मुस्ताङ । उपल्लो मुस्ताङ भ्रमण गर्न जाने विदेशी पर्यटकलाई सहज र सुरक्षित पदयात्रा गराउने उद्देश्यले छुसाङ–पा–ताङ्ग्या पर्यटकीय पदमार्गको मर्मत तथा स्तरोन्नति सुरु गरिएको छ । राष्ट्रिय प्रकृति संरक्षण कोष, अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) अन्तर्गत स्थानीय संरक्षण क्षेत्र व्यवस्थापन समितिहरूले पदमार्ग सुधारको काम अघि बढाएका हुन् ।
एक्याप लोमान्थाङ र जोमसोम कार्यक्षेत्रअन्तर्गत बारागुङ मुक्तिक्षेत्र गाउँपालिका–३ छुसाङदेखि लोघेकर दामोदरकुण्ड गाउँपालिका–५ ताङ्ग्यासम्मको पदमार्गमा मर्मत तथा स्तरोन्नति कार्य भइरहेको एक्याप लोमान्थाङका प्रमुख उमेश पौडेलले जानकारी दिए ।
उनका अनुसार झण्डै नौ घण्टा पैदल दूरीको उक्त पदमार्गअन्तर्गत छुसाङदेखि पासम्मको क्षेत्रमा छुसाङ संरक्षण क्षेत्र व्यवस्थापन समिति र ताङ्ग्यादेखि पासम्म सुर्खाङ संरक्षण क्षेत्र व्यवस्थापन समितिले काम गरिरहेका छन् । वैशाख १५ गतेदेखि सुरु गरिएको पदमार्ग सुधार कार्य दुई साताभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको छ ।
पदमार्ग मर्मतका लागि स्थानीय जनशक्ति परिचालन गरिएको छ भने घरेलु औजार प्रयोग गरेर काम भइरहेको छ । बर्खायाममा आउने भेलबाढी र पहिरोका कारण पदमार्ग वर्षेनि क्षतिग्रस्त हुने भएकाले नियमित मर्मत आवश्यक पर्ने प्रमुख पौडेलले बताए ।
उनका अनुसार पदमार्गका केही स्थानमा ग्याविन प्रोटेक्सन गरिएको छ भने दुई स्थानमा काठेपुल निर्माणको काम पनि गरिनेछ ।
यसैबीच, लोघेकर दामोदरकुण्ड गाउँपालिकाले पनि राष्ट्रिय रोजगार कार्यक्रमअन्तर्गत ध्ये खोलादेखि ताङ्ग्यासम्मको पदमार्ग मर्मत तथा स्तरोन्नति गरिरहेको गाउँपालिका अध्यक्ष लोप्साङ छोम्फेल विष्टले जानकारी दिए ।
उनका अनुसार राष्ट्रिय रोजगार कार्यक्रमको कार्यविधिअनुसार दैनिक ज्यालादारीमा स्थानीयलाई परिचालन गरेर पदमार्ग सुधारको काम भइरहेको छ ।
पछिल्लो समय राष्ट्रिय गौरवको कोरला सडक र शाखा सडक विस्तारका कारण मुस्ताङका परम्परागत पर्यटकीय पदमार्ग मासिँदै गएका छन् । कालीगण्डकी करिडोर सडकको पश्चिम क्षेत्रमा पर्ने छुसाङ–तेताङ–पा–ताङ्ग्या पदमार्ग उपल्लो मुस्ताङ जाने महत्वपूर्ण पदयात्रा मार्ग मानिन्छ ।
भेलबाढी र पहिरोका कारण पदमार्ग क्षतिग्रस्त हुँदा विदेशी पर्यटकले जोखिमपूर्ण यात्रा गर्नुपर्ने अवस्था रहेको थियो । पदमार्ग मर्मत तथा स्तरोन्नति गर्न विभिन्न ट्रेकिङ एजेन्सीले सम्बन्धित निकायको ध्यानाकर्षण गराउँदै आएका थिए ।
एक्यापका अनुसार हाल भइरहेको मर्मत तथा स्तरोन्नति कार्य सम्पन्न भएपछि उपल्लो मुस्ताङ जाने विदेशी पर्यटकको पदयात्रा थप सहज र सुरक्षित हुनेछ ।















प्रतिक्रिया दिनुहोस्