोहले हजुरबाबाट सुरु भएको यो व्यवसाय अहिले परिवारको पहिचान बनेको छ। पछिल्ला चार वर्षदेखि सक्रिय रूपमा यस क्षेत्रमा लागेकी सुरसाले सामाजिक सोचसँग पनि संघर्ष गर्नुपरेको छ।

हर्टिकल्चर व्यवसायलाई अझै पनि सम्मानित पेशाका रूपमा नहेर्ने प्रवृत्तिले चुनौती थपेको छ। ‘पढेलेखेर यस्तो काम गर्ने?’ भन्ने प्रश्नहरूबीच पनि उनले आफ्नो बाटो छोडेकी छैनन्।

उनका अनुसार, यस क्षेत्रमा कहिलेकाहीँ हेपिएको अनुभूति हुन्छ। तर उनी चुनौतीलाई अवसरका रूपमा लिन्छिन्। समाजको सोच परिवर्तन गर्न आफूहरू नै अघि बढ्नुपर्ने उनको धारणा छ।

नर्सरीमा फूल, फलफूलका बिरुवा, सजावटी बोटबिरुवादेखि दुर्लभ प्रजातिसम्म उपलब्ध छन्। पछिल्लो समय युवाहरूको आकर्षण पनि यस क्षेत्रमा बढ्दै गएको छ। सहरमा हरियालीप्रतिको चासो र वातावरणीय सचेतनाले हर्टिकल्चर व्यवसायको सम्भावना विस्तार भइरहेको देखिन्छ।

ललितपुरका दीपेन्द्र तुलाधार पनि स्वदेशमै सम्भावना खोज्ने उद्यमीमध्ये एक हुन्। पहिले विज्ञापन एजेन्सी सञ्चालन गर्दै आएका उनको व्यवसाय कोरोना महामारीसँगै प्रभावित भयो। लकडाउनले बजार ठप्प हुँदा वैकल्पिक बाटो खोज्नुपर्ने अवस्था आयो।

विदेश जाने सुझावहरू आए पनि उनले स्वदेशमै केही गर्ने निर्णय गरे। त्यसपछि नर्सरी व्यवसाय रोजे—र अहिले यही क्षेत्रमा स्थापित भएका छन्।

उनका अनुसार मासिक ४५ लाख रुपैयाँसम्मको कारोबार सम्भव भइरहेको छ। भृकुटीमण्डपमा जारी पुष्प प्रदर्शनीमा उनी बिरुवा बिक्रीसँगै ग्राहकलाई स्याहारसम्भारसम्बन्धी जानकारी दिँदै व्यस्त देखिन्छन्।

उनको विशेषता भनेको ‘सेवा’ पनि हो। बिरुवा बेचेर मात्र होइन, त्यसलाई कसरी जोगाउने भन्ने सीप पनि ग्राहकलाई सिकाउने उनको अभ्यास छ। साथै, बिरुवा, गमला र अन्य सामग्री एकै ठाउँमा उपलब्ध गराउने व्यवस्थाले ग्राहकलाई सहज बनाएको छ।

बदलिँदो जीवनशैलीसँगै गमलामा बिरुवा उपहार दिने चलन बढ्दै गएको उनले अनुभव गरेका छन्। दीर्घकालीन हुने भएकाले मानिसहरू फूलको बुकीभन्दा हरियो बिरुवातर्फ आकर्षित भइरहेका छन्।

काठमाडौंको साँखुस्थित दिवा नर्सरीले पनि स्थानीय बजारमा राम्रो पहिचान बनाउँदै गएको छ। यसलाई अगाडि बढाइरहेका छन् आकाश सापकोटा। दाइको व्यवसायबाट प्रेरित भएर उनले यही क्षेत्रमा आफूलाई स्थापित गरेका हुन्।

बौद्ध र गोठाटार क्षेत्रमा बिक्री केन्द्र सञ्चालन गर्दै उनले बजार विस्तार गरेका छन्। दिवा नर्सरीबाट मासिक करिब पाँच लाख रुपैयाँसम्म आम्दानी हुने गरेको तथ्यले यस व्यवसायको सम्भावना झल्काउँछ।

मोरङका २२ वर्षीय अरुण विष्ट भने विदेशिने लहरबीच स्वदेशमै भविष्य खोजिरहेका युवा हुन्। दाइको नर्सरी व्यवसायबाट प्रेरित भएर उनी पुष्पखेतीतर्फ आकर्षित भएका छन्।

सानैदेखि हरियालीसँग नजिक रहेका उनले यही क्षेत्रमा भविष्य देखेका छन्। बजारको माग र बढ्दो आकर्षणले नेपालमै राम्रो सम्भावना रहेको उनको विश्वास छ।

यी त केही प्रतिनिधि उदाहरण मात्र हुन्। नर्सरी व्यवसायमा संलग्न थुप्रै उद्यमीहरू यही क्षेत्रमा भविष्य देखिरहेका छन्। केहीले अन्य पेशा छोडेर समेत यसमा प्रवेश गरेका छन्।

पुष्प विकास केन्द्र, गोदावरीका प्रमुख रवीन्द्र थापाका अनुसार नेपालमा वार्षिक करिब साढे तीन अर्ब रुपैयाँ बराबरको पुष्प तथा आलंकारिक सामग्री आयात हुने गरेको छ। यसलाई स्वदेशी उत्पादनबाट प्रतिस्थापन गर्ने ठूलो सम्भावना रहेको उनको भनाइ छ।

नर्सरी व्यवसायी संघ नेपालका तथ्यांकअनुसार यस क्षेत्रमा ११.८३ अर्ब रुपैयाँ लगानी रहेको छ भने वार्षिक करिब ६.४३ अर्ब रुपैयाँ बराबरको कारोबार हुँदै आएको छ। करिब १ लाख २० हजार जनाले यसबाट रोजगारी पाएका छन्।

हरियालीसँगै बढ्दै गएको यो व्यवसाय केवल सौन्दर्यको प्रतीक मात्र होइन, आर्थिक सम्भावनाको नयाँ क्षेत्र पनि बनेको छ। चुनौतीहरू अझै बाँकी छन्—नीति, प्रविधि र बजारका। तर नयाँ पुस्ताको आत्मविश्वास र उद्यमशीलताले देखाएको संकेत स्पष्ट छ ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit