Advertisement
Advertisement
Corporate Samachar
२६ जेष्ठ २०८३, मंगलवार
Advertisement
Advertisement
विज्ञापन
Advertisement

इप्पानमा चर्कियो विवाद : नेतृत्व चयनको ‘१२ वर्षे प्रावधान’ प्रति उप–महासचिवको कडा आपत्ति

इप्पानमा चर्कियो विवाद : नेतृत्व चयनको ‘१२ वर्षे प्रावधान’ प्रति उप–महासचिवको कडा आपत्ति
विज्ञापन
Advertisement

काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान ) को २९ औं वार्षिक साधारण सभा आगामी २९ गते हुँदैछ । साधारण सभाको मिति नजिकिँदै गर्दा संस्थाको नेतृत्व कसरी चयन गर्ने भन्ने विषयमा उत्पन्न गम्भीर नीतिगत विवाद जारीनै छ । इप्पानका उप–महासचिव प्रकाश दुलालले हालको नेतृत्व चयन प्रक्रिया र विधान कार्यान्वयनको अवस्थाप्रति असन्तुष्टि व्यक्त गर्दै संस्थालाई थप समावेशी र प्रतिस्पर्धी बनाउनुपर्नेमा जोड दिएका छन् ।

विज्ञापन
Advertisement
Advertisement

इपानमा हाल संस्था दर्ता र नवीकरणको कार्य तीव्र गतिमा अगाडि बढिरहेको छ । दुलालका अनुसार जेठ २५ गतेसम्मको समयसीमाभित्र करिब ७०० सदस्यहरूले नवीकरण गर्ने अनुमान गरिएको छ । हाल नेपालमा करिब ८५० देखि ९०० सम्म सोलार र हाइड्रोपावरका लाइसेन्स जारी भएको अवस्थामा ८० प्रतिशतभन्दा बढी प्रवद्र्धकहरू इप्पानमा आबद्ध हुनुले यसको गरिमा र छाता संगठनको भूमिकालाई पुष्टि गरेको दुलालको भनाइ छ । तीन वर्षअघि साढे ४०० को हाराहारीमा रहेका सदस्य संख्या ७०० पुग्नुलाई उनले इप्पानको आकर्षण र ऊर्जा क्षेत्रको विकासको रूपमा अथ्र्याएका छन् । इप्पानको आगामी साधारण सभा केवल औपचारिक कार्यक्रम मात्र नभई नयाँ कार्यसमिति चयन गर्ने निर्वाचनको थलो समेत हो ।

तर, कुन विधानका आधारमा निर्वाचन गर्ने भन्ने विषयमा संस्थाभित्र दुई धार स्पष्ट देखिएका छन् । २१ औं साधारण सभादेखि नै इप्पानको विधानमाथि प्रश्न उठ्दै आएको थियो । संस्थालाई समावेशी बनाउन र सबैको अपनत्व महसुस गराउन सल्लाहकार भानुभक्त पोखरेलको संयोजकत्वमा विधान संशोधन र पुनर्लेखन समिति गठन गरिएको थियो ।

उक्त समितिले तयार पारेको र २३ औं वार्षिक साधारण सभाले सर्वसम्मत रूपमा पारित गरेको नयाँ विधान अहिलेसम्म कार्यान्वयनमा आउन नसक्नु विवादको मुख्य जड बनेको छ । पारित विधानलाई जिल्ला प्रशासन कार्यालयमा दर्ता गरेर कार्यान्वयनमा लैजानुपर्नेमा कार्यसमितिकै केही सदस्यहरूको अनिच्छाका कारण त्यो प्रक्रिया रोकिएको दुलालको आरोप छ ।

उप–महासचिव दुलालका अनुसार, २१ औं साधारण सभाअघिको विधानमा स्वतः अध्यक्ष हुने प्रावधान छ, जसले गर्दा एकजना व्यक्ति अध्यक्ष बन्न कम्तीमा १२ वर्ष लाग्छ । ‘एक कार्यकाल सदस्य, त्यसपछि पदाधिकारी, अनि वरिष्ठ उपाध्यक्ष र त्यसपछि मात्र स्वतः अध्यक्ष हुने व्यवस्था छ,’दुलाल भन्छन,‘यस्तो व्यवस्थाले गर्दा एउटा क्षमतावान र जोस–जाँगर भएको व्यक्ति नेतृत्वमा पुग्न १२ वर्ष कुर्नुपर्ने अवस्था लोकतान्त्रीक भएन् । यो त लोकसेवा पास गरेर बढुवा हुँदै सचिव भएर रिटायर्ड हुने प्रक्रिया जस्तो भयो । यसले संस्थामा नयाँ र योग्य नेतृत्वको ढोका बन्द गरिदिएको छ ।’

उनले २३ औं साधारण सभाले पारित गरेको विधान अनुसार एक कार्यकाल सदस्य भएको व्यक्ति अध्यक्षमा उठ्न पाउनुपर्ने र अन्य पदाधिकारी पदहरू खुला प्रतिस्पर्धाबाट छानिनुपर्ने अडान राखेका छन् । ‘यदि हामीले इप्पानलाई गतिशील बनाउने हो भने युवा र क्षमतावान साथीहरूलाई सिधै पदाधिकारीमा आउने बाटो खोल्नुपर्छ । खुल्ला प्रतिस्पर्धाबाट डराउनेहरूले मात्र पुरानो विधानको संरक्षण गर्न खोजिरहेका छन्,’ उनले थपे ।

महासंघमा रूपान्तरण र प्रादेशिक संरचनाको एजेन्डा

इप्पान अब केवल जलविद्युत उत्पादकहरूको मात्र संस्था रहेन । यसमा सोलार, बायोमास, हाइड्रोजन र निजी क्षेत्रबाट प्रसारण लाइन निर्माण गर्ने कम्पनीहरू समेत थपिँदै गएका छन् । यही आवश्यकतालाई मध्यनजर गर्दै इपानलाई महासंघमा रूपान्तरण गर्ने प्रस्ताव २३ औं साधारण सभाले पारित गरिसकेको छ ।

नेपाल संघीय संरचनामा गइसकेको र सातै प्रदेशमा सम्बन्धित मन्त्रालय तथा कानुन निर्माण गर्ने निकायहरू रहेकाले इप्पानको प्रादेशिक संरचना अनिवार्य भइसकेको दुलालको तर्क छ । उनी भन्छन्, ‘हामीले प्रदेश कमिटीहरू बनाएर यसलाई महासंघमा लैजाने प्रतिवेदन पारित गरिसकेका छौँ । तर, अहिलेको कार्यसमितिका कतिपय साथीहरूले नयाँ विधान दर्ता नगरेर यी सबै सुधारका कार्यहरूलाई अवरुद्ध पार्नुभएको छ ।’

निर्वाचन र भावी समीकरण

निर्वाचनको प्रक्रियाका सन्दर्भमा हालका महासचिव बलराम खतिवडाले पनि विवादका बीच निर्वाचन गर्नुभन्दा कानुनी समाधान खोजेर अगाडि बढ्नुपर्ने प्रस्ताव राखेका छन् । यद्यपि, केही सदस्यहरूले पुरानै विधानका आधारमा पद बाँडफाँड गरेर प्यानल घोषणा गरिसकेका छन् । दुलालले भने आफूहरूले अहिलेसम्म कुनै टिम घोषणा नगरेको र पहिला नीतिगत स्पष्टता हुनुपर्ने बताएका छन् ।

‘हाम्रो लडाइँ पदका लागि होइन, प्रक्रिया र प्रणालीका लागि हो,’ दुलालले प्रस्ट पारे । उनले वर्तमान महासचिव बलराम खतिवडाले आफ्नो एजेन्डा ९विधान संशोधन र खुला नेतृत्व० लाई अगाडि बढाउने प्रतिबद्धता जनाएकाले उनलाई समर्थन गरेको खुलाए । उनले अर्का आकांक्षी उत्तम भ्लोनलाई पनि स्वतः हुने अडान छोडेर लोकतान्त्रिक प्रक्रियामा आउन आग्रह गरेका छन् ।

७०० सदस्यमध्येबाट जोसुकै योग्य व्यक्ति उम्मेदवार बन्न पाउनुपर्ने र निर्वाचनको माध्यमबाट नेतृत्व छनोट हुनुपर्नेमा उनको जोड छ । ‘यदि मैले राम्रो काम गरेको छु भने म चुनाव जित्छु, होइन भने हार्छु । तर, बाहिरबाट आउन चाहने सक्षम साथीहरूलाई निषेध गरेर सिन्डिकेट लाद्नु हुँदैन,’ दुलालले भने ।

अहिले २५ गतेपछि निर्वाचनको थप सूचना प्रकाशित हुने भनिए पनि इप्पानभित्रको यो विधान विवादले साधारण सभाको वातावरणलाई तरंगित बनाएको छ। ऊर्जा उत्पादकहरूले यस पटकको साधारण सभालाई केवल नेतृत्व फेर्ने अवसरका रूपमा मात्र नभई इप्पानको भविष्यको दिशा तय गर्ने महत्वपूर्ण मोडका रूपमा हेरिरहेका छन् ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit