काठमाडौ । नेपाल उद्योग वाणिज्य संघ काठमाडौंको वरिष्ठ उपाध्यक्ष पदमा दुर्गाराज श्रेष्ठ सर्वसम्मत चयन भएका छन्। संघको हालै बसेको कार्यसमिति बैठकले श्रेष्ठलाई सर्वसम्मत रूपमा चयन गरेको हो।
यसअघि जेठ ९ गते सम्पन्न संघको पाँचौं साधारणसभा तथा तेस्रो अधिवेशनबाट श्रेष्ठ उपाध्यक्ष पदमा निर्वाचित भएका थिए। संघको विधानमा उपाध्यक्षहरूमध्येबाट एक जनालाई वरिष्ठ उपाध्यक्ष चयन गर्ने व्यवस्था रहेबमोजिम उनलाई यो जिम्मेवारी सुम्पिएको हो।
जेठ ९ गते सम्पन्न सोही अधिवेशनले रमानाथ श्रेष्ठको अध्यक्षतामा नयाँ कार्यसमिति निर्वाचित गरेको थियो। अधिवेशनले अध्यक्षसहित सम्पूर्ण कार्यसमितिलाई नै निर्विरोध रूपमा चयन गरेको हो । श्रेष्ठ वरिष्ठ उपाध्यक्षमा चुनिएसँगै अब राजेन्द्र शेरचन र उज्ज्वल जंग शाह उपाध्यक्षको भूमिकामा रहनेछन्।
नयाँ कार्यसमितिको चयनसँगै काठमाडौंका उद्योगी तथा व्यवसायीहरूको हकहितका लागि आगामी दिनमा संघले थप प्रभावकारी कदम चाल्ने विश्वास लिइएको छ।

















प्रतिक्रिया दिनुहोस्