Advertisement
Advertisement
Corporate Samachar
९ जेष्ठ २०८३, शनिबार
Advertisement
Advertisement
विज्ञापन
Advertisement

आगामी बजेट करका दरमा व्यापक हेरफेर गरेर सुस्त अर्थतन्त्रलाई चलायमान बनाउनेगरी आउनुपर्छ : दिनेश श्रेष्ठ (अन्तर्वार्ता)

आगामी बजेट करका दरमा व्यापक हेरफेर गरेर सुस्त अर्थतन्त्रलाई चलायमान बनाउनेगरी आउनुपर्छ : दिनेश श्रेष्ठ (अन्तर्वार्ता)
विज्ञापन
Advertisement

काठमाडाैं। यतिबेला सरकार आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेट लेखनको तयारीमा जुटेको छ । मन्त्रालयगत छलफलसँगै निजी क्षेत्रहरुसँग पनि नीति तथा कार्यक्रम र बजेटको सुझाव माग्ने र छलफल गर्ने कार्य गरिररहेको छ । देशमा दुईतिहाईको सरकार बनेको करिब ९ महिना पुगेको छ । सुरुवाती दिनमा उत्साहित देखिएका निजी क्षेत्र व्यवसायीहरु पुनः निराश छन् । देशमा आर्थिक मन्दी कायमै रहेको छ । बैंकमा प्रशस्त तरलता छ, तर लगानी बढ्न सकेको अवस्था छैन । हेर्दा सबै ठिकठाक देखिएको छ तर, निराशा व्याप्त छ । अबको बजेट र निजी क्षेत्रको चाल्नुपर्ने भूमिकामा केन्द्रित रहेर नेपाल उद्योग वाणिज्य संघ काठमाडौंका अध्यक्ष निदेश श्रेष्ठसँग कर्पोरेट समाचारका लागि भोजराज भण्डारीले गरेको कुराकानीको सारः

विज्ञापन
Advertisement
Advertisement

तपाईंको पछिल्लो कार्यकाल उद्योग वाणिज्यको क्षेत्रमा कसरी वितिरहेको छ ?
उद्योग वाणिज्य संघ काठमाडौंमा आवद्ध रहेर उद्योगी व्यवसायीका हक र हित लगायत मेरो कार्यकालमा सकारात्मक प्रभावपार्ने गरी काम भएका छन् । बाँकी रहेको कार्यकाललाई पनि अझै उद्योग व्यवसायीकै क्षेत्रमा डटेर काम गर्छु । यो संस्थालाई हामीले क्यापिटल चेम्बरको रुपमा स्थापित गरेका छौं र संघीय सरकारसँग सहज छलफल गछौं । हामीले सरकारलाई नीति निर्माण तय गर्नका लागि सुझाब दिन्छौं र व्यवसायी हितको लागि आवाज उठाइरहन्छौं ।अहिले सानासाना व्यवसायीहरुलाई डिजिटल रुपमा उनिहरुको पहुँच पुर्‍याउन सहजता प्रदान गर्न खोजेका छौं । हामीले सबै साना व्यवसायीलाई समेट्ने गरी उनिहरुको व्यवसायलाई डिजिटल पहुँचसम्म पुर्‍याउन फरक ढंगले सोचेर एउटा ‘प्याटफर्म’ बनाएरहेका छौं ।  त्यो आगामी बैशाखदेखि ‘डिजिटल एक्स्पो ’ भनेर उक्त कार्यको सुरुवात गरिरहेका छौं ।  हामीले त्यो ‘प्याटफर्म’ लाई देशकै उद्योगी व्यवसायीको साझा पहुँच स्थापित गर्ने थलो बनाउँछौं । प्रत्येक जिल्लाको मुख्य उत्पादनलाई त्यसमा उपलब्ध गराएर देशदेखि विदेशसम्म उक्त वस्तुको बिक्री, निर्यात स्वयं उत्पादनकर्ता र खरिदकर्ताले सहज रुपमा गर्न सक्ने गरी सेतुको रुपमा काम गर्न सक्ने प्याटफर्म विकास गरेका छौं , एक महिनापछि त्यो आउँछ । यो प्रयास धेरै व्यवसायीलाई डिजिटल पहुँच प्रदान गर्न सफल हुनेछ भन्ने हामीले विश्वास लिएका छौं । प्रदेशले त बजेट नै छुट्याइदिएको छ ।

तपाईंहरु ( निजीक्षेत्र) गत असारमा दुईतिहाईको सरकारबन्दा एकदम धेरै उत्साहित हुनहुन्थ्यो, त्यसपछि फेरि सुस्ताउनु भयो  नि। लगानी बढ्न सकेको अबस्था छैन, किन निरुत्साहित देखिएको यस्तो? 
अर्थतन्त्रलाई माग र आपूर्तीको अवस्थाले कतिपय हिसाबमा निर्धारण गर्छ ।कोभिड अगाडि जस्तो बजार चलायमान भएको थियो, जति वस्तुको माग थियो, कोभिडपछिको अवस्थामा माग घटेको छ । आन्तरिक खपत कम भएको छ । दैनिक विदेशीने युवाको संख्याले पनि देशको वस्तु तथा सेवा उपभोग गर्ने जनशक्तिको कमीलाई दर्शाउँछ । दैनिक उपभोग्य वस्तुको मागमा कमी आएको छ । सरकारले मूल्य मात्र हेर्छ । आयात बढेको छ भनिरहँदा डलरको भाउ बढेकाले धेरै भार परेजस्तो भएको हो तर, परिमाणको रुपमा हेर्ने हो भने त्यो आयात धेरै वृद्धि भएको छैन । वास्तवमा बजारमा माग कम छ तर, सामानको स्टक धेरै छ । अर्को पक्ष भनेको प्रविधिको विकासले उपभोक्ताले उपभोग गर्ने वस्तु तथा सेवाको स्वरुपमा परिवर्तन आएको छ । यसै त उपभोक्तासँग खरिदगर्ने क्षमता कम छ । तीन करोडको जनसंख्या सानो होइन, राज्यले नीतिगत रुपमा यो जनसंख्यालाई उचित परिचालन गर्न सक्यो र अवसरहरुको सिर्जना गर्ने हो भने आर्थिक चलायमान हुन समय लाग्दैन । तर, राज्य सञ्चालको जिम्मेवारी बोकेकाले त्यतातिर ध्यान दिएर काम नगर्दा हामीजस्ता उद्योगी व्यवसायी र युवामा निराशा छाएको हो ।

बैंक तथा वित्तीय संस्थामा प्रशस्त लगानीगर्ने तरलता छ । व्याजदर पनि एकल अंकमा झरेको छ । निजी क्षेत्रहरु लगानी बढाउन तयार छैनन्, समस्या कहाँ भएको हो ?
समस्या एकतिरको मात्र होइन । सबैतिरको हो । बैंकहरुले हिजोको दिनमा पाएको चोटलाई भुल्न सकेका छैनन् । जति नै लगानी गर्न सक्ने तरलता छ भने पनि निकै संवेदनशील र सावधान भएर मात्र लगानी गरिरहेका छन् । पैसा माग्दैमा दिइहालेको अवस्था छैन । हिजो बैंकहरुले व्यक्तिको मुख हेरेर पैसा दिन्थे आज अहिले बैंकहरुले प्रोजेक्ट हेरेर धितोको आधारमा लगानी गर्छन । बैंकमा धितो राखेको सम्पति भोली लगानी गरेपछि फाइदा हुन्छ, डुब्दैन भन्ने निश्चित भयो भने मात्र व्यवसायीले लगानी गर्छन् । अर्कोतर्फ देशमा व्यवसायीले उद्यम गरेर आर्जन गरेको सम्पति गलत गरेर कमायो, नेता र पार्टीको पक्कै साथ पाएको छ भन्ने जस्ता नकारात्मक विचार र भाष्य समाजमा सिर्जना गरिएको छ । गलत काम गरेर आर्जन गर्नेलाई राज्यका नीति कानुनले सुधार हो व्यवसायीले गरेको मेहनतलाई रिस गर्ने होइन, उनीहरुलाई हौसला दिने हो । मुख्य कुरा यसमा परिवर्तन आवश्यक छ ।

अब राज्यले शिक्षा र आर्थिक क्षेत्रमा आमूल परिवर्तन हुने खालका नीति कार्यक्रम ल्याउनुपर्छ । अबको बजेट यस्तो आउनुप¥यो कि सबै नागरिकमा खुशी छाओस्, हामी धनि बन्छौ भन्ने आशा नागरिक देखि व्यवसायीसम्मले बजेटमार्फत गर्न सक्ने अवस्था होस् । अब त्यो आशा नागरिकलाई दिने कि नदिने त्यो अर्थमन्त्रीको हातमा छ । उहाँले जस्तो नीति लिनुहुन्छ उस्तै उस्तै प्रभाव हामीमा पर्ने हुन्। अबको बजेटमा आगामी १० वर्षसम्म जतिपनि भन्सारबाट सामान उद्योगीहरुले ल्याउँछन् सबैमा भन्सार कम गर्दिनुपर्छ । त्यो दर ५ प्रतिशतमा झारिदिनुपर्छ । सरकारले जुन स्तरमा सोचेर नीति बनाउँछ, कार्यान्वयनको तहमा आउँदा त्यो सोच ठिक उल्टो हुन्छ ।
राज्यले भन्सारमा कर बढाएर मात्र राजस्व बढी संकलन हुने होइन । सरकार आफैंँले ४५ प्रतिशत राजस्व चुहावट भयो भनिरहेकै छ । अर्थमन्त्रीले त्यो दरलाई २० वा ३० प्रतिशतमा झार्न सकेको खण्डमा अर्को वर्ष चुहावट दर झन् कम गर्छौ भन्ने गरी अर्थमन्त्री लाग्नु पर्छ । राजस्व छली गर्नेलाई कारवाही गरेँ भन्ने विषय गर्व गर्ने विषय होर ? चुहावट एकै कारणले हुन्छ भन्ने छैन्, त्यस्तो खालको भाष्य बनाउनु हुँदैन।

अहिले खुला बजारमा हामी प्रवेश गर्न आफूलाई सक्षम बनाउनतिर लाग्ने बेला हो । विश्वका प्राय सबै देश खुला बजारमा ट्रेड गर्छन् । हिजोको दिनमा नेपालबाट चामल निर्यात नहुँदा भारतको उत्तर प्रदेश, बिहारलगायतका प्रदेशमा भोकमरीको अबस्था सिर्जना हुन्थ्यो । आज उतैबाट हामी सबैभन्दा धेरै धान \चामल निर्यात गर्छौ । भारतबाट चामल आएन भने नेपालीले भात खान नपाउने जस्तो अवस्था कसले बनायो ? यो चिन्ता र चिन्तनको विषय हो । यसबाट हामीले मुक्ति पाउने हो भने अर्थमन्त्रीले चाहानुमात्र पर्छ ।

कर्मचारीतन्त्रले विगार्न खोजेको नेपालको उद्योगलाई अर्थमन्त्रीले आँखा चिम्लिएर काम गर्न सक्नुपर्छ भन्ने मलाई लाग्छ । विगतका एक अर्थमन्त्री महेश आचार्यले उद्योगले आयात गर्ने सबै वस्तुमा बिक्रीकर ५० प्रतिशत छुट गरिदिएका थिए । त्यस्तै, नयाँ बजेटमा आक्रमक ‘प्लान’ लिएर अर्थमन्त्री आउनुपर्छ । कर्मचारीको कुरामा मन्त्री बहनु हुँदैन, अरु बाहिरको पक्षको समर्थन मन्त्रीले गर्ने होइन, मन्त्रीको सोचमा कर्मचारीलाई काम लगाउन सक्नुपर्यो । अब उद्योगका लागि आवश्यक कच्चा पदार्थ, सहायक कच्चा पदार्थ वा तयारी सामान बनाउने मेसिन लगायतका कुरा उद्योगी व्यवसायीले मगाउँछन भने ३३ प्रतिशत भन्सार लगाउने होइन श्रीलंकाले जस्तो ५ प्रतिशत गर्नुपर्छ । श्रीलंकाले उत्पादनमुखी र औद्योगीक सामाग्रीमा ५ प्रतिशत कर लगाएर राज्यभित्र उत्पादनमुखी वातावरण निर्माण गरेको छ । मेसिन आयात गर्ने हो भने भन्सार नै लाग्दैन । त्यस्तो खालको कार्यक्रम अबको बजेटमा आउनुपर्यो । अहिले राज्य आफैँ झुटो बोल्दै बसेको छ । अर्थमन्त्रालयले भ्याट (मूल्य अभिवृद्धि) कर लगाउँदाखेरी निजी क्षेत्रले त्यसको ठूलै विरोध गरेका हौं । सरकारले अरु सबै कर हटाउँछौ मूल्य अभिवृद्धि कर नै प्रमुख सोर्स हो भनेर हामीसँग भएको थियो । त्यो मुख्य ‘सोर्स’ कार्यान्वयनमा ल्याउनलाई सरकारको कर्मचारीतन्त्र नै असफल भयो ।

मुख्यत सरकारले भुक्तानी गर्न नसक्नु, बजारमा माग कम हुनु र बैंकहरुमा बढेको तरलता व्यवस्थापन हुन नसकेको पक्षमा गृहकार्य गरेरै एउटा निश्चित योजना बनाएर आगामी १० वर्षसम्म त्यो योजना र नीति कार्यक्रम जुनसुकै सरकार वा अर्थमन्त्री आएपनि परिवर्तन हुँदैन ढुक्कले काम गर्नुस् जनतालाई उत्पादनमुखी क्षेत्रमा लगाउँ, उनिहरुलाई सहयोग गरौं, जनताले कमाउनुपर्छ भनेर सरकारले भन्न सक्नुपर्छ । निजी क्षेत्र र सरकार दुबैले मिलेर काम गर्नुपर्छ उद्योगीलाई भरोसा दिनुपर्छ ।

अबको बजेटले करको प्रसंग जस्तै कुन कुन क्षेत्रमा कस्ता विषयलाई प्राथमिकतामा राखेर नीति कार्यक्रम समावेश भयो भने निजी क्षेत्रसँगै देशको अर्थतन्त्रमा सुधार हुन्छ भन्ने छ ?

एक दुई बुँदाको कुरा होइन, बजेट आउँदा राज्यको प्रत्येक अंग, सारा नेपाली जनता हामी धनी बनाउन  चाहान्छौं भन्ने कुरामा विश्वस्त गर्नुपर्यो । चन्द्रागिरीको पहाडमा व्यवसायीले लगानी गरेको छ । सरकारले अनुमति दिएरै लगानी गरेको हो नि । त्यहाँ मात्र होइन अन्य ठाउँका पहाडमा पनि विकास गर्न दिनुपर्यो । अब हाइड्रोको क्षेत्र पनि अर्को तीस वर्षमा राज्यलाई पनि दिन्छु आफूँ पनि लिन्छु भनेर लगानी गरिराखेका छन् नि । निजी क्षेत्रले हिजो मेडिकल कलेजको पूर्वाधारमा लगानी गर्योे आज कलेजहरुले धेरै कमाए, अर्को पटक ट्रस्टमा खोल्नुपर्छ भनेर कानुन बनाउन खोजिराखेको छन् । आज हाइड्रोपावरमा लगानी गर्ने सबैलाई भोली पानी देशको हो ट्रस्टमा जानुपर्छ भन्ने हो भने के गर्ने ?यो खाले अनिश्चितताको बीचमा काम गर्न सकिँदैन । एउटा यस्तो अटोक्रेस आउनुपर्यो जसको भिजन स्पष्ट होस्, सिद्धान्त सधैं क्लियर होस्।

उत्तर दक्षिणको खुला व्यापार नाकालाई राज्यले सिल गर्न सक्नुपर्यो भन्सारले गरेको काममै राज्य विश्वस्त छैन । आफ्नै कर्मचारीप्रति विस्वास छैन । भन्सारमै राजस्व अनुसन्धान सामान ल्याउने व्यवसायीमाथि भन्सार अधिकारी त्रुटी देखाउने राजस्व अनुसन्धान अनि कोही आफ्नै कर्मचारीले गल्ती गर्यो भने उसलाई जेलमा राख्न सक्ने कि नसक्ने ? कर्मचारीले जति काम गर्छन् सबैले असल नियतले गर्छन्, व्यवसायीले चाँही खाली चोरी नियत राख्छ भन्ने कानून भोली बन्नु भएन । हामीले पनि नागरिकलाई सस्तो मूल्यमा सामान दिन्छौ भनेर नै काम गरेका हौं, ठग्नै मात्र आएका हुन् भन्ने वातावरण निर्माण गर्नु भएन । हामीले संसारभरिबाट सामान ल्याउने हो । व्यवसायीले भन्सार छली गर्छन भन्नेले चेक गर्ने फोर्सलाई बलियो बनाएर काम गर्नुपर्यो । जहाँबाट भन्सार छली हुन्छ सरकारले त्यहीबाट नियन्त्रण गर्नुपर्छ । अर्थमन्त्रालयले गैर कानुनी व्यापार बन्द गर्ने हो । त्यसका लागि कर्मचारीतन्त्रको सहयोग लिएर कडाइका साथ काम गर्न सक्नुपर्यो । मन्त्रालयले राजस्व छली, चोरी गर्नेलाई द्दण्डित गरेँ भनेर खुशी हुने कि त्यस्तो छली निरुत्साहित गर्न सफल भयौं भनेर तथ्यांक दिने ? राजस्व चुहावट रोकेर काम गर्ने सहज वातावरण निर्माण गर्ने हो भने देश विकास हुन्छ ।

वाणिज्य विभागको महानिर्देशक २ करोड राजस्व संकलन जरिवानाबाट संकलन गरेँ भने भने उहाँले गर्व गर्नेकि उहाँको असक्षमता हामीले मान्ने ? जरिवाना गर्नु भनेको त बजारमा भन्सारले राजस्व छलीका सामान मनपरि छोडेको छ, उपभोत्ताले गुणस्तरीय सामान पाउन सकेका छैनन र बजारमा व्यवसाय गर्न सक्ने अवस्था छैन भन्ने कुरा दर्शाउने होइन र ? कर्मचारीले त जरिवाना उठाउनै सकिएन वा साह्रै न्यून मात्रामा राजस्व उठ्यो जरिवानाबाट, देशभरिको बजारको अवस्था राम्रो छ भन्न सक्ने स्थानमा पुर्याउन उहाँलाई जिम्मेवारी दिइएको होइन ? यस्तै, उद्योग मन्त्रीले देशमा यति उद्योग धन्दा सञ्चालन गराए, उत्पादन वृद्धि भयो भन्ने कि देशमा भएका उद्योग पनि बन्द भएको वा वस्तु आयात बढेको मा गर्व गर्ने त ? कृषि उत्पादन वृद्धि गर्न नसक्ने कृषि मन्त्रीलाई हामीले सम्मान गर्ने कि सक्षम व्यक्तिलाई त्यो स्थान सुम्पने ? अर्थतन्त्रको सुधारमा नेतृत्वले नै ठूलो भूमिका निर्वाह गर्छ । यस्ता विषयलाई यदी नयाँ बजेटले समेट्यो भने मात्र अर्थतन्त्र र बजारमा सुधार आउन सक्छ ।

निजी क्षेत्रले भएका कानून प्रभावकारी र लगानीमैत्री भएन भनेरै सरकारले पाँच वटा अध्यादेश ल्यायो। ४ वटा प्रमाणीकरण नै भैसकेका छन् । त्यसलाई लिएर निजी क्षेत्र उत्साहित छौं भनिरहँदा तपाईंले कसरी विष्लेषण गर्नुभएको छ ?

अध्यादेश ल्याएर सरकारले सुधारको कामलाई सुरुवात गर्यो भन्ने कुरामा हामी उत्साहित भएका हौं । विदेशी लगानीका विषयलाई लिएर हामीकहाँ नियन्त्रणमुखी कानून थियो । अध्यादेशमार्फत केही सहज बनाउँदै लैजाने प्रयास भएको छ । विदेशी लगानीकर्ताका लागि एक्जिट पोलिसी नै नभएपछि लगानी गर्न हामीकहाँ को आउँछ ? विगतमा कानूनमा थुप्रै समस्याहरु थियो । नियन्त्रणमुखी कानूनलाई सहज बनाउँदै जाने हो । सरकारले भन्सार ऐनमा जरिवानालाई २ \५ सय प्रतिशत पुर्याउने तर, कार्यान्वयनमा फितलो गर्ने प्रवृति त्याग्नुपर्छ । कर्मचारीले गरेको सबै काम ठिक व्यवसायीले गरेको जति सबै गलत नियतले गरेको भन्ने भाष्यलाई कसले कहिले हटाउने हो ? चोरीको नियत राख्ने व्यवसायीले भन्सारका कर्मचारीलाई आफ्नोमा ल्याउँदैनन्, बाँडौं भन्दैनन् ? त्यत्तिकैमा राजस्व चुहावट रोकिन्छ ? झन् गलत गर्नेको संख्यामा वृद्धि हुँदैन ? गलत काम गर्ने सधैं गलत नै हुन् कानून सबैलाई बराबर लाग्नुपर्छ । राज्यले १३ प्रतिशत लगाउँदै आएको भ्याटको दरलाई १० प्रतिशतमा झार्नुपर्छ । कि त सरकारले जनतालाई धनी बनाउनुपर्यो नत्र भने जनताले कर तिर्न सक्ने गरी लगाउनुपर्यो । रसरकारले अबको बजेटमा करलाई विशेष ध्यान दिनुपर्छ । अन्तशुल्क लगाउनै हुँदैन । भैरहेको मूल्य अभिवृद्धि करलाई १० प्रतिशतमा झारेर पूर्ण कार्यान्वयन गर्नुपर्छ । मुख्य कुरा सरकारको एउटा अंगले गरेको निणर्यलाई अर्को अंगले मान्नुपर्छ ।

दुई तिहाइको सरकार बनेपछि उकालो लागेको सेयर बजारले पछिल्लो समय ओरालो यात्रालाई निरन्तरता दिएको छ । बजार, अर्थतन्त्रको शिथिलता र अधिक तरलता जस्ता विषयले प्रभाव पारेको आँकलन बाहिर भैरहेका छन् । तपाईंहरुले यसलाई कसरी हेर्नुभएको छ ?

शेयर बजार भन्ने कुरा संसारभर नै अनौठो लयमा चल्ने बजार रहेछ । यसमा एउटै सानो रिपोर्टले पनि कम्पनीलाई उठाउन र डुबाउन पर्याप्त हुन्छ । एउटा डिपसिक एपले अमेरिकी ठूला कम्पनीको मार्केट कसरी क्षणभरमै ध्वस्त बनाइदियो भन्ने पछिल्लो उदाहरण बुझ्नलाई काफी छ । कुनै पनि कम्पनीले गर्ने काम र उसले सेयरधनिलाई दिलाउने भरोसा नै बजारको लागि सबैभन्दा ठूलो र महत्वपूर्ण कुरा रहेछ । कतिपय अवस्था नेपाली बजारमा नाफा नै नभएको कम्पनीको सेयर प्रिमियममा बेच्न दिएर नियमनकारी निकायले कमजोरी गरेको हो । यो सेयर बजार, घरजग्गा खरिद बिक्रीमा जुन विकृति भएको छ, त्यो सबैको भरपाइ अन्तत अर्थतन्त्रले नै सुधार गर्नुपर्छ । त्यो भनेको हामी जनताले काहीँ न कतैबाट त्यसको असर भोग्नुपर्छ । कुनै एक व्यक्तिले एक रुपैयाँ मात्रै घुस खाएको छ भने पनि त्यसले बजारको मूल्यलाई एक रुपैयाँले नै बढाउँछ अर्थतन्त्र भनेको यो हो । यसको मर्मलाई सबैले बुझेर सेयर मार्केटको ओरालो यात्रालाई सेवोन लगायतका सरोकारवालाले सुक्ष्म अध्ययन गरी दिर्घकालीन समाधानको बाटोमा अगाडि बढाउनुपर्छ। सेयर बजारलाई राजनीतिक प्रभाव पर्न दिने होइन अन्तर्राष्ट्रिय विज्ञहरु ल्याएर अध्ययन र बहस गरी बजारलाई बलियो बनाउनतिर लाग्नुपर्छ ।

 

 

साझा: Facebook X WhatsApp Telegram
भाेजराज भण्डारी

भाेजराज भण्डारी

संचालक सम्पादक

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit