काठमाडौं । मिड भ्याली इन्टरनेसनल कलेजले चीनको प्रतिष्ठित इस्ट चाइना युनिभर्सिटी अफ टेक्नोलोजी (ईसीयूटी) सँगको शैक्षिक सहकार्यलाई थप विस्तार गर्दै सन् २०२६ को ‘ईसीयूटी कल्चरल एक्सचेन्ज प्रोग्राम’ सुरु गरेको छ।
कार्यक्रमको औपचारिक सुरुवातका अवसरमा ईसीयूटी अन्तर्राष्ट्रिय विद्यालयका उपडिन झोउ लिङ तथा अन्तर्राष्ट्रिय सहकार्य तथा आदान–प्रदान कार्यालयका शाखा प्रमुख फान झेनछ्वान नेपाल भ्रमणमा आएका थिए। भ्रमणका क्रममा उनीहरूले मिड भ्याली इन्टरनेसनल कलेजका नेतृत्व, प्राध्यापक तथा चीन भ्रमणमा सहभागी हुने विद्यार्थीहरूसँग भेटघाट तथा अन्तरक्रिया गरेका थिए।
कार्यक्रमअन्तर्गत मिड भ्याली इन्टरनेसनल कलेज र ग्यालेक्सी पब्लिक स्कुलका ११ जना विद्यार्थी आगामी अक्टोबर २५ देखि नोभेम्बर ४, २०२६ सम्म चीनको नानछाङ सहरमा आयोजना हुने अन्तर्राष्ट्रिय शैक्षिक तथा सांस्कृतिक आदान–प्रदान कार्यक्रममा सहभागी हुनेछन्। चीन भ्रमणका क्रममा विद्यार्थीहरूले चिनियाँ भाषा तथा संस्कृतिसम्बन्धी कार्यशालामा सहभागी हुने, ऐतिहासिक सम्पदा तथा संग्रहालय अवलोकन गर्ने, परम्परागत चिनियाँ कला र संस्कृतिको अनुभव लिने तथा जिङदेजेन र वुयुआन क्षेत्रको भ्रमण गर्ने अवसर प्राप्त गर्नेछन्।
त्यस्तै, विद्यार्थीहरूले ईसीयूटीले आयोजना गर्ने अन्तर्राष्ट्रिय सांस्कृतिक महोत्सवमा सहभागी भई विभिन्न देशका विद्यार्थीहरूसँग अनुभव आदान–प्रदान गर्ने अवसर पनि पाउनेछन्। कार्यक्रममा ईसीयूटीका प्रतिनिधिहरूले विद्यार्थी जीवन, विश्वविद्यालयको शैक्षिक वातावरण र विश्वव्यापी शिक्षाको महत्वबारे जानकारी गराएका थिए। सहभागी विद्यार्थीहरूले चीन भ्रमण, अध्ययन प्रणाली र सांस्कृतिक अनुभवबारे आफ्ना जिज्ञासा राखेका थिए।
मिड भ्याली इन्टरनेसनल कलेज व्यवस्थापनले ईसीयूटीसँगको सहकार्यले नेपाली विद्यार्थीलाई अन्तर्राष्ट्रिय स्तरको शैक्षिक अनुभव, सांस्कृतिक ज्ञान तथा विश्वदृष्टिकोण विकास गर्न महत्वपूर्ण योगदान पुर्याउने विश्वास व्यक्त गरेको छ। कलेजले अन्तर्राष्ट्रिय साझेदारीमार्फत विद्यार्थीलाई विश्वस्तरीय शैक्षिक अवसर, व्यवहारिक सिकाइ, अन्तरसांस्कृतिक बुझाइ तथा भविष्यका लागि आवश्यक सीप विकास गर्ने वातावरण उपलब्ध गराउँदै आएको जनाएको छ।















प्रतिक्रिया दिनुहोस्