ललितपुर । पाटन पर्यटन विकास संस्थाको अध्यक्षमा कृष्णलाल महर्जन सर्वसम्मत निर्वाचित भएका छन् । पाटनको पर्यटन प्रवर्द्धन तथा ऐतिहासिक एवं सांस्कृतिक सम्पदाको संरक्षणमा क्रियाशील संस्थाको शुक्रबार सम्पन्न ३१औँ साधारणसभाले महर्जनलाई अध्यक्षमा चयन गरेको हो ।
प्रतिनिधिसभा सदस्य जगदीश खरेलको प्रमुख आतिथ्यतामा सम्पन्न साधारणसभाले संस्थाको नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको हो ।
संस्थाको निवर्तमान अध्यक्षमा दिलेन्द्रराज श्रेष्ठ, उपाध्यक्षमा सत्यरत्न शाक्य, महासचिवमा मोहन ब्यञ्जनकार, कोषाध्यक्षमा सरिता अवाले र सहसचिवमा सगुन धाख्वा निर्वाचित भएका छन् । त्यसैगरी कार्यसमिति सदस्यमा लक्ष्मणकृष्ण राजभण्डारी, सन्तमान महर्जन, सुशील बज्राचार्य, युविका भण्डारी, अनिल शाक्य, धर्मराज शाक्य र डा. रोहितकुमार रञ्जितकार निर्वाचित भएका छन् ।
३१ वर्षअघि स्थापना भएको पाटन पर्यटन विकास संस्थाले स्थापनाकालदेखि नै पाटनलाई आकर्षक पर्यटन गन्तव्यका रूपमा विकास गर्ने तथा यहाँका ऐतिहासिक, धार्मिक र सांस्कृतिक सम्पदाको संरक्षण एवं प्रवर्द्धन गर्ने उद्देश्यले विभिन्न गतिविधि सञ्चालन गर्दै आएको छ ।
नवनिर्वाचित अध्यक्ष महर्जनले पाटन क्षेत्रको पर्यटन विकास, सम्पदा संरक्षण तथा पर्यटन प्रवर्द्धनका कार्यक्रमलाई थप प्रभावकारी र परिणाममुखी बनाउने प्रतिबद्धता व्यक्त गरेका छन् । सम्बन्धित सरकारी निकाय, स्थानीय समुदाय तथा पर्यटन क्षेत्रका सरोकारवालासँग सहकार्य गर्दै पाटनको पर्यटनलाई थप उचाइमा पुर्याउने उनको भनाइ छ ।
महर्जन ललितपुर उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष तथा नेपाल उद्योग वाणिज्य महासंघका कार्यकारिणी सदस्यसमेत हुन् ।
साधारणसभाका अवसरमा पर्यटन क्षेत्रमा पुर्याएको योगदानको कदर गर्दै ललितपुरका पहिलो क्याप्टेन पूर्णलाल श्रेष्ठ र होटल हिमालयलाई सम्मान गरिएको थियो ।















प्रतिक्रिया दिनुहोस्