काठमाडौं । सिद्धार्थ बैंक लिमिटेडले नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो सिजनलाई लक्षित गर्दै आफ्नो मोबाइल बैंकिङ एपमा ‘सिद्धार्थ एनपीएल क्रिकेट च्यालेन्ज’ सञ्चालनमा ल्याएको छ।
बैंकले क्रिकेटको लोकप्रियतालाई डिजिटल बैंकिङसँग जोड्दै ग्राहक तथा क्रिकेटप्रेमीलाई खेलसँगै लोयल्टी पोइन्ट आर्जन गर्ने अवसर प्रदान गरेको हो। बैंकका अनुसार मोबाइल बैंकिङ एपको लगइन स्क्रिनमा उपलब्ध यो गेम खेल्न प्रयोगकर्ताले एपमा लगइन गर्नुपर्ने छैन। प्रयोगकर्ताले लगइन नगरी पनि गेममा सहभागी हुन सक्नेछन्।
गेममा एनपीएलका आठ टोलीमध्ये आफूलाई मनपर्ने टोली छनोट गरी ब्याटिङ तथा बलिङ गर्न सकिने व्यवस्था गरिएको छ। यसअन्तर्गत ब्याटिङ गर्दा बनाएको प्रत्येक रनबापत एक सिद्धार्थ लोयल्टी पोइन्ट र बलिङ गर्दा लिएको प्रत्येक विकेटबापत ६ लोयल्टी पोइन्ट प्राप्त हुनेछ। यसरी गेम खेलेर संकलन गरेका पोइन्टलाई सिद्धार्थ रिवार्ड्स प्लेटफर्ममार्फत रिडिम गर्न सकिने बैंकले जनाएको छ। तर, पोइन्ट रिडिम गर्नका लागि प्रयोगकर्ताको सिद्धार्थ बैंकमा बचत खाता हुनुपर्नेछ।
बैंकमा खाता नभएका प्रयोगकर्ताले पनि गेम खेल्न र पोइन्ट संकलन गर्न सक्नेछन्। यद्यपि, संकलित पोइन्टको उपयोग गर्न भने सिद्धार्थ बैंकमा बचत खाता खोली मोबाइल बैंकिङ सेवा लिनुपर्ने व्यवस्था गरिएको छ। बैंकले यस पहलमार्फत ग्राहकलाई डिजिटल बैंकिङ सेवामा थप आकर्षित गर्ने, ग्राहकको सहभागिता बढाउने तथा बैंकिङ अनुभवलाई मनोरञ्जनात्मक र अन्तरक्रियात्मक बनाउने लक्ष्य लिएको उल्लेख गरेको छ।
नेपालमा क्रिकेटप्रति बढ्दो आकर्षणलाई ध्यानमा राख्दै ल्याइएको यो गेमले एनपीएलको रोमाञ्चलाई मोबाइल बैंकिङ एपसम्म पुर्याउने अपेक्षा गरिएको छ। साथै, खेलप्रेमीले आफ्नो मनपर्ने टोली छनोट गरी गेममा सहभागी हुँदै लोयल्टी पोइन्ट आर्जन गर्न सक्नेछन्।यस सेवासम्बन्धी थप जानकारीका लागि ग्राहकले बैंकको २४ सै घण्टा सञ्चालनमा रहने ग्राहक सेवा केन्द्र ‘सिद्धार्थ केयर’ मार्फत सम्पर्क गर्न सक्ने बैंकले जनाएको छ।















प्रतिक्रिया दिनुहोस्