काठमाडौं। नेपाल धितोपत्र बोर्ड (सेबोन) का अध्यक्ष डा. गोपालप्रसाद भट्टले नेपालमा बैंकमा आधारित वित्तीय प्रणालीलाई क्रमशः पुँजी बजारमा आधारित प्रणालीमा रूपान्तरण गर्ने गरी काम भइरहेको बताएका छन्।
उनले प्राथमिक र दोस्रो बजार दुवैको संरचनामा व्यापक सुधार गर्दै उद्यमको हरेक चरणमा पुँजी बजारमार्फत वित्तीय स्रोत जुटाउन सक्ने वातावरण निर्माण गर्न लागिएको बताए। अध्यक्ष भट्टका अनुसार साना व्यवसाय तथा नयाँ उद्यमीदेखि ठूला र विस्तारको चरणमा रहेका कम्पनीसम्म सबैलाई आवश्यकता र क्षमताअनुसार पुँजी बजारमा प्रवेशको अवसर उपलब्ध गराउने उद्देश्य सेबोनले लिएकोले सोही अनुकार काम गर्न लागिएको छ। उनले भने, ‘पुँजी बजारमा संस्थाहरू, उद्यमहरू, साना स्टार्टअपदेखि नै बजारबाट पुँजी ल्याउन र पुँजी पाउन सक्ने अवस्था बनाउनुपर्छ। साना तथा मझौला उद्यमहरू पनि त्यो बजारमा प्रवेश गरून्, उनीहरूले पनि पुँजी ल्याउन सकून्, उनीहरूको पनि बजार होस् र मूल्य निर्धारण होस्।’
ठूला र विस्तारको चरणमा पुगेका कम्पनीहरूलाई मुख्य बजारमा प्रवेश गराउने तथा उनीहरूको व्यवसाय देशभित्र मात्र नभई विदेशसम्म विस्तार हुँदा आवश्यक पुँजी बजारबाटै जुटाउन सक्ने वातावरण बनाउनुपर्ने पनि उनको भनाइ छ। ‘अर्थात् उद्यमको हरेक चरणले बजारमा पहुँच पाओस्। उनीहरूका लागि बजार बनोस्, प्रत्यक्ष रूपमा कोष सिर्जना गर्न पाऊन् र लगानीकर्ताले पनि धितोपत्रको जोखिम तथा आफ्नो जोखिम वहन गर्ने क्षमताअनुसार फरक–फरक धितोपत्र प्राप्त गर्न सकून्,’ उनले भने।
अध्यक्ष भट्टले यसका लागि पुँजी बजारको पूर्वाधार विस्तारसँगै प्राथमिक र दोस्रो बजारको संरचनामा व्यापक सुधार गर्न लागिएको बताए। उनका अनुसार पुँजी बजारमा पुँजी लिने र दिनेबीच प्रत्यक्ष सम्बन्ध, प्रभावकारी मूल्य निर्धारण प्रणाली र पर्याप्त तरलता आवश्यक हुन्छ। सोही आधारमा नेपाललाई बैंकमा आधारित वित्तीय प्रणालीबाट पुँजी बजारमा आधारित वित्तीय प्रणालीतर्फ लैजाने प्रयास भइरहेको उनले बताए।
दोस्रो बजार सुधारका लागि नेप्से पुनर्संरचना
दोस्रो बजार सुधारका लागि नेपाल स्टक एक्सचेन्ज (नेप्से) लाई पुनर्संरचना गर्ने नीति सरकारले बजेटमार्फत अघि सारेको छ ।
अध्यक्ष भट्टले सेबोनले पनि उक्त प्रक्रियालाई सहयोग गर्ने बताए। उनले निकट भविष्यमै नेप्सेको पुनर्संरचना प्रक्रिया अघि बढ्ने तथा आफ्नो नियमन तथा सुपरिवेक्षणको भूमिकालाई थप प्रभावकारी बनाउँदै कानुनी तथा संस्थागत सुधारमा समेत काम गरिरहेको बताए।
‘हाम्रो दुईवटा काम हुन्छ—एउटा नियमन र अर्को सुपरिवेक्षण। नियमनको कामभित्र कानुन, नियम र विनियमलाई व्यापक रूपमा सुधार गर्ने काम गरिरहेका छौँ। सेबोनको बजारलाई समेट्ने छुट्टै ऐनको मस्यौदा पनि तयार गरिरहेका छौँ र छिट्टै अर्थ मन्त्रालयमा बुझाउँछौँ,’ उनले भने।
मार्जिन कारोबारलाई थप व्यवस्थित बनाइँदै
सेबोनले दोस्रो बजारमा नयाँ वित्तीय उपकरण र कारोबारका विधि विस्तार गर्ने तयारीसमेत गरिरहेको अध्यक्ष भट्टले जानकारी दिए।
उनका अनुसार मार्जिन कारोबारलाई थप व्यवस्थित र नियमन गर्ने काम भइरहेको छ। त्यस्तै, दिनभित्रै किनबेच गर्ने कारोबारका लागि आवश्यक पूर्वाधार विकास भइरहेको छ। धितोपत्र सापटी तथा उधारो कारोबारको पूर्वाधार विकास गर्ने काम पनि अघि बढिरहेको उनले बताए। त्यसपछि छोटो बिक्रीको व्यवस्था, विशेषगरी सुरक्षित छोटो बिक्रीतर्फ जाने तयारी भइरहेको उनको भनाइ छ। ‘मार्जिन कारोबारको सुरुवात भइसकेको छ, तर त्यसलाई अझ व्यवस्थित गर्दैछौँ। त्यसपछि दिनभित्रै हुने कारोबारको पूर्वाधार विकास गर्दैछौँ। धितोपत्र सापटी तथा उधारो कारोबारको पूर्वाधारमा पनि गइरहेका छौँ। अन्ततः छोटो बिक्रीतर्फ यसै वर्षको अन्त्यसम्म पुग्न सकिन्छ कि भनेर तयारी गरिरहेका छौँ,’ भट्टले भने।
उनका अनुसार नयाँ उपकरण तथा कारोबार प्रणाली ल्याउँदा पूर्वाधार निर्माण, नियम–विनियम तयार गर्ने र परीक्षण गर्नुपर्ने भएकाले त्यसमा केही समय लाग्नेछ। त्यसपछि पुँजी बजारमा व्युत्पन्न वित्तीय उपकरणसमेत विस्तार गर्दै लैजाने योजना रहेको उनले बताए।
बन्ड बजारको नियमावली परिमार्जन गरी छिट्टै लागू गरिने
अध्यक्ष भट्टले बन्ड बजारका लागि ल्याइएको नियमावलीमा सरोकारवालाबाट प्राप्त सुझावलाई समेटेर आवश्यक परिमार्जन गरी छिट्टै लागू गर्ने बताएका छन्। उनका अनुसार बन्ड बजारसम्बन्धी नियमावलीमा परामर्शका क्रममा विभिन्न सुझाव तथा प्रतिक्रिया प्राप्त भएका छन्। ती सुझावलाई अध्ययन गरी नियमावलीलाई थप प्रभावकारी बनाइनेछ। ‘बन्ड बजारका लागि हामीले नियमावली ल्याइसकेका छौँ। त्यसमा आवश्यक परामर्शका सुझावहरू आएका छन्। त्यसबाट केही प्रतिक्रिया पाइरहेका छौँ र त्यसलाई परिमार्जन गरेर छिट्टै लागू गर्छौँ,’ उनले भने।
साना लगानीकर्ताका लागि खुलामुखी सामूहिक लगानी कोष
साना लगानीकर्तालाई पुँजी बजारमा थप प्रभावकारी रूपमा सहभागी गराउन सामूहिक लगानी कोषको बजारलाई समेत बलियो बनाउने सेबोनको तयारी छ। विशेषगरी बन्दमुखी सामूहिक लगानी कोषको तुलनामा खुलामुखी सामूहिक लगानी कोषलाई थप सुदृढ बनाउने अध्यक्ष भट्टले बताए। उनले पुँजी बजार विस्तारसँगै लगानीकर्ताको हित संरक्षणका लागि सूचना प्रवाह, पारदर्शिता र सुशासनलाई प्राथमिकतामा राखिएको बताए।
सूचना सार्वजनिक गर्ने व्यवस्था र पारदर्शितामा जोड
अध्यक्ष भट्टले पुँजी बजारमा लगानीकर्ताले सही निर्णय गर्न पर्याप्त सूचना पाउनुपर्ने भएकाले सूचना सार्वजनिक गर्ने व्यवस्थालाई थप बलियो बनाइने बताए। उनका अनुसार बजारमा उपलब्ध हुनुपर्ने सूचना लुकाउने वा सीमित व्यक्तिसम्म मात्र रहने अवस्था अन्त्य गर्न आवश्यक छ। सबै लगानीकर्ताले समान रूपमा सूचना प्राप्त गर्न सक्ने व्यवस्था भए मात्र बजारमा अनुशासन कायम हुने उनको भनाइ छ।
‘पुँजी बजारको मुख्य विशेषता भनेको लगानीकर्ताले निर्णय गर्दा पर्याप्त सूचना पाउनु हो। ती सूचना सार्वजनिक गराउने व्यवस्था र त्यसका माध्यमहरू सेबोनले पर्याप्त रूपमा उपलब्ध गराउनुपर्छ भन्ने हाम्रो मान्यता छ। यसले बजार अनुशासन कायम गर्न मद्दत गर्छ,’ उनले भने।
त्यस्तै, बजारमा कुनै पनि सूचना लुक्न नहुने र सीमित व्यक्तिले मात्र सूचना पाएर असामान्य प्रतिफल लिन सक्ने अवस्था अन्त्य गर्नुपर्ने उनले बताए। ‘कुनै पनि कुरा लुकेको नहोस्। लगानीकर्ताले लुकेको सूचनाका आधारमा असामान्य प्रतिफल पाउने अवस्था नहोस्। सबै लगानीकर्ताले समान प्रकारको सूचना पाऊन् भन्ने निष्पक्षताको सिद्धान्तमा हामी जोड दिइरहेका छौँ,’ भट्टले भने।
जोखिममा आधारित र प्रविधिमैत्री नियमन
सेबोनले आगामी दिनमा नियमन र सुपरिवेक्षण दुवैलाई जोखिममा आधारित तथा प्रविधिमैत्री बनाउने तयारी गरेको अध्यक्ष भट्टले बताए।
उनका अनुसार सेबोनभित्रका नियमन तथा सुपरिवेक्षण प्रणालीलाई प्रविधिमैत्री बनाउँदै डिजिटल प्रणालीको प्रयोग बढाइनेछ। नियमन र सुपरिवेक्षणमा प्रविधिको प्रयोग बढाउने कामलाई ‘रेगटेक’ अर्थात् नियमनमा प्रविधिको प्रयोगका रूपमा अघि बढाइएको उनले बताए।
‘हाम्रो नियमन जोखिममा आधारित र प्रविधिमैत्री हुन्छ। त्यसैगरी सुपरिवेक्षण पनि जोखिममा आधारित र प्रविधिमैत्री बनाउँदैछौँ। यी दुवै क्षेत्रमा हाम्रो विभागलाई आवश्यक रूपमा सक्षम बनाउन खोजिरहेका छौँ,’ उनले भने।
जबर्जस्ती नीति–नियम बनाउने पक्षमा छैनौँ
नयाँ नीति, नियम तथा कानुन निर्माण गर्दा सेबोनले सरोकारवालासँग परामर्शलाई प्राथमिकता दिएको अध्यक्ष भट्टले बताए। उनका अनुसार प्राथमिक तथा दोस्रो बजारमा प्रत्यक्ष रूपमा संलग्न व्यक्ति तथा संस्थासँग छलफल गर्नुका साथै नयाँ व्यवस्था सार्वजनिक गरेर प्रभावित हुने सबै पक्षबाट सुझाव लिने प्रक्रिया अघि बढाइएको छ।
‘हामी प्रतिक्रियात्मक वा जबर्जस्तीको शैलीमा नीति–नियम बनाउने पक्षमा छैनौँ। बजारमा रहेका र नयाँ नीति–नियमबाट प्रभावित हुने सबै पक्षसँग परामर्शको प्रक्रियामा छौँ। त्यसपछि मात्रै नीति तथा नियम लागू गर्छौँ,’ उनले भने।
समग्र पुँजी बजारको पारिस्थितिक प्रणालीलाई नै व्यवस्थित, अनुशासित र सुशासित बनाउने उद्देश्यका साथ सुधार अघि बढाइएको उनले बताए।अध्यक्ष भट्टले आगामी दिनमा पुँजी बजारमा संरचनागत तथा नीतिगत सुधारसँगै नयाँ वित्तीय उपकरण र कारोबार प्रणाली विस्तार हुँदै जाने दाबी गरे।















प्रतिक्रिया दिनुहोस्