वीरगञ्ज । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गलत विवरण पेश गरी नागरिकता दिलाएको अभियोगमा वीरगञ्ज महानगरपालिकाका नगर प्रमुख (मेयर) राजेशमान सिंहसहित अन्य ६ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ।
मुद्दा दायर भएसँगै मेयर सिंहको पद आजैका मितिदेखि अन्तिम किनारा नलाग्दासम्मका लागि स्वतः निलम्बनमा परेको छ ।
सिन्धुपाल्चोक इन्द्रावतीकी रीता भट्टराईकी छोरीलाई किर्ते कागजात खडा गरी २०७१ सालमा जन्मदर्ता गराई सोही आधारमा २०७५ सालमा नागरिकता दिलाएको अख्तियारको अनुसन्धानबाट खुलेको छ। यस प्रकरणमा छानबिनका लागि गृह मन्त्रालयबाट खटिएका कर्मचारीहरूले समेत अनुसन्धानमा चलखेल गरेको भेटिएपछि उनीहरू विरुद्ध पनि मुद्दा चलाइएको छ ।
मुद्दा दायर भई निलम्बनमा परेका अन्य प्रतिवादीहरूमा भिखारी राय, तत्कालीन सचिव, वीरगञ्ज महानगरपालिका वडा नं. ३, षड्कुमार पोखरेल, तत्कालीन शाखा अधिकृत, जिल्ला प्रशासन कार्यालय पर्सा, पुष्कर राणा, तत्कालीन उपसचिव तथा छानबिन टोली संयोजक, गृह मन्त्रालय, परशुराम पोखरेल तत्कालीन शाखा अधिकृत तथा छानबिन टोली सदस्य, गृह मन्त्रालय र रीता भट्टराई सिन्धुपाल्चोक (नागरिकता लिने यूवतीकी आमा) रहेका छन् ।
अख्तियारका प्रवक्ता सुरेश न्यौपानेका अनुसार प्रतिवादीहरू विरुद्ध किर्ते कागजात तयार गरी जन्मदर्ता, नागरिकता र राहदानी बनाएको कसुरमा भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ९, ११, १२ र १९ को उपदफा (२) बमोजिम सजाय र जरिवानाको मागदाबी गर्दै मुद्दा दायर गरिएको हो ।

















प्रतिक्रिया दिनुहोस्