काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) ले विदेशमा रहेका नेपाली नागरिकलाई मतदान प्रक्रियामा सहभागी गराउने विषयमा अध्ययन गरी आगामी निर्वाचनका लागि उपयुक्त व्यवस्था गर्नेबारे सरकारले छलफल गर्ने बताएका छन्।
आइतबार प्रतिनिधिसभाको बैठकमा स्वतन्त्र सांसद महावीर पुनले उठाएको प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री शाहले प्रवासी नेपालीको मताधिकार सुनिश्चित गर्न विभिन्न विकल्पबारे अध्ययन गरिने जानकारी दिए।
प्रधानमन्त्रीका अनुसार विदेशमा रहेका नेपालीले मतदान गर्न दूतावास वा कूटनीतिक नियोगमा पुगेर मत हाल्ने तथा मोबाइल वा अन्य प्रविधिमार्फत मतदान गर्ने विकल्पबारे चर्चा भइरहेको छ। ‘विदेशमा रहेका नेपालीले मतदान गर्न नेपाली दूतावासमा गएर मत दिने वा मोबाइलबाट मत दिने विकल्प हुन सक्छ,’ प्रधानमन्त्री शाहले भने, ‘मोबाइलबाट मतदान गर्दा प्रभाव पार्न सकिने जोखिमबारे विगतदेखि नै बहस हुँदै आएको छ। त्यसैले दूतावासमार्फत मतदान गर्ने वा प्रविधिमैत्री प्रणाली अपनाउने भन्ने विषयमा सरकारले अध्ययन गर्नेछ।’
उनले विदेशस्थित नेपाली नागरिकको मतदान अधिकार सुनिश्चित गर्ने विषय संवेदनशील भएकाले कानुनी, प्राविधिक र व्यवस्थापकीय पक्षको अध्ययन आवश्यक रहेको बताए। प्रधानमन्त्री शाहले यस सम्बन्धमा आवश्यक छलफल र अध्ययनपछि आगामी निर्वाचनमा के कस्तो व्यवस्था गर्न सकिन्छ भन्नेबारे निर्णय गरिने स्पष्ट पारे।















प्रतिक्रिया दिनुहोस्