images images images
images images images
images
images
images

मर्स्याङ्दी बेसी जलविद्युत आयोजनाको सार्वजनिक सुनुवाइ सम्पन्न

images

लमजुङ । ५० मेगावाट क्षमताको मर्स्याङ्दी बेसी जलविद्युत आयोजनाले आफ्नो पूरक प्रारम्भिक वातावरणीय परीक्षण अन्तर्गत प्रभावित क्षेत्रमा पर्ने भौतिक तथा वातावरणीय प्रभावबारे स्थानीय सरोकारवालाबिच सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न गरेको छ ।

दिव्यज्योती हाइड्रोपावर लिमिटेडद्वारा प्रवर्द्धित उक्त आयोजना बेसीशहर नगरपालिका वडा नं। ६ र १० तथा मर्स्याङ्दी गाउँपालिका(८ र ९ अन्तर्गत मर्स्याङ्दी नदीमा निर्माणाधीन रहेको छ । आइतबार मर्स्याङ्दी गाउँपालिका–८, सिमल चौरमा आयोजित सार्वजनिक सुनुवाइ कार्यक्रममा स्थानीयवासी, सरोकारवाला निकाय तथा विभिन्न क्षेत्रका प्रतिनिधिको उल्लेखनीय सहभागिता रहेको थियो ।

images
images

कार्यक्रमका क्रममा केही व्यक्तिहरूले विरोध जनाउँदै कार्यक्रम अवरुद्ध गर्न खोजे पनि स्थानीय समुदायको सकारात्मक भूमिकाका कारण कार्यक्रम सौहार्दपूर्ण वातावरणमा सफलतापूर्वक सम्पन्न भएको आयोजकले जनाएको छ ।

कार्यक्रममा बोल्दै कम्पनीका सञ्चालक मिलन खड्काले जलविद्युत विकासमार्फत देशको समृद्धि सम्भव रहेको उल्लेख गर्दै केही नकारात्मक तत्त्वहरूले व्यक्तिगत स्वार्थका लागि विकास अवरुद्ध गर्न खोजेको आरोप लगाए। उनले भने, ‘विकास विरोधी यस्ता तत्त्वहरूको अवरोधले विकास रोकिने छैन । यो आयोजना यस क्षेत्रको भाग्य र भविष्यसँग जोडिएको छ । यो आयोजना जसरी पनि बन्छ, बनेरै छाड्नेछ ।’

उनले थप्दै कम्पनीको अनुभव र विश्वसनीयता प्रस्तुत गर्दै दिव्यज्योती हाइड्रोपावर लिमिटेडको मुख्य प्रवर्द्धक अपि पावर कम्पनी लिमिटेड रहेको जानकारी दिए । अपि पावर र यसको समूहले नेपालभरि दर्जनौँ जलविद्युत तथा सौर्य ऊर्जा आयोजनाहरू सफलतापूर्वक सम्पन्न गरिसकेको र यो कम्पनी नेपाल स्टक एक्सचेन्जमा सूचीकृत एक प्रतिष्ठित कम्पनी रहेको उनले बताए ।

साथै, निकट भविष्यमै दिव्यज्योती हाइड्रोपावरलाई पनि सूचीकृत गरी सर्वसाधारण तथा विशेष गरी स्थानीयवासी लाई सेयर धनी बनाउने लक्ष्य रहेको जानकारी गराइयो ।

उक्त आयोजना करिब १० अर्ब रुपैयाँ लागतमा निर्माण हुने अनुमान गरिएको छ । २०७४ असोज १ गते वातावरणीय प्रभाव मूल्याङ्कन (इआइए) स्वीकृत भएको र २०७५ भदौ १० गते विद्युत् खरिद बिक्री सम्झौता (पिपिए) सम्पन्न भइसकेको आयोजनाले जनाएको छ । आयोजनाबाट करिब साढे दुई वर्षभित्र व्यावसायिक विद्युत् उत्पादन सुरु गर्ने लक्ष्य राखिएको छ ।

हाल आयोजनाले निर्माण कार्य अघि बढाइसकेको जनाएको छ ।

images
images

प्रतिक्रिया दिनुहोस्