काठमाडौं। दिगो बैंकिङ अभ्यास तथा हरित वित्त प्रवर्द्धन गर्ने उद्देश्यले कुमारी बैंक लिमिटेड र मिनर्जी इन्निसियटिभ्सबीच रणनीतिक साझेदारीसम्बन्धी सम्झौता भएको छ।
सम्झौतापत्रमा कुमारी बैंकका प्रमुख लगानी तथा बजार व्यवस्थापन अधिकृत चन्दन कार्की तथा मिनर्जी इन्निसियटिभ्सका अध्यक्ष श्याम सुन्दर श्रेष्ठले हस्ताक्षर गरेका हुन्। पर्यावरण संरक्षण र हरित बैंकिङ प्रवर्द्धनमा केन्द्रित उक्त सहकार्यअन्तर्गत समुदायलाई बैंकिङ सेवाका लागि योग्य बनाउने तथा बैंकलाई लक्षित समुदायको आवश्यकता अनुरूप क्षमता अभिवृद्धि गर्न सहयोग गर्ने लगायतका विभिन्न क्षेत्रमा सहकार्य गरिने जनाइएको छ।
कुमारी बैंकका दिगो बैंकिङ विभाग प्रमुख अर्पण पौडेलले अन्तर्राष्ट्रिय जलवायु वित्त र लक्षित उद्यमीबीचको दूरी घटाउन समुदायको वास्तविक अवस्था र बैंकिङ जोखिमको संरचनाबारे गहिरो बुझाइ आवश्यक रहेको बताए। उनले यस प्रकारको साझेदारीले क्षमता अभिवृद्धिका प्रयासलाई वास्तविक वित्तीय समावेशीकरणमा रूपान्तरण गर्न महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे।
नेपालका अग्रणी वित्तीय संस्थामध्ये एक कुमारी बैंकले आफ्नो सुदृढ शाखा सञ्जालमार्फत यस पहललाई देशव्यापी रूपमा विस्तार गर्ने जनाएको छ। कुमारी बैंक र मिनर्जी इन्निसियटिभ्सबीचको यो सहकार्यले हरित वित्त प्रवर्द्धन, दिगो आर्थिक विकास तथा स्वच्छ र जलवायु उत्थानशील भविष्य निर्माणमा महत्वपूर्ण योगदान पुर्याउने अपेक्षा गरिएको बैंकद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।















प्रतिक्रिया दिनुहोस्