Advertisement
Advertisement
Corporate Samachar
२७ कार्तिक २०८३, शुक्रबार
Advertisement
Advertisement

एआई बजारको उतारचढावबीच एन्थ्रोपिकको आईपीओ मूल्यांकन घट्यो

एआई बजारको उतारचढावबीच एन्थ्रोपिकको आईपीओ मूल्यांकन घट्यो
विज्ञापन
Advertisement

एजेन्सी । कृत्रिम बुद्धिमत्ता (एआई) कम्पनी एन्थ्रोपिकले प्रस्तावित प्राथमिक शेयर निष्काशन (आईपीओ) को मूल्यांकन घटाउँदै करिब १.४० खर्ब डलरको लक्ष्य अघि सारेको छ ।

विज्ञापन
Advertisement
Advertisement

यसअघि १.५ देखि २ खर्ब डलरसम्म मूल्यांकन हुने अनुमान गरिएको कम्पनीले बजारको दबाब र लगानीकर्ताको चासोअनुसार आईपीओको योजना परिमार्जन गरेको हो । रोयटर्सका अनुसार कम्पनीले आईपीओमार्फत ८२५ मिलियन कित्ता शेयर प्रतिकित्ता ७० देखि ७८ डलरसम्ममा बिक्री गरी अधिकतम ६४.४ अर्ब डलर जुटाउने लक्ष्य राखेको छ। यसबाहेक गुगल, एनभिडिया र एएमडीसहितका ठूला प्रविधि कम्पनीको सहभागितामा थप २६ अर्ब डलर निजी लगानीमार्फत जुटाउने योजना छ ।

यसले कुल पुँजी संकलन ९० अर्ब डलरभन्दा बढी पुग्न सक्ने देखिन्छ। हालै एआईसम्बन्धी शेयरहरूमा आएको गिरावटले प्रस्तावित मूल्यांकनमा यति ठूलो आकारको आईपीओमा लगानीकर्ताले प्रतिबद्धता जनाउँछन् कि जनाउँदैनन् भन्ने प्रश्न खडा गरेको छ। यसअघि प्रस्तावित मूल्य र शेयर संख्याबारे बैंकहरूलाई पठाइएको विवरणलाई कम्पनीले गलत भन्दै फिर्ता लिएको थियो । त्यसपछि नोभेम्बर १० मा अमेरिकी धितोपत्र तथा विनिमय आयोग (एसईसी) मा संशोधित विवरण पेस गरिएको हो। कम्पनीले नास्ड्याक ग्लोबल सेलेक्ट मार्केटमा ‘एएनटी’ संकेतमा सूचीकृत हुने प्रस्ताव गरेको छ ।

एन्थ्रोपिकको वित्तीय विवरणअनुसार सन् २०२६ को तेस्रो त्रैमासिकमा कम्पनीको आम्दानी १७ अर्ब डलर पुगेको छ। तर, सोही अवधिमा २३.३ अर्ब डलर खुद घाटा र ५६ करोड ७० लाख डलर सञ्चालन घाटा बेहोरेको छ । अघिल्लो त्रैमासिकमा भने कम्पनीले ९७ करोड ४० लाख डलर सञ्चालन नाफा कमाएको थियो । कम्पनीले कम्प्युटिङ क्षमता र पूर्वाधार विस्तारका लागि करिब ९००.९ अर्ब डलर बराबरको दीर्घकालीन वित्तीय प्रतिबद्धता जनाएको छ। ठूलो पूर्वाधार खर्च, एआई क्षेत्रमा बढ्दो प्रतिस्पर्धा र प्रविधि शेयरमा आएको गिरावटले लगानीकर्तालाई सतर्क बनाएको छ ।

विश्लेषकहरूका अनुसार एन्थ्रोपिकको आईपीओ एआई क्षेत्रमा लगानीकर्ताको विश्वास र भविष्यमा यस्ता कम्पनीले आम्दानीलाई नाफामा रूपान्तरण गर्न सक्ने क्षमताको महत्वपूर्ण परीक्षण हुनेछ ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement

Powered By: Nectar Digit