काठमाडौं । नेपाली कांग्रेसका निवर्तमान सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले वर्तमान सरकारले जनताको मत र परिवर्तनको आकांक्षालाई कदर गर्दै अघि बढ्नुपर्ने बताएका छन्।
झण्डै पाँच महिनाको स्वास्थ्य उपचारपछि आज स्वदेश फर्किएका देउवाले अपिल पत्र जारी गर्दै परिवर्तन सहज नभए पनि जनताको आकांक्षालाई सम्बोधन गर्नु वर्तमान सरकारको प्रमुख दायित्व भएको बताएका हुन्। देउवाले सरकार आफ्नो दायित्वबाट विचलित भएर राजनीतिक आग्रह–पूर्वाग्रहमा केन्द्रित भए त्यसले सत्तारुढ दलसँगै मुलुकलाई समेत हित नगर्ने चेतावनी दिएका छन्। ‘परिवर्तन सजिलो हुँदैन भन्ने कुरा म राम्ररी जान्दछु। परिवर्तनको बाटो कहिल्यै समतल हुँदैन यसले धैर्य, साहस र दृढताको परीक्षा लिन्छ,’ उनले भनेका छन्, ‘जनतामा अहिले परिवर्तनको ठूलो आकांक्षा देखिएको छ। त्यसलाई सम्बोधन गर्नुपर्ने वर्तमान सरकारको दायित्व हो।’
उनले ताजा जनादेशबाट आएको सरकारले जनताको मतको सम्मान गर्नुपर्नेमा जोड दिएका छन्। ‘आफ्नो दायित्व भुलेर राजनीतिक आग्रह–पूर्वाग्रह साँध्ने हो भने त्यो सत्तारुढ दल र मुलुककै लागि हितकर हुँदैन। त्यसैले जनताको आकांक्षा पूरा गर्ने बाटोमा सरकार अघि बढ्नुपर्छ,’ देउवाले भनेका छन्। देउवाले लोकतन्त्रमा जनता नै सर्वोच्च हुने भन्दै जनताको मतलाई कदर गर्न नसक्ने कुनै पनि राजनीतिक शक्ति दीर्घकालीन रूपमा सफल हुन नसक्ने बताएका छन्।
युवा पुस्ताको परिवर्तनको माग स्वीकार छ
देउवाले युवा पुस्ताले उठाएको परिवर्तनको मागलाई नेपाली कांग्रेसले आत्मसात् गरेको बताएका छन्। उनले आफूले युवा पुस्ताको ‘मौन पीडा र प्रखर आवाज’ दुवै सुनेको उल्लेख गर्दै समयअनुकूल परिवर्तन आवश्यक रहेको बताएका हुन्। उनले गत भदौमा भएको जेनजी आन्दोलनका जायज माग सम्बोधन गर्नुपर्ने धारणा आफूले त्यतिबेलै राखेको स्मरण गरेका छन्। परिवर्तनको अर्थ विगतका पुस्ताको संघर्ष, त्याग र बलिदानलाई अस्वीकार गर्नु नभएको उनको भनाइ छ। लोकतन्त्र, स्वतन्त्रता र विभिन्न समुदायका अधिकारका लागि विगतमा भएको संघर्षलाई नकारात्मक भाष्यबाट प्रस्तुत गर्न नहुने उनले बताएका छन्। ‘लोकतन्त्रमा सत्ता अस्थायी हुन्छ तर जनताको मन बुझ्ने नेता मात्रै सदा स्मरणीय हुन्छ,’ देउवाले भनेका छन्। यस्तै, देउवाले परिवर्तन व्यवस्थापनको प्रक्रियामा आफूहरू सहयोग गर्न तयार रहेको बताएका छन्। उनले परिवर्तनका नाममा अन्धाधुन्ध अघि बढ्नुभन्दा विवेक, पारदर्शिता र न्यायका आधारमा रूपान्तरण गर्नुपर्नेमा जोड दिएका छन्। ‘हामी अन्धाधुन्ध दौडिने छैनौँः विवेक, पारदर्शिता र न्यायका आधारमा प्रत्येक रूपान्तरणलाई अघि बढाउनेछौँ,’ उनले अपिलमा भनेका छन्।
संविधान संशोधनमा राष्ट्रिय सहमति आवश्यक
देउवाले नेपाली कांग्रेस एकताबद्ध भएर अन्य राजनीतिक दलसँग सहमति र सहकार्य गर्दै अघि बढ्नुपर्ने बताएका छन्। राष्ट्रियता र लोकतन्त्रको सुदृढीकरणका लागि सबै राजनीतिक शक्ति मिलेर अघि बढ्नुपर्ने उनको भनाइ छ। उनले वर्तमान संविधान लामो राजनीतिक संघर्ष र बलिदानबाट प्राप्त भएकाले यसको संरक्षणसँगै आवश्यक संशोधनसमेत राष्ट्रिय सहमतिका आधारमा हुनुपर्ने बताएका छन्। संसदमा कांग्रेसको संख्यात्मक अवस्था जस्तोसुकै भए पनि २००७ सालदेखि भएका राजनीतिक परिवर्तनको नेतृत्व कांग्रेसले गर्दै आएको उनले उल्लेख गरेका छन्।
कांग्रेसभित्र विवाद रहँदा राष्ट्रियता कमजोर हुनसक्छ
देउवाले नेपाली कांग्रेसभित्र देखिएको असहमति र निराशा तत्काल समाधान गर्नुपर्ने बताएका छन्। पार्टीमा विवाद रहँदा मुलुकको राष्ट्रियता नै कमजोर हुन सक्ने उनको चेतावनी छ। उनले कांग्रेस सामूहिकतामा विश्वास गर्ने पार्टी भएकाले नेता, कार्यकर्ता, शुभेच्छुक, समर्थक तथा मतदाताको भावना समेटेर अघि बढ्न अपिल गरेका छन्। ‘नेपाली कांग्रेस कसैको इगोमा होइन, जनताको सर्वोपरि हितलाई केन्द्रमा राखेर अघि बढ्नुपर्छ,’ उनले भनेका छन्। युवा पुस्तालाई नेतृत्वमा अघि बढाउनुपर्ने भए पनि पाका तथा अनुभवी पुस्तालाई पूर्ण रूपमा गलत ठहर गर्ने भाष्य निर्माण गर्न नहुने उनले बताएका छन्। आफ्नो राजनीतिक अनुभव मुलुक र पार्टीका लागि उपयोगी हुने भन्दै नयाँ पुस्तासँग अनुभव बाँड्नु आफ्नो दायित्व भएको उनले उल्लेख गरेका छन्।
प्रतिशोध होइन, मेलमिलापको मार्ग रोजौँ
देउवाले आफू शक्ति प्राप्त गर्न नभई राष्ट्रिय एकता सुदृढ गर्न स्वदेश फर्किएको बताएका छन्। उनले २०३३ सालमा बीपी कोइराला भारत निर्वासनबाट नेपाल फर्कँदा राष्ट्रवादी र प्रजातन्त्रवादी शक्तिहरू एक हुनुपर्ने आह्वान गरेको स्मरण गर्दै अहिले पनि सर्वपक्षीय राष्ट्रिय एकताको आवश्यकता रहेको बताएका छन्।‘विगतका विभाजन र विद्वेषका घाउहरू निको पारौँ। प्रतिशोध होइन, मेलमिलापको मार्ग रोजौँ,’ देउवाले अपिलमा भनेका छन्। यसैगरी, उनले प्रत्येक बालकले निर्भीक सपना देख्न सक्ने, ज्येष्ठ नागरिकले सम्मानपूर्वक जीवन बिताउन सक्ने र प्रत्येक समुदायले समान अवसर तथा समृद्धिको अनुभूति गर्न सक्ने नेपाल निर्माण गर्नुपर्ने बताएका छन्।
‘राष्ट्र र जनताको हितबाहेक कुनै सम्झौता गर्दिनँ’
सार्वजनिक जीवनमा रहँदा आफूले विभिन्न आलोचना खेप्नुपरे पनि राष्ट्र, लोकतन्त्र, नागरिक, संविधान र कानुनलाई सर्वोच्च मानेर काम गरेको देउवाको दाबी छ। ‘मेरो जीवन खुला किताब हो,’ उनले भनेका छन्, ‘अझ पनि जीवन रहँदासम्म राष्ट्र, राष्ट्रियता, लोकतन्त्र, मुलुक र जनताको सर्वोत्तम हित, संविधान, कानुन र नैतिक मूल्य–मान्यताअनुरूप काम गर्नेछु र यी विषयमा कसैसँग मेरो सम्झौता हुन सक्दैन।’ स्वदेश फर्किएपछि आफू नेता बनेर नभई ‘यस महान् राष्ट्रको आजीवन नागरिक’ बनेर सेवा गर्न तयार रहेको उनले बताएका छन्। ‘म शक्ति प्राप्त गर्न होइन, राष्ट्रिय एकता सुदृढ गर्न फर्किएको छु,’ देउवाले अपिलको अन्त्यमा भनेका छन्।

















प्रतिक्रिया दिनुहोस्