काठमाडौं । रसुवामा बुधबार बिहान आएको भीषण बाढीका कारण रसुवा र नुवाकोटका जलविद्युत् आयोजनामा क्षति पुगेको प्रारम्भिक विवरण सार्वजनिक भएको छ।
प्रारम्भिक विवरणअनुसार रसुवा र नुवाकोटमा सञ्चालनमा रहेका १० वटा जलविद्युत् आयोजनाको कुल ३५९ मेगावाट क्षमतामा बाढीको असर परेको छ। त्यस्तै निर्माणाधीन पाँच आयोजनाको कुल ३९४ मेगावाट क्षमतामा पनि क्षति पुगेको प्रारम्भिक विवरणमा उल्लेख छ।
रसुवामा मात्रै सञ्चालनमा रहेका पाँच र निर्माणाधीन तीन गरी आठवटा प्रमुख जलविद्युत् आयोजना प्रभावित भएका छन्। निर्माणाधीन आयोजनातर्फ माथिल्लो त्रिशूली–१, रसुवा–भोटेकोशी र माथिल्लो मेलुङ–ए रहेका छन्।
माथिल्लो त्रिशूली–१ को क्षमता २१६ मेगावाट, रसुवा–भोटेकोशीको १२० मेगावाट र माथिल्लो मेलुङ–एको ६.४२ मेगावाट रहेको छ। यी तीन आयोजनाको कुल क्षमता करिब ३४२ मेगावाट रहेको छ।
त्यस्तै रसुवागढी जलविद्युत् आयोजना, सान्जेन खोला, मेलुङ खोला, लाङटाङ खोला र चिलिमे जलविद्युत् आयोजना सञ्चालनमा रहेका आयोजनाका रूपमा विवरणमा समेटिएका छन्।
नुवाकोटका प्रमुख जलविद्युत् आयोजनातर्फ त्रिशूली जलविद्युत् आयोजना, देवीघाट जलविद्युत् आयोजना, माथिल्लो त्रिशूली–३ए र सोलारलगायत सञ्चालनमा रहेका आयोजना प्रभावित भएका छन्। माथिल्लो त्रिशूली–३बी र मिडिल त्रिशूली गङ्गा निर्माणाधीन आयोजनाका रूपमा उल्लेख छन्।
नुवाकोटमा सञ्चालनमा रहेका पाँच आयोजनाको कुल क्षमता १२३ मेगावाट तथा निर्माणाधीन दुई आयोजनाको क्षमता करिब ५२ मेगावाट रहेको प्रारम्भिक विवरणमा उल्लेख छ।
बाढीबाट आयोजनाका बाँध, विद्युत् गृह, पहुँचमार्ग तथा अन्य पूर्वाधारमा भएको क्षतिको विस्तृत विवरण भने स्थलगत निरीक्षण र थप प्राविधिक मूल्याङ्कनपछि मात्रै यकिन हुने बताइएको छ।
















प्रतिक्रिया दिनुहोस्