काठमाडौं । सरकारले खेलकुद पूर्वाधार विकासलाई प्राथमिकता दिँदै आगामी तीन वर्षभित्र देशका १० वटा फुटबल रंगशालाको स्तरोन्नति गर्ने घोषणा गरेको छ।
संघीय संसदको संयुक्त सदनमा आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले ८ हजार दर्शक क्षमता र फ्लड लाइट (रात्रिकालीन बत्ती) सुविधासहितका १० वटा फुटबल रंगशाला तयार पारिने जानकारी दिए।
बजेट वक्तव्यका क्रममा अर्थमन्त्री वाग्लेले देशका प्रमुख ८ वटा शहरमा आगामी ५ वर्षभित्र आधुनिक क्रिकेट रंगशाला निर्माण गर्ने महत्वाकांक्षी योजना अघि सारे। यसैगरी, लामो समयदेखि चर्चामा रहेका प्रमुख क्रिकेट रंगशालाहरूको कामलाई गति दिन नयाँ रणनीति अपनाइने भएको छ। ‘मूलपानी क्रिकेट रंगशाला तथा एकेडेमी, गिरिजाप्रसाद कोइराला क्रिकेट रंगशाला र धनगढीको फाप्ला क्रिकेट मैदानको डिजाइन पुनरावलोकन गरी सार्वजनिक(निजी साझेदारी वा उपयुक्त लगानी मोडालिटी तयार गरिनेछ,’ अर्थमन्त्रीले भने।
७ शहरमा इन्डोर मल्टिपर्पोज स्टेडियम
क्रिकेट र फुटबलबाहेक अन्य इन्डोर खेलहरूलाई प्रवर्द्धन गर्न सरकारले कभर्डहल निर्माणको योजना पनि ल्याएको छ। आगामी ३ वर्षभित्र देशका प्रमुख ७ वटा शहरहरूमा २ हजार दर्शक क्षमताका आधुनिक इन्डोर मल्टिपर्पोज स्टेडियम (कभर्डहल) निर्माण गरिने बजेटमा उल्लेख छ।इन्डोर स्टेडियम काठमाडौं, विराटनगर, लहान, बुटवल, पोखरा, सुर्खेत,धनगढी (फाप्ला)मा बन्ने उल्लेख छ ।
बजेटमा समेटिएका यी योजनाहरू समयमै कार्यान्वयन हुन सके नेपाली खेलकुदको पूर्वाधार विकासमा ठूलो फड्को मार्ने छ ।
















प्रतिक्रिया दिनुहोस्