काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रधानमन्त्री बालेन्द्र शाहको ‘नेपालले पनि भारतको भूमि मिचेको रहेछ’ भन्ने अभिव्यक्तिप्रति कडा आपत्ति जनाउँदै संसद्मा स्पष्टीकरण माग गरेको छ ।
आइतबार प्रतिनिधिसभा बैठकमा बोल्दै नेपाली कांग्रेसकी प्रमुख सचेतक वासना थापाले प्रधानमन्त्रीले गैरजिम्मेवार र तथ्यहीन रूपमा दुई देशको सीमाबारे संवेदनशील टिप्पणी गरेको आरोप लगाइन् । उनले प्रधानमन्त्रीको उक्त दाबी सत्य भए तथ्य र विवरण संसद्मा पेस गर्न चुनौती दिएकी छिन् भने सत्य नभए उक्त वक्तव्य संसद्को रेकर्डबाट हटाउन माग गरेकी छिन् ।
आइतबारको प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्रीले नेपाल–भारत लिपुलेक सीमा विवाद कूटनीतिक छलफलबाट समाधान गरिने प्रतिबद्धता जनाएका थिए । सोही क्रममा उनले भनेका थिए, ‘म प्रधानमन्त्री भएपछि मात्रै थाहा पाएँ, भारतले मात्र होइन, नेपालले पनि भारतको जग्गा मिचेको रहेछ।’
प्रधानमन्त्रीको यो अभिव्यक्ति लगत्तै विशेष समय लिएर बोल्दै प्रमुख सचेतक थापाले सीमाजस्तो संवेदनशील विषयमा बिना प्रमाण बोल्नु गम्भीर र आपत्तिजनक भएको बताइन् । ‘प्रधानमन्त्रीज्यूले नेपालले पनि भारतको भूमि मिचेको भन्नुभयो । नेपालले भारतको भूमि कहाँ मिचेको हो?’ उनले प्रश्न गर्दै भनिन्, ‘त्यो संसद् र आम जनतालाई अवगत गराउनुपर्यो ।’
यस्तै, उनले प्रधानमन्त्रीको भनाइ सत्य भए संसदमा तथ्य उपलब्ध गराउन तथा नभए रेकर्डबाट हटाउन माग गरिन् । ‘प्रधानमन्त्रीले तथ्यबिना दुई देशको सीमाबारे बोलेको कुरा यदि सत्य हो भने प्रमाणसहित रेकर्डमा राखिनुपर्यो। होइन र यो कुरा गलत हो भने तत्काल संसद्को रेकर्डबाट हटाइयोस्।’
नेपाली कांग्रेसले दुई देशबीचको सीमा विवाद प्राविधिक र ऐतिहासिक दस्तावेजका आधारमा कूटनीतिक तवरबाट सल्टाइनुपर्नेमा मुलुकको कार्यकारी प्रमुखबाटै यस्ता हलुका टिप्पणी आउनु राष्ट्रिय हित विपरीत हुने ठहर गरेको छ ।

















प्रतिक्रिया दिनुहोस्