काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) भित्र जारी संस्थागत विवादका बीच पोर्चुगलमा सुजन लामा नेतृत्वको समितिले त्यहाँको सरकारी निकायबाट आधिकारिक मान्यता पाएको छ।
सन् २०२५ अक्टोबरमा दर्ताका लागि दिएको निवेदन प्रक्रिया पूरा गर्दै पोर्चुगलको न्याय मन्त्रालयअन्तर्गतको दर्ता तथा नोटरी संस्था (आइआरएन) ले शुक्रबार लामा नेतृत्वको कार्यसमितिलाई आधिकारिक प्रमाणपत्र प्रदान गरेको हो। सन् २००६ मा स्थापना भएको एनआरएनए पोर्चुगलमा सन् २०२३ देखि आन्तरिक मतभेद चुलिँदा तीन वटा समानान्तर कार्यसमिति सक्रिय थिए।
सरकारी मान्यता पाएसँगै लामा नेतृत्वको समितिले अब आधिकारिक गतिविधि यही संरचनामार्फत कानुनी रूपमा सञ्चालन हुने दाबी गरेको छ। अध्यक्ष लामाले विवादभन्दा समुदायको हितमा पारदर्शी र समावेशी ढंगले काम गर्ने प्रतिबद्धता जनाएका छन्। यता, समानान्तर रूपमा सक्रिय अन्य दुई समूहका नेतृत्वकर्ताहरूले भने एकताको छलफल चलिरहेकै बेला आएको यो निर्णयप्रति आश्चर्य व्यक्त गरेका छन्।
यसैबीच, संस्थामा आर्थिक पारदर्शिताको प्रश्न पनि उठेको छ। संस्थाका सचिव सुरज भण्डारीका अनुसार हाल बैंक खातामा करिब ३२४ युरो मात्र मौज्दात छ भने विभिन्न कार्यक्रममार्फत संकलित करिब २६ हजार ६५७ युरो आधिकारिक खातामा दाखिला भएको छैन। समितिले उक्त रकम संस्थाको खातामा जम्मा गर्न आग्रह गर्दै आवश्यक परे कानुनी प्रक्रिया अघि बढाउने चेतावनी दिएको छ। कार्यसमितिले अबदेखि संस्थाको नाम र लोगो आधिकारिक संरचनामार्फत मात्र प्रयोग गर्न समेत आग्रह गरेको छ।

















प्रतिक्रिया दिनुहोस्