काठमाडौं। रसुवाको भोटेकोसी नदीमा आएको भीषण बाढीबाट प्रभावितको उद्धार, राहत तथा पुनःस्थापनाका लागि एनसेल फाउन्डेसनले १ करोड रुपैयाँ सहयोग गर्ने भएको छ।
एनसेलले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा उक्त रकम प्रदान गर्ने घोषणा गरेको हो। बाढीबाट रसुवा, नुवाकोट, धादिङ र गोरखालगायतका जिल्लाका तटीय क्षेत्रमा ठूलो जनधनको क्षति भएपछि प्रभावितको तत्काल उद्धार, राहत तथा पुनःस्थापनाका लागि सहयोग घोषणा गरिएको एनसेलले जनाएको छ।
यसैबीच, एनसेलले बाढी प्रभावित क्षेत्रमा रहेका आफ्ना ग्राहकलाई निःशुल्क सञ्चार सेवा उपलब्ध गराएको उल्लेख गरेको छ। हिजोदेखि लागू हुने गरी भ्वाइस र डेटा सेवा तथा १०० वटा एसएमएस तीन दिनसम्म निःशुल्क उपलब्ध गराइएको कम्पनीले जनाएको छ।
एनसेलकी कर्पोरेट कम्युनिकेसन, मार्केटिङ तथा सस्टेनेबिलिटी डाइरेक्टर विशाखा लक्ष्मी खड्काले विपद्को कठिन घडीमा प्रभावित जनताको साथमा उभिनु साझा जिम्मेवारी भएको बताइन्। उद्धार, राहत र पुनःस्थापनाका लागि सरकार तथा सम्बन्धित निकायलाई सहयोग गर्ने उद्देश्यले १ करोड प्रदान गर्ने निर्णय गरिएको उनको भनाइ छ।
एनसेलले आगामी दिनमा पनि प्रभावित समुदायको आवश्यकता र अवस्थालाई ध्यानमा राख्दै सम्भव सहयोग तथा सहकार्य जारी राख्ने प्रतिबद्धता जनाएको छ।















प्रतिक्रिया दिनुहोस्