Advertisement
Advertisement
Corporate Samachar
२५ असार २०८३, बिहीबार
Advertisement

‘पर्यटनलाई राष्ट्रिय प्राथमिकता बनाए नेपालले दक्षिण एसियाकै उत्कृष्ट गन्तव्य बन्न सक्छ’

‘पर्यटनलाई राष्ट्रिय प्राथमिकता बनाए नेपालले दक्षिण एसियाकै उत्कृष्ट गन्तव्य बन्न सक्छ’
विज्ञापन
Advertisement

काठमाडाैं। अश्लेषा कार्की होटल मेची क्राउन, धुलाबारी–झापाकी डेपुटी म्यानेजिङ डाइरेक्टर हुन्। नेपालको पहिलो पाँचतारे डिलक्स होटलको नेतृत्व तहमा रहँदै उनले पूर्वी नेपालको पर्यटन, आतिथ्य, विवाह तथा मनोरञ्जन पर्यटन प्रवद्र्धनमा महत्वपूर्ण योगदान पुर्याएकी छन्। उनको नेतृत्वमा होटल मेची क्राउन पूर्वी नेपालको प्रमुख आतिथ्य गन्तव्यका रूपमा स्थापित भएको छ।

विज्ञापन
Advertisement
Advertisement

अष्ट्रेलियाको युनिभर्सिटी अफ मेलबर्नबाट ब्याचलर अफ कमर्स अध्ययन गरेकी कार्कीसँग आतिथ्य तथा व्यवस्थापन क्षेत्रमा छ वर्षभन्दा बढीको अनुभव छ। उनी होटल एसोसिएसन नेपालकी कार्यसमिति सदस्य हुन्। साथै, नेपाल उद्योग वाणिज्य महासंघ अन्तर्गत एयर एन्ड टुरिजम, एम्प्लोयर्स काउन्सिल तथा हाल इन्डस्ट्री कमिटीमा आबद्ध रहेर सक्रिय भूमिका निर्वाह गरिरहेकी छन्। उनी नेपाली युवा उद्यमी मञ्च काठमाडौं च्याप्टरकी कार्यसमिति सदस्यसमेत हुन्।

नेपालको आतिथ्य, पर्यटन र उद्यमशीलतासम्बन्धी विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मञ्चमा सक्रिय सहभागिता जनाउँदै आएकी कार्कीले BIMSTEC Young Generation Forum २०२५ (थाइल्यान्ड) मा नेपालको एकमात्र प्रतिनिधिका रूपमा सहभागिता जनाएकी थिइन्। उनै कार्कीसँग नेपालको होटल उद्योग र पयर्टनसँग कर्पोरेट यात्राका लागि भोजराज भण्डारीले गरेको कुराकानीको सम्पादित अंशः

अहिले होटल र पर्यटन क्षेत्रको वर्तमान अवस्था कस्तो छ ?
नेपालको पर्यटन उद्योग अहिले सकारात्मक दिशातर्फ अघि बढिरहेको छ। विगतका केही वर्ष चुनौतीपूर्ण रहे पनि अहिले निजी क्षेत्र, होटल उद्योग र पर्यटनसँग सम्बन्धित व्यवसायमा नयाँ उत्साह देखिएको छ। हाम्रो पर्यटन अझै पनि मुख्य रूपमा वर्षको पाँच–छ महिनाको सिजनमा केन्द्रित छ। विशेषगरी सेप्टेम्बरदेखि नोभेम्बर र फेब्रुअरीदेखि अप्रिलसम्म पर्यटकको आगमन उल्लेखनीय रूपमा बढ्छ। बाँकी समयमा भने अपेक्षाकृत शिथिलता देखिन्छ।

तर समग्र रूपमा हेर्दा अहिले उद्योग विस्तारै लयमा फर्किरहेको छ। पछिल्ला वर्षमा पर्यटक आगमन बढ्दै गएको छ, निजी क्षेत्रले ठूलो लगानी गरिरहेको छ, नयाँ होटलहरू सञ्चालनमा आएका छन् र अन्तर्राष्ट्रिय ब्रान्डहरू समेत नेपाल प्रवेश गर्न थालेका छन्। यसले नेपालको पर्यटन क्षेत्रप्रति लगानीकर्ताको विश्वास विस्तारै बढ्दै गएको देखिन्छ ।

पछिल्लो राजनीतिक स्थिरतासहितको नयाँ सरकार र नयाँ नेतृत्व आएको छ, पर्यटनसँग सम्बन्धित निकायहरूमा नयाँ सोचसहित काम गर्ने वातावरण बनेको छ। अब सबै पक्ष एउटै लक्ष्य लिएर अघि बढ्न सके पर्यटन क्षेत्रले अझ तीव्र गति लिन सक्छ भन्ने विश्वास छ।

पछिल्लो समय होटल क्षेत्रमा भइरहेको लगानीलाई कसरी हेर्नुभएको छ ?
अहिले होटल क्षेत्रमा भइरहेको लगानी अत्यन्त सकारात्मक संकेत हो। नेपालभर नयाँ–नयाँ होटल, रिसोर्ट र उच्चस्तरीय आतिथ्य परियोजनाहरू निर्माण भइरहेका छन्। विशेष गरी अन्तर्राष्ट्रिय स्तरका लक्जरी तथा अल्ट्रा–लक्जरी ब्रान्डहरूको आगमनले नेपाल विश्व पर्यटन बजारमा अझ विश्वासिलो गन्तव्य बन्दै गएको सन्देश दिएको छ।

आजको अवस्थामा भन्नुपर्दा निजी क्षेत्र आफ्नो जिम्मेवारी पूरा गर्न तयार छ। अन्तर्राष्ट्रिय मापदण्डअनुसार सेवा दिने पूर्वाधार निर्माण भइसकेको छ। अब चुनौती भनेको ती पूर्वाधारमा पर्याप्त गुणस्तरीय पर्यटक ल्याउने हो। त्यसका लागि प्रभावकारी अन्तर्राष्ट्रिय प्रवद्र्धन, सहज पहुँच र स्पष्ट पर्यटन नीति आवश्यक हुन्छ ।होटल व्यवसायीहरू सधैं तयार छन्। तर होटल बनाउनु मात्र पर्याप्त हुँदैन, त्यसलाई भरिने वातावरण पनि राज्यले सिर्जना गर्नुपर्छ। त्यसैले निजी क्षेत्र र सरकारबीचको सहकार्य अझ प्रभावकारी हुन आवश्यक छ ।

धेरै वर्षदेखि नेपाललाई मुख्यतः हिमाल, पदयात्रा र साहसिक पर्यटनको देशका रूपमा चिनाइएको छ। त्यो हाम्रो पहिचान हो र रहिरहनेछ। तर अब त्यतिमै सीमित भएर पुग्दैन। आज विश्व पर्यटनको प्रवृत्ति परिवर्तन भइसकेको छ। पर्यटकहरू कुनै देश केवल एउटा स्मारक वा एउटा दृश्य हेर्न मात्र जाँदैनन्। उनीहरू त्यहाँको संस्कृति, जीवनशैली, स्थानीय समुदाय, खानपान, आतिथ्यता र अनुभव खोजिरहेका हुन्छन्।

नेपालसँग यही सबैभन्दा ठूलो अवसर छ । यहाँ आउने पर्यटकले हिमाल मात्र होइन, गाउँको जीवन, स्थानीय संस्कृति, परम्परा, पर्व, जैविक खानपान, योग, ध्यान, आध्यात्मिक अनुभव र नेपालीको आत्मीय व्यवहार पनि अनुभव गर्न सक्छन्। यही अनुभवलाई विश्व बजारमा सही ढंगले प्रस्तुत गर्न सक्यौं भने नेपालको पर्यटनले नयाँ उचाइ हासिल गर्न सक्छ । नेपालको वास्तविक शक्ति प्राकृतिक सम्पदासँगै यहाँका मानिसहरूको आत्मीयता हो। यही पक्षलाई हाम्रो पर्यटन ब्रान्डिङको केन्द्रमा राख्नुपर्छ।

सरकारले घोषणा गरेको ‘नेपाल वेलनेस इयर २०२७’ लाई होटल तथा पर्यटन उद्योगले कस्तो अवसरका रूपमा हेरेको छ ?

‘नेपाल वेलनेस इयर २०२७’ नेपालका लागि एउटा सामान्य पर्यटन अभियान मात्र होइन, विश्व पर्यटन बजारमा नयाँ पहिचान स्थापित गर्ने महत्वपूर्ण अवसर हो। विश्वभर अहिले वेलनेस पर्यटन तीव्र गतिमा विस्तार भइरहेको छ। मानिसहरू केवल घुम्नका लागि मात्र होइन, शारीरिक स्वास्थ्य, मानसिक शान्ति, आध्यात्मिक अनुभूति र स्वस्थ जीवनशैलीको खोजीमा विभिन्न देश पुगिरहेका छन्।

नेपालसँग यस क्षेत्रमा अन्य धेरै देशभन्दा बलियो आधार छ। यहाँ हिमाल, शुद्ध वातावरण, प्राकृतिक सम्पदा, योग, ध्यान, बौद्ध तथा हिन्दू आध्यात्मिक केन्द्र, आयुर्वेद, जैविक खानपान र शान्त वातावरण सबै उपलब्ध छन्। त्यसैले नेपाललाई वेलनेस पर्यटनको अन्तर्राष्ट्रिय गन्तव्यका रूपमा विकास गर्न सकिने पर्याप्त सम्भावना छ ।

तर सम्भावना मात्रै भएर पुग्दैन। यदि सन् २०२७ लाई सफल बनाउन चाहन्छौं भने अहिलेदेखि नै अन्तर्राष्ट्रिय बजारमा प्रचार–प्रसार सुरु गर्नुपर्छ। पर्यटनमा मार्केटिङ एक वा दुई महिनामा परिणाम दिने विषय होइन। कम्तीमा एक वर्षअघिदेखि लक्षित बजारमा अभियान सञ्चालन गर्नुपर्छ, अन्तर्राष्ट्रिय पर्यटन मेलाहरूमा नेपालको वेलनेस ब्रान्ड प्रस्तुत गर्नुपर्छ र डिजिटल माध्यमबाट प्रभावकारी प्रचार गर्नुपर्छ ।

यससँगै होटल, रिसोर्ट, स्पा, योग केन्द्र, ध्यान केन्द्र तथा वेलनेस सेवा प्रदायक संस्थाहरूले पनि अन्तर्राष्ट्रिय मापदण्डअनुसार आफ्ना सेवा र पूर्वाधारलाई थप स्तरीय बनाउन आवश्यक छ। सरकार र निजी क्षेत्र एउटै रणनीतिका साथ अघि बढे भने ‘नेपाल वेलनेस इयर २०२७’ केवल एउटा कार्यक्रममा सीमित रहने छैन, बरु नेपालको पर्यटन उद्योगलाई दीर्घकालीन रूपमा नयाँ उचाइमा पु¥याउने आधार बन्न सक्छ।

मेरो विचारमा अब घोषणाभन्दा बढी कार्यान्वयनमा जोड दिनुपर्ने समय आएको छ। योजनाहरू कागजमा मात्र सीमित हुनुहुँदैन, त्यसको प्रभाव मैदानमा देखिनुपर्छ। यदि आजदेखि नै स्पष्ट कार्ययोजना बनाएर अघि बढ्यौं भने २०२७ नेपालका लागि वेलनेस पर्यटनको ऐतिहासिक वर्ष बन्न सक्छ।

नेपालको पर्यटन क्षेत्रलाई अन्तर्राष्ट्रिय प्रतिस्पर्धी बनाउन सरकार र निजी क्षेत्रबीच कस्तो सहकार्य आवश्यक छ ?

नेपालको पर्यटन क्षेत्रलाई दीर्घकालीन रूपमा बलियो बनाउने हो भने सरकारले सबैभन्दा पहिले राष्ट्रिय ध्वजावाहक नेपाल एयरलाइन्सलाई राष्ट्रिय प्राथमिकताको परियोजनाका रूपमा अघि बढाउन आवश्यक छ। कुनै पनि मुलुकको पर्यटन उद्योगले विदेशी एयरलाइन्समा मात्र निर्भर भएर अपेक्षित सफलता हासिल गर्न सक्दैन। बलियो राष्ट्रिय एयरलाइन्सले अन्तर्राष्ट्रिय उडान सञ्जाल विस्तार गर्ने, पर्यटकको पहुँच सहज बनाउने, देशको पहिचान विश्वभर प्रवद्र्धन गर्ने तथा पर्यटनसँगै राष्ट्रिय अर्थतन्त्रलाई मजबुत बनाउने महत्त्वपूर्ण भूमिका खेल्छ।

त्यसैले नेपाल एयरलाइन्सलाई केवल एक सार्वजनिक संस्थानका रूपमा नभई नेपालको पर्यटन प्रवद्र्धनको प्रमुख माध्यमका रूपमा विकास गर्नुपर्छ। यसको फ्लीट आधुनिकीकरण, अन्तर्राष्ट्रिय गन्तव्य विस्तार, सेवा गुणस्तरमा सुधार, समयपालन, व्यवस्थापकीय दक्षता र व्यावसायिक सञ्चालनमा विशेष ध्यान दिन जरुरी छ। नेपाल एयरलाइन्सको लोगो बोकेर विश्वका विभिन्न गन्तव्यमा उड्ने प्रत्येक विमानले यात्रु मात्र बोकेको हुँदैन, त्यसले नेपाललाई विश्व पर्यटन बजारमा चिनाउने दूतको भूमिकासमेत निर्वाह गरिरहेको हुन्छ।

नेपाल एयरलाइन्सलाई सुदृढ बनाउनुका साथै सरकारले अन्तर्राष्ट्रिय पर्यटन बजारमा नेपालको प्रभावकारी ब्रान्डिङ र मार्केटिङमा पनि उल्लेख्य लगानी गर्नुपर्छ। प्रमुख स्रोत बजारहरूमा समन्वित प्रचार अभियान सञ्चालन गर्ने, अन्तर्राष्ट्रिय ट्राभल अपरेटर तथा एयरलाइन्ससँग रणनीतिक साझेदारी गर्ने, विश्वस्तरीय पर्यटन मेला तथा प्रदर्शनीहरूमा सक्रिय सहभागिता जनाउने र डिजिटल माध्यमबाट नेपालको पर्यटन सम्भावनालाई विश्वसामु प्रभावकारी रूपमा प्रस्तुत गर्ने नीति अवलम्बन गर्न आवश्यक छ।
जब बलियो नेपाल एयरलाइन्स र प्रभावकारी अन्तर्राष्ट्रिय पर्यटन मार्केटिङ एकसाथ अघि बढ्छन्, तब नेपाल विदेशी एयरलाइन्समा अत्यधिक निर्भर रहनुपर्ने अवस्थाबाट क्रमशः मुक्त हुँदै आफ्नै क्षमताबाट बढीभन्दा बढी विदेशी पर्यटक आकर्षित गर्न सक्षम हुनेछ। यसले पर्यटन आय, रोजगारी, विदेशी मुद्रा आर्जन र समग्र आर्थिक गतिविधिमा उल्लेखनीय योगदान पु¥याउनेछ।

वास्तवमा, समृद्ध पर्यटन उद्योगको आधार नै सुदृढ उड्डयन क्षेत्र हो। त्यसैले नेपाल एयरलाइन्समा गरिने लगानीलाई केवल एउटा एयरलाइन्समा गरिएको लगानीका रूपमा होइन, नेपालको पर्यटन, अर्थतन्त्र, अन्तर्राष्ट्रिय पहिचान र समग्र राष्ट्रिय समृद्धिमा गरिएको रणनीतिक लगानीका रूपमा हेर्नुपर्छ।
आज नेपालले केवल आफ्नै पर्यटन बजारसँग प्रतिस्पर्धा गरिरहेको छैन। हामी श्रीलंका, भुटान, माल्दिभ्स, थाइल्यान्ड,भियतनामलगायत धेरै मुलुकसँग अन्तर्राष्ट्रिय बजारमा प्रतिस्पर्धा गरिरहेका छौं। त्यसैले सेवाको गुणस्तर, सुरक्षा, सहजता र प्रभावकारी प्रवद्र्धनमा निरन्तर सुधार गर्नुपर्ने आवश्यकता छ।
मलाई लाग्छ, सरकारले नीति निर्माण र पूर्वाधारमा नेतृत्व गर्ने तथा निजी क्षेत्रले गुणस्तरीय सेवा, नवप्रवर्तन र लगानी विस्तार गर्ने हो भने नेपालले दक्षिण एसियाकै उत्कृष्ट पर्यटन गन्तव्यका रूपमा आफूलाई स्थापित गर्न धेरै समय लाग्ने छैन। पर्यटनको वास्तविक सम्भावना उपयोग गर्न सरकार र निजी क्षेत्र एउटै लक्ष्य र साझा दृष्टिकोणका साथ अघि बढ्नुपर्ने आजको आवश्यकता हो।

पछिल्लो समय नेपालमा ‘डेस्टिनेसन वेडिङ’ को अवधारणा विस्तार हुँदै गएको छ। यसले पर्यटन उद्योगलाई कत्तिको योगदान पु¥याउन सक्छ ?
डेस्टिनेसन वेडिङ नेपालको पर्यटन उद्योगका लागि अत्यन्त सम्भावना बोकेको क्षेत्र हो। पछिल्ला केही वर्षमा नेपालमा विदेशी तथा भारतीय विवाह समारोह आयोजना गर्ने क्रम बढ्न थालेको छ। सरकारको नीति पनि यसतर्फ सकारात्मक देखिएको छ, जुन स्वागतयोग्य कुरा हो।

एउटा ठूलो विवाह समारोहले केवल होटलको व्यवसाय बढाउँदैन। त्यससँगै हवाई सेवा, ट्राभल कम्पनी, सजावट व्यवसाय, फोटोग्राफी, इभेन्ट म्यानेजमेन्ट, स्थानीय कलाकार, यातायात, फूल व्यवसाय, कृषि उत्पादन तथा अन्य धेरै क्षेत्रलाई प्रत्यक्ष फाइदा पुग्छ। एउटा विवाह कार्यक्रममा सयौं पाहुना सहभागी हुन्छन्, जसले धेरै दिन नेपालमा बस्ने, घुम्ने र खर्च गर्ने भएकाले समग्र अर्थतन्त्रमा सकारात्मक प्रभाव पार्छ।

नेपालसँग हिमाल, ताल, सांस्कृतिक सम्पदा र लक्जरी होटलहरूको राम्रो संयोजन भएकाले डेस्टिनेसन वेडिङका लागि उत्कृष्ट सम्भावना छ। अब यसलाई अन्तर्राष्ट्रिय रूपमा प्रभावकारी ढंगले प्रचार गर्न आवश्यक छ।

नेपालको पर्यटन क्षेत्रलाई थप समावेशी र सबैका लागि पहुँचयोग्य बनाउन के गर्नुपर्ला ?
अहिले विश्व पर्यटनमा सबैका लागि सहज पर्यटनको अवधारणा निकै महत्वपूर्ण बन्दै गएको छ। नेपालले पनि अब यस विषयमा गम्भीर भएर काम गर्नुपर्ने आवश्यकता छ। ज्येष्ठ नागरिक, शारीरिक रूपमा फरक क्षमता भएका व्यक्ति, ह्विलचेयर प्रयोगकर्ता वा विशेष आवश्यकता भएका पर्यटकका लागि होटल, रेस्टुरेन्ट, सार्वजनिक स्थल तथा पर्यटकीय गन्तव्यहरू सहज हुनुपर्छ। यदि उनीहरूलाई स्वतन्त्र रूपमा यात्रा गर्ने वातावरण बनाउन सकियो भने नेपालको पर्यटन बजार अझ ठूलो बन्न सक्छ।
आज विश्वभर लाखौं ज्येष्ठ नागरिक नियमित रूपमा भ्रमण गर्छन्। उनीहरू उच्च खर्च गर्ने पर्यटक पनि हुन्। त्यसैले पहुँचयोग्य पूर्वाधार, सुरक्षित वातावरण र गुणस्तरीय सेवाले नेपालको पर्यटनलाई नयाँ बजार प्रदान गर्न सक्छ।

नेपालको पर्यटन क्षेत्रप्रति तपाईं कत्तिको आशावादी हुनुहुन्छ ?
म नेपालको पर्यटनको भविष्यप्रति निकै आशावादी छु। किनभने हामीसँग अरू देशले सजिलै नक्कल गर्न नसक्ने प्राकृतिक सम्पदा, सांस्कृतिक विविधता, आध्यात्मिक शक्ति र आत्मीय आतिथ्यता छ। यी सबै पक्षलाई सही योजना, प्रभावकारी व्यवस्थापन र अन्तर्राष्ट्रिय प्रचारसँग जोड्न सक्यौं भने नेपाल दक्षिण एसियाकै मात्र होइन, विश्वकै उत्कृष्ट पर्यटन गन्तव्य बन्न सक्छ।

हामीले अब साना–साना उपलब्धिमै सन्तुष्ट हुने होइन, ठूलो सोच राख्नुपर्छ। निजी क्षेत्रले निरन्तर लगानी गरिरहेको छ। अब सरकारले पनि स्पष्ट नीति, द्रुत निर्णय, पूर्वाधार विकास र प्रभावकारी कार्यान्वयनमार्फत साथ दिनुपर्छ।

यदि सबै सरोकारवालाले एउटै लक्ष्य लिएर काम गर्ने हो भने आगामी दशक नेपालको पर्यटन उद्योगको स्वर्णिम दशक बन्न सक्छ । म विश्वास गर्छु, पर्यटन नेपालको आर्थिक समृद्धिको प्रमुख आधार बन्ने क्षमता राख्छ, अब त्यसलाई व्यवहारमा प्रमाणित गर्ने समय आएको छ ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit