images images images images
images images images images
images
images
images

जोखिम मोलेर भिरमौरीको मह सिकार गर्दै स्थानीय

images

गण्डकी ।  गण्डकी प्रदेशका पहाडी जिल्लामा यतिबेला भिरमौरीको मह सिकार सुरु भएको छ । वैशाख–जेठलाई मह सिकारको उपयुक्त याम मानिने भएकाले स्थानीयवासी अक्करे भिरमा जोखिम मोलेर मह काढ्न व्यस्त छन् ।

पुर्खौंदेखि चलिआएको मह सिकार परम्परालाई स्थानीयले निरन्तरता दिँदै आएका छन् । पछिल्लो समय मह सिकार साहसिक पर्यटनको आकर्षणसमेत बन्दै गएको छ । मह सिकार अवलोकन गर्न आन्तरिक तथा बाह्य पर्यटक पुग्ने क्रम बढेपछि कतिपय स्थानमा मह सिकार उत्सवसमेत आयोजना हुन थालेको छ ।

images
images

बागलुङको गलकोट नगरपालिका–१० पाण्डवखानीस्थित रमुवामा गत शनिबारदेखि मह सिकार सुरु भएको स्थानीय सरस्वती युवा क्लबका अध्यक्ष यम बुढाले जानकारी दिए । उनका अनुसार सोमबार क्लबको आयोजनामा मह सिकार उत्सव गरिएको थियो । कार्यक्रममा गण्डकी प्रदेशसभा सदस्य दोर्णकुमार कुँवरसहित विभिन्न क्षेत्रका व्यक्तिको सहभागिता रहेको थियो ।

अध्यक्ष बुढाका अनुसार आउँदो बिहीबारसम्म मह सिकार जारी रहनेछ । यस याममा रमुवाबाट एक हजार ५०० देखि दुई हजार लिटरसम्म मह सङ्कलन हुने अनुमान गरिएको छ । भिरमौरीको मह प्रतिकिलो दुई हजार रुपैयाँसम्ममा बिक्री हुने गरेको उनले बताए । मह बिक्रीबाट भएको आम्दानी सामाजिक कार्यमा खर्च गरिनुका साथै स्थानीयवासीबीच बाँडफाँट पनि गरिन्छ ।

गलकोट–१० का पूर्ववडाध्यक्ष तिलक घर्तीले रमुवाका भिरमा प्रशस्त भिरमौरी पाइने र स्थानीयले पुस्तौँदेखि मह सिकार गर्दै आएको बताए । उनका अनुसार रैथाने सीप र परम्परागत प्रविधिबाट गरिने मह सिकार हेर्न मानिसहरू आकर्षित हुने गरेका छन् ।

बागलुङकै ताराखोला गाउँपालिका–५ स्थित जुल्फे सामुदायिक वनको मारोभिरमा पनि सोमबारदेखि मह सिकार सुरु भएको छ । वन उपभोक्ता समितिका सचिव नारायण घर्तीका अनुसार पहिलो दिन करिब ६० लिटर मह सङ्कलन गरिएको थियो । उनले यस वर्ष हिउँदमा धेरै वर्षा भएकाले मह उत्पादन कम भएको बताए ।

मह सिकार जोखिमपूर्ण काम मानिन्छ । सिकारमा १५ देखि २० जनाको टोली सहभागी हुन्छ । टोलीका मुख्य सिकारी ‘भिरौटे’ भनिन्छन्, जसले पराङमा झुन्डिएर भिरमा पुगेर मह काढ्ने गर्छन् । सिकारअघि पितृ र प्रकृतिको पूजा गर्ने परम्परा पनि रहेको छ ।

मह सिकारका लागि पराङ, सुथरी, दाबिलो, डाली, साजलगायत सामग्री प्रयोग गरिन्छ । अधिकांश सामग्री निगालो र लेकाली चोयाँबाट बनाइन्छ । मौरीको टोकाइबाट जोगिन सिकारीहरूले जाबोले अनुहार छोप्ने गर्छन् ।

स्थानीयका अनुसार संस्कृति र परम्पराका रूपमा चल्दै आएको मह सिकारलाई व्यवस्थित रूपमा पर्यटनसँग जोड्न सके ग्रामीण पर्यटन प्रवर्द्धनमा टेवा पुग्नेछ । कास्की, म्याग्दी, लमजुङलगायत जिल्लाका पहाडी भेगमा पनि भिरमौरीको मह सिकार हुँदै आएको छ ।

images
images

प्रतिक्रिया दिनुहोस्

Corporate Samachar
images images
SKIP THIS