काठमाडौं । समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले तीन सहकारीका थप २२० जना साना बचतकर्ताको बचत रकम फिर्ता गरेको छ ।
समितिका अनुसार शिव शिखर सहकारीका १६५ जना, कान्तिपुर सहकारीका ५२ जना र गोर्खा सहकारीका तीन जना बचतकर्ताले रकम फिर्ता पाएका हुन् । समस्याग्रस्त सहकारीबाट ऋण असुली तथा सम्पत्ति व्यवस्थापनबाट प्राप्त रकम सम्बन्धित बचतकर्तालाई फिर्ता गर्ने कार्य भइरहेको समितिले जनाएको छ ।
समितिले पहिलो चरणमा थोरै रकम बचत गरेका बचतकर्तालाई प्राथमिकता दिएर रकम फिर्ता गरेको हो। आगामी दिनमा पनि बचत रकमका आधारमा बचतकर्तालाई वर्गीकरण गरी क्रमशः रकम फिर्ता गरिने समितिले जनाएको छ । समस्याग्रस्त सहकारी संस्थाबाट ऋण असुली तथा सम्पत्ति व्यवस्थापनबाट प्राप्त रकमबाट सम्बन्धित सहकारीका बचतकर्तालाई प्रचलित कानुनबमोजिम बचत फिर्ता गर्ने कार्य निरन्तर भइरहेको समितिको भनाइ छ।
समिति गठन भएयता पूर्ण तथा आंशिक बचत फिर्ता र बचत मिलानमार्फत हालसम्म करिब चार हजार बचतकर्ताको रकम फिर्ता भएको छ। समितिका अनुसार समस्याग्रस्त सहकारीका करिब ७६ हजार बचतकर्तालाई करिब ४६ अर्ब रुपैयाँ फिर्ता गर्नुपर्ने दायित्व बाँकी छ । त्यसका लागि सम्बन्धित सहकारीको सम्पत्ति यकिन गर्ने तथा उपलब्ध स्रोतको परिचालन गर्ने काम भइरहेको जनाइएको छ । समितिका अनुसार हालसम्म विभिन्न समस्याग्रस्त सहकारीबाट गरी करिब ४२ करोड रुपैयाँ जम्मा भएको छ। त्यसमध्ये कान्तिपुर सहकारीबाट मात्रै करिब १२ करोड रुपैयाँ प्राप्त भएको छ ।
कान्तिपुर, गोर्खा र प्यासिफिक सहकारीका केही बचतकर्तालाई विगतमा रोकिएको रकम पनि क्रमशः वितरण भइरहेको समितिले जनाएको छ। कान्तिपुरका बचतकर्तालाई २५ हजार रुपैयाँ, गोर्खा सहकारीका बचतकर्तालाई १७ हजार रुपैयाँ तथा प्यासिफिक सहकारीका बचतकर्तालाई १२ हजार ६०० रुपैयाँका दरले रकम वितरण गरिएको उल्लेख छ।















प्रतिक्रिया दिनुहोस्