काठमाडौं । कुमारी बैंक लिमिटेडले अन्तर्राष्ट्रिय स्तरमा मान्यता प्राप्त सूचना सुरक्षा व्यवस्थापन प्रणालीसम्बन्धी ISO 27001 प्रमाणपत्र प्राप्त गरेको छ। यस उपलब्धिसँगै बैंकले आफ्ना सूचना सुरक्षा नीति, प्रक्रिया तथा नियन्त्रणहरू अन्तर्राष्ट्रिय मापदण्डअनुरूप रहेको पुष्टि गरेको छ।
ISO 27001 (Information Security Management System – ISMS) मा कुल ९३ वटा नियन्त्रणहरू समावेश हुन्छन्, जसलाई संस्थागत (Organizational), जनशक्ति (People), भौतिक (Physical) र प्राविधिक (Technological) पक्षमा वर्गीकरण गरिएको हुन्छ। ती नियन्त्रणहरूको प्रभावकारी कार्यान्वयन भए/नभएको स्वतन्त्र बाह्य अडिटमार्फत मूल्याङ्कन गरिएपछि मात्र प्रमाणपत्र प्रदान गरिन्छ।
बैंकका अनुसार यस प्रमाणपत्रले सूचना सुरक्षा जोखिमको पहिचान, मूल्याङ्कन तथा व्यवस्थापन गर्ने बैंकको क्षमता अन्तर्राष्ट्रिय मापदण्डअनुसार रहेको सुनिश्चित गर्दछ। साथै, ग्राहकका तथ्याङ्क सुरक्षित र गोप्य राख्ने, आवश्यक पर्दा उपलब्ध गराउने तथा अनधिकृत पहुँचबाट जोगाउने सुदृढ प्रणाली कार्यान्वयन गरिएको पुष्टि गर्दछ।
डिजिटल बैंकिङ सेवाहरूको तीव्र विस्तारसँगै साइबर सुरक्षा र डाटा गोपनीयता ग्राहक तथा सरोकारवालाहरूको प्रमुख चासोको विषय बनेको अवस्थामा बैंकले मोबाइल बैंकिङ, इन्टरनेट बैंकिङ, कार्ड सेवा तथा आन्तरिक प्रणालीहरूमा उच्चस्तरीय सुरक्षा मापदण्ड लागू गरेको जनाएको छ।
यस अवसरमा बैंकका प्रमुख कार्यकारी अधिकृत रामचन्द्र खनालले भने, ‘ग्राहकको विश्वास नै बैंकिङ सेवाको आधार हो। ISO 27001 प्रमाणपत्र प्राप्त गर्नु ग्राहकको वित्तीय सूचनाको सुरक्षाप्रति हाम्रो दृढ प्रतिबद्धताको प्रतिविम्ब हो। सुरक्षित र विश्वसनीय बैंकिङ वातावरण प्रदान गर्न हामी प्रविधि, जनशक्ति र प्रक्रियामा निरन्तर लगानी गर्दै जानेछौं।’
बैंकले नियमित जोखिम मूल्याङ्कन, कर्मचारी सचेतना कार्यक्रम, सुरक्षा परीक्षण तथा निरन्तर निगरानी प्रणालीमार्फत सम्भावित साइबर जोखिमहरूको रोकथाम, पहिचान र व्यवस्थापन गर्दै आएको जनाएको छ।
सूचना सुरक्षा एक पटकको उपलब्धि नभई निरन्तर सुधारको प्रक्रिया भएको उल्लेख गर्दै बैंकले आगामी दिनहरूमा पनि नियामक मापदण्ड तथा अन्तर्राष्ट्रिय उत्कृष्ट अभ्यासअनुसार आफ्ना सुरक्षा संयन्त्रहरू थप सुदृढ गर्दै जाने प्रतिबद्धता व्यक्त गरेको छ।

















प्रतिक्रिया दिनुहोस्