टीकापुर (कैलाली) । कैलालीको टीकापुर नगरपालिकाले एक साताको अवधिमा १९३ वटा फार्म तथा व्यवसायको अनुगमन गरेको छ । बजार व्यवस्थापन र उपभोक्ता हित संरक्षणका लागि गरिएको अनुगमनका क्रममा मापदण्डविपरीत प्रयोग भइरहेका ६५ किलो प्लास्टिकजन्य झोला जफत गरिएको हो ।
नगरपालिकाले गत वर्षको साउनदेखि टीकापुर क्षेत्रमा प्लास्टिकजन्य झोलाको प्रयोगमा प्रतिबन्ध लगाएको थियो । प्रतिबन्धपछि पनि लुकीछिपी प्रयोग भइरहेको पाइएपछि निगरानी बढाएर जफत गरिएको नगर कार्यालयले जनाएको छ ।
अनुगमनका क्रममा म्याद नाघेका १८ हजार ९३९ रूपैयाँ बराबरका दैनिक उपभोग्य सामग्रीसमेत जफत गरिएको छ ।
अनुगमन टोलीका सदस्य सचिव तथा आर्थिक विकास शाखा प्रमुख रञ्जु आचार्यका अनुसार ११७ किराना तथा अन्य व्यवसाय, ५२ प्लास्टिक व्यापारी र २४ मेडिकल तथा फार्मेसीमा अनुगमन गरिएको थियो ।
टीकापुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुमन धितालले अनुगमनपछि केही व्यवसायीलाई मापदण्ड पूरा गर्न निर्देशन दिइएको र केहीलाई अन्तिम चेतावनीसमेत दिइएको जानकारी दिए ।
‘व्यवसाय दर्ता नभएकालाई नवीकरण गर्न समय दिएका छौँ । नवीकरण नगरेकालाई प्रक्रियामा लगिएको छ,’ उनले भने, ‘थोक बिक्रेताका गोदाममा लाखौँ मूल्यका प्लास्टिक झोला भेटिएका छन् । ती झोला सिल गरेर अबदेखि बिक्री नगर्न निर्देशन दिएका छौँ ।’
धितालका अनुसार उपभोक्ता सचेतना कार्यक्रम पनि निरन्तर सञ्चालन भइरहेको छ । प्रत्येक उपभोक्ताले सामानको म्याद जाँच गर्न थाले उपभोक्ता अधिकार स्वतः सुरक्षित हुने उनले बताए ।
उपभोक्ता हित संरक्षण मञ्च टीकापुरका अध्यक्ष एकिन्द्र तिमिल्सिनाले अटोरिक्साको भाडादर निर्धारण, बजार क्षेत्रमा ठूलो आवाजमा बजाइने डिजे तथा लाउडस्पिकरबाट हुने ध्वनि प्रदूषण नियन्त्रण, ट्राफिक व्यवस्थापन र प्लास्टिक प्रयोग रोक्न नियमित अनुगमन गर्न आग्रह गरेका छन् ।
टीकापुर अस्पतालका फार्मेसी इञ्चार्ज जनक शाहले मेडिकल व्यवसायीलाई फोहर व्यवस्थापनमा समस्या भएकाले अस्पतालको फोहर व्यवस्थापन केन्द्रसँग समन्वय गरिदिन अनुरोध गरे ।
टीकापुर नगरपालिका स्वास्थ्य शाखा प्रमुख बलबहादुर रावलले अनुगमनपछि औषधि पसल सञ्चालकहरू दर्ताका लागि आउन थालेको जानकारी दिए । उनका अनुसार २२ वटा मेडिकललाई दर्ताका लागि समयसीमा दिइएको छ ।
‘आमाको दूध प्रतिस्थापन गर्ने वस्तु बिक्री वितरणसम्बन्धी ऐनबारे जानकारी दिएपछि व्यापारी व्यवस्थित हुन थालेका छन्,’ उनले भने, ‘अब डाक्टरको सिफारिसबिना दूधदानी, पाउडर दूधलगायत सामग्री बिक्री गर्न नदिन आग्रह गरेका छौँ ।’
वडा नम्बर १ का वडाध्यक्ष मोहन विकले बजार क्षेत्रमा करिब तीन हजार व्यवसाय दर्ता रहेको र अनुगमनपछि दैनिक पाँच वटासम्म नयाँ व्यवसाय दर्ता हुन थालेको बताए ।
उनले प्लास्टिकमुक्त अभियानअन्तर्गत टोल विकास संस्थालाई तालिम दिइएको जानकारी दिँदै बजार क्षेत्रमा मालवाहक टिपरको तीव्र गतिले दुर्घटनाको जोखिम बढाएको बताए । विद्यालय जाने र फर्कने समयमा मालवाहक सवारी सञ्चालन रोक्नुपर्ने आवश्यकता उनले औँल्याए ।

















प्रतिक्रिया दिनुहोस्