काठमाडाैं। कृषि क्षेत्रमा चार दशकभन्दा लामो अनुभव हासिल गरेका दुर्गाप्रसाद दाहाल नयाँ कृषि प्रविधि, उपकरण तथा औजार किसानसम्म पु¥याउने अभियानमा सक्रिय छन्। वि.सं. २०३८ सालदेखि कृषि व्यवसायमा संलग्न उनी सुरुमा जनकपुरस्थित रत्नपिड शाखामा कार्यरत थिए। वि.सं. २०४१ सालदेखि आफ्नै व्यवसाय सुरु गरेका उनले दाहाल ट्रेडिङमार्फत किसानलाई नयाँ प्रविधि र उपकरणसँग परिचित गराउँदै आएका छन्।
बजारमा उपलब्ध नभएका र किसानको कामलाई सहज बनाउन सक्ने उपकरण विभिन्न देशबाट खोजेर नेपाल भित्र्याउनु उनको व्यवसायको विशेषता हो। आगामी मंसिर ४, ५ र ६ गते भृकुटीमण्डपमा आयोजना हुने कृषि मेलाको सन्दर्भमा दाहालसँग कृषि उपकरणको बजार, सरकारी नीति, व्यवसायका चुनौती र भावी योजनाबारे दाहाल ट्रेडिङका प्रोप्राइटर दुर्गाप्रसाद दाहालसँग गरिएको कुराकानीको सम्पादित अंश :
तपाईंको कृषि व्यवसायसँगको यात्रा कसरी सुरु भयो ?
म वि.सं. २०३८ सालदेखि कृषि क्षेत्रसँग सम्बन्धित व्यवसायमा संलग्न छु। सुरुमा जनकपुरस्थित रत्नपिडको शाखामा काम गरेको थिएँ। त्यसपछि वि.सं. २०४१ सालदेखि आफ्नै पसल सञ्चालन गरेर व्यवसाय सुरु गरेँ। अहिले दाहाल ट्रेडिङमार्फत कृषि क्षेत्रमा आवश्यक उपकरण तथा औजारको व्यवसाय गर्दै आएको छु। बिन्दवासिनीसँग पनि आबद्ध भएर काम गरिरहेको छु। अहिले म दाहाल ट्रेडिङको प्रोप्राइटरका रूपमा कार्यरत छु।
आगामी मंसिर ४ देखि ६ गतेसम्म भृकुटीमण्डपमा आयोजना हुने कृषि मेलामा तपाईंको सहभागिताको उद्देश्य के हो ?
मेरो व्यवसायको मुख्य उद्देश्य किसानलाई बजारमा उपलब्ध नभएका नयाँ प्रविधि र उपकरणसँग परिचित गराउनु हो। मेरो मान्यता के छ भने कुनै पनि नयाँ वस्तु मानिसले नदेखेसम्म त्यसको उपयोगिता र महत्व बुझ्न सक्दैन। देखेपछि मात्रै त्यसलाई कसरी प्रयोग गर्ने र त्यसबाट के फाइदा लिन सकिन्छ भन्ने जानकारी हुन्छ।
त्यही सोचका साथ हामी विभिन्न देशमा आयोजना हुने कृषि मेला तथा प्रदर्शनीमा पुगेर नयाँ प्रविधि र उपकरण खोज्ने गर्छौं। आवश्यक ठानेका सामान बिक्री हुन्छन् वा हुँदैनन् भन्ने निश्चित नभए पनि खरिद गरेर नेपाल ल्याउने र किसानलाई देखाउने गरेका छौं ।
उदाहरणका लागि इजरायलबाट सुरु भएको एउटा नयाँ कृषि प्रविधि नेपालमा भित्र्याउने क्रममा सम्बन्धित पक्षले खोजेका उपकरण हामीले उपलब्ध गराएका थियौं । अहिले उनीहरू आफैं पनि त्यस्ता प्रविधि निर्माण तथा बिक्री गर्न थालेका छन्। यसले नयाँ प्रविधि भित्र्याउने हाम्रो प्रयासको महत्त्व देखाउँछ।
तर नेपालमा नयाँ प्रविधि र उपकरण भित्र्याउने व्यवसायीलाई पर्याप्त प्रोत्साहन छैन। भारतमा नयाँ प्रविधि वा उत्पादन विकास गर्ने उद्यमीलाई सरकारले प्राथमिकता दिने र निश्चित समयसम्म उनीहरूको उत्पादन खरिद गर्ने व्यवस्था पनि छ। नेपालमा भने एउटा व्यवसायीले नयाँ वस्तु देखाउने र अर्कोले त्यसको नक्कल गरेर बिक्री गर्ने प्रवृत्ति देखिन्छ। यसले नयाँ वस्तु भित्र्याउन लगानी गर्ने व्यवसायीलाई निरुत्साहित बनाएको छ। यद्यपि, मैले सुरु गरेको उद्देश्यलाई अहिलेसम्म निरन्तरता दिइरहेको छु।
यसपटकको कृषि मेलामा दाहाल ट्रेडिङले कस्ता नयाँ उपकरण तथा प्रविधि प्रदर्शन गर्ने तयारी गरेको छ ?
हामीले किसानलाई आवश्यक पर्ने विभिन्न प्रकारका उपकरण तथा औजार ल्याउने तयारी गरेका छौं। विशेषगरी नेपाली बजारमा अहिलेसम्म उपलब्ध नभएका र किसानको कामलाई सहज बनाउन सक्ने उपकरणलाई प्राथमिकता दिएका छौं । तर यसपटक सामान ल्याउन केही समस्या भइरहेको छ। तातोपानी नाकाबाट आउने केही सामान नाका बन्द भएका कारण अड्किएका छन् भने केरुङ नाकाबाट आउने सामान पनि गाडी अभावका कारण रोकिएका छन्। त्यसैले मेलाअघि सबै सामान आइपुग्ने अवस्था देखिएको छैन।
अहिले पनि सामान ल्याउन निरन्तर प्रयास गरिरहेको छु। हामीले ल्याउन खोजेका उपकरणमध्ये किवी तथा अन्य फलफूल टिप्न प्रयोग हुने औजार, फलफूल फुटाउने वा प्रशोधन गर्ने उपकरणलगायत छन्। उदाहरणका लागि अहिले नेपाली बजारमा म्याकाडेमिया नटको उत्पादन सुरु हुन थालेको छ। तर त्यसलाई फुटाउने उपयुक्त मेसिन बजारमा उपलब्ध छैन।
किसानले उत्पादन त गर्छन्, तर त्यसको प्रशोधनमा समस्या छ। त्यस्तै, बेरीलगायत साना फलफूल टिप्न पनि विशेष उपकरण आवश्यक पर्छ। यस्ता कामलाई सहज बनाउने नयाँ उपकरण खोजेर नेपाल ल्याउने हाम्रो प्रयास हो।
विदेशबाट कृषि उपकरण आयात गर्दा व्यवसायीले कस्ता समस्या भोग्नुपरेको छ ? सरकारी नीति र सहजीकरणप्रति तपाईंको अनुभव कस्तो छ ?
सरकारले कृषि क्षेत्रमा काम गर्ने व्यवसायी र किसानका वास्तविक समस्या बुझेर नीति बनाउनुपर्ने हो। तर मेरो अनुभवमा सरकारले नयाँ प्रविधि र उपकरण भित्र्याउने व्यवसायीलाई पर्याप्त प्राथमिकता दिएको छैन।
किसानका लागि अत्यावश्यक मानिने स्प्रेयरजस्ता उपकरणमा समेत १३ प्रतिशतसम्म भ्याट लाग्ने अवस्था छ। कृषि क्षेत्रमा प्रयोग हुने कतिपय प्लास्टिकजन्य सामग्रीको आयात तथा कर नीतिमा पनि समस्या देखिन्छ। यस्ता उपकरण किसानका लागि विलासिताका वस्तु होइनन्, उत्पादन बढाउन र काम सहज बनाउन आवश्यक सामग्री हुन्।
विषादीको विषयमा पनि हाम्रो अनुभव छ। हामी आफैं विषादी आयात गर्ने व्यवसायी हौं। नेपालमा विषादी उत्पादन हुँदैन, त्यसैले विदेशबाट आयात गर्नुपर्ने बाध्यता छ। विगतमा विषादीसम्बन्धी पर्याप्त ज्ञान नभएको समयमा हामीले बीएचसीजस्ता विषादी बिक्री गरेका थियौं। त्यसको जोखिम र असरबारे जानकारी पाएपछि अर्को दिनदेखि नै बिक्री बन्द ग¥यौं । त्यसयता सुरक्षित र उपयुक्त सामग्रीलाई प्राथमिकता दिँदै आएका छौं ।
मैले विषादी व्यवसायीहरूको संस्थामा पनि बसेर काम गरेको छु। सरकारलाई पटकपटक नेपालका लागि आवश्यक पर्ने सुरक्षित र प्रभावकारी विषादीको सूची सीमित गरेर आयातलाई व्यवस्थित बनाउन सुझाव दिएको छु।
उदाहरणका लागि पाँच–दस प्रकारका फङ्गिसाइड, पेस्टिसाइड र झार नियन्त्रण गर्ने औषधिले आवश्यकताको ठूलो हिस्सा पूरा गर्न सक्छ भने अनावश्यक रूपमा धेरै प्रकारका विषादी आयात गरिरहनुपर्ने अवस्था किन सिर्जना गर्ने भन्ने मेरो प्रश्न हो।
सरकारले व्यवसायीका सुझाव सुन्ने र आवश्यक सहजीकरण गर्ने हो भने किसानले पनि सुरक्षित तथा गुणस्तरीय सामग्री उचित मूल्यमा पाउन सक्छन्। तर अहिले व्यवसायीले आफ्नो मुख्य कामभन्दा बढी समय सरकारी निकाय धाउनमै खर्च गर्नुपर्ने अवस्था छ। यही कारणले म अहिले विषादी र बीउको व्यवसायबाट बाहिरिएर कृषि उपकरणमा केन्द्रित भएको छु।
मैले विगतमा ल्याएका बीउ र विकास गरेका जातहरू अहिले पनि किसानले सम्झने गरेका छन्। मैले काउलीका सातवटा भेराइटी विकास गरेको थिएँ। चीनबाट ल्याएका बोडीका जातहरू पनि अहिले बजारमा प्रशस्त छन्। तर आवश्यक सहजीकरण नहुँदा त्यो कामलाई निरन्तरता दिन सकिनँ।
आगामी दिनमा दाहाल ट्रेडिङ तथा बिन्दवासिनीमार्फत कस्ता योजना अघि बढाउने सोचमा हुनुहुन्छ ?
अब मेरो उमेर पनि ६६ वर्ष पुगिसकेको छ। त्यसैले आफू मात्रै अगाडि बसेर काम गर्नुभन्दा एउटा व्यवस्थित कम्पनी निर्माण गरेर त्यसलाई नयाँ पुस्ताले अगाडि बढाउने वातावरण बनाउन चाहन्छु। म पछाडि बसेर सल्लाह, अनुभव र मार्गदर्शन दिने सोचमा छु।
मेरो आगामी योजना गाउँगाउँसम्म पुगेर किसानलाई तीनवटै पक्षमा सहयोग गर्ने हो। किसानलाई आवश्यक पर्ने कृषि सामग्री तथा इनपुट उपलब्ध गराउने, उनीहरूको उत्पादन बढाउन सहयोग गर्ने र उत्पादन भइसकेपछि त्यसको बजार तथा बजारीकरणको व्यवस्था मिलाउने हाम्रो सोच छ।
किसानलाई बीउ, मल, औजार वा प्रविधि मात्रै दिएर पुग्दैन। उनीहरूले उत्पादन गरेको वस्तु बिक्री गर्ने बजार पनि सुनिश्चित हुनुपर्छ। कुन प्रविधि प्रयोग गर्दा राम्रो हुन्छ, कसरी उत्पादन बढाउन सकिन्छ र उत्पादनलाई कहाँ बिक्री गर्ने भन्ने विषयमा समेत सहजीकरण गर्न सके मात्रै कृषि व्यवसाय प्रभावकारी बन्न सक्छ।
नेपालमा आयोजना हुने कृषि मेला तथा प्रदर्शनीलाई अझ प्रभावकारी बनाउन सरकार र आयोजकले के गर्नुपर्छ ?
मैले यो विषय धेरै पटक उठाउँदै आएको छु। कृषि मेला आयोजना गर्नुको मुख्य उद्देश्य किसानलाई नयाँ प्रविधि र उपकरणसँग परिचित गराउनु हो। तर मेलामा किसानले मन पराएका र आवश्यक ठानेका उपकरण खरिद गर्न सक्ने व्यवस्था पनि हुनुपर्छ।
सरकारले आफ्ना कार्यालयका लागि गाडी खरिद गर्दा आवश्यकता र उपयुक्तताका आधारमा निर्णय गर्छ। त्यसैगरी किसानका लागि आवश्यक कृषि उपकरणको सूची तयार गरेर सरकारले पनि त्यस्ता उपकरण खरिदमा सहयोग गर्ने व्यवस्था गर्नुपर्छ।
भारतमा कृषि मेलाका क्रममा किसानलाई आवश्यक उपकरण छनोट गर्न लगाउने र सरकारले प्राथमिकता दिएका उपकरण खरिदका लागि सहजीकरण गर्ने अभ्यास छ। किसानले मेलामा गएर आफूलाई मन परेको उपकरण छनोट गर्न पाउँछन् र त्यसको खरिद प्रक्रिया पनि त्यहीँबाट अघि बढ्छ।
नेपालमा पनि यस्तै व्यवस्था गर्न सकिन्छ। सरकारले कृषि मेलामा प्रदर्शन गरिएका उपकरणमध्ये किसानलाई आवश्यक पर्ने उपकरण पहिचान गरी अनुदान वा सहुलियतमा खरिद गर्न सक्ने व्यवस्था मिलाउनुपर्छ। यसले किसानलाई नयाँ प्रविधि प्रयोग गर्न प्रोत्साहन गर्छ भने नयाँ उपकरण आयात गर्ने र प्रविधि भित्र्याउने व्यवसायीलाई पनि हौसला मिल्छ।
अन्त्यमा कृषि क्षेत्र र कृषि मेलाका आयोजकलाई केही भन्न चाहनुहुन्छ ?
मेरो आग्रह के हो भने सरकारले कृषि मेलालाई केवल प्रदर्शनी र अवलोकनमा सीमित राख्नु हुँदैन। किसानले मन पराएका र आफ्नो कामका लागि आवश्यक ठानेका उपकरण मेलाबाटै खरिद गर्न सक्ने वातावरण बनाउनुपर्छ।
यसले किसानलाई आफूले चाहेको उपकरण उपलब्ध गराउँछ। नयाँ प्रविधि भित्र्याउन लगानी गर्ने व्यवसायीलाई पनि प्रोत्साहन मिल्छ। व्यवसायीले नयाँ सामान ल्याउने, किसानले त्यसको उपयोग गर्ने र सरकारले आवश्यक सहजीकरण गर्ने वातावरण बनेमा कृषि क्षेत्रको विकासमा ठूलो योगदान पुग्न सक्छ।
मैले यो विषय धेरै पटक उठाएको छु। चार दशकभन्दा बढी समय कृषि क्षेत्रमा बिताएको अनुभवका आधारमा पनि भन्न सक्छु, किसानलाई नयाँ प्रविधि र उपकरणसँग जोड्न सके मात्रै कृषि उत्पादन र उत्पादकत्व बढाउन सकिन्छ। अब सरकारले पनि यस विषयलाई गम्भीरतापूर्वक लिनुपर्छ।















प्रतिक्रिया दिनुहोस्